बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शम्भु थापाको प्रश्न–९४ वर्षका कानुन व्यवसायीले बहस गर्दा प्रधानमन्त्रीलाई किन छटपटी ?

सोमबार, १२ माघ २०७७, १५ : ४८
सोमबार, १२ माघ २०७७

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा बार एशोसिएशनका पूर्व अध्यक्ष शम्भु थापाले ९४ वर्षका कानुन व्यवसायीले अदालतमा बहस गर्दा प्रधानमन्त्रीलाई किन छटपटी भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सोमबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायमा ‘गुरुका पनि गुरु’ मानिने कृष्णप्रसाद भण्डारी बहसमा उत्रिँदा प्रधानमन्त्रीलाई छटपटी हुनुको रहस्य बुझ्न नसकिएको बताए ।

प्रधानमन्त्री ओलीले केही दिनअघि वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीतर्फ लक्षित गर्दै ‘बाजे’ भनेका थिए भने अदालतमा भइरहेको बहसलाई ‘तमासा’ संज्ञा दिएका थिए ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लक्षित गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रश्न उठाएका हुन् ।

थापाले प्रतिनिधिसभा विघटनबारे राजपत्रको अतिरिक्ताङ्कमा सूचना प्रकाशित गरिएको जिकिर गर्दै यो तथ्यलाई पनि ढाकछोप गर्ने प्रयास भइरहेको प्रस्ट पारे । ‘राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटनको सूचना जारी गरेपछि यसबारे राजपत्रमा सूचना प्रकाशित गरिएको थिएन, माघ ९ गतेमात्र हामीले राजपत्रमा सूचना प्रकाशन गरेको हो भनेर स्वीकार गर्न के अप्ठ्यारो भयो ?’ उनले प्रश्न गरे, ‘इजलासमा खोजी भएपछि मात्र हामीले सूचना प्रकाशित गरेका हौं भनेर भन्ने हो भने पनि के बिग्रन्छ र ? भएको कुरालाई भन्न सक्नु पर्छ ।’

उनले अदालतलाई ढाँट्न, छल्न नमिल्ने प्रस्ट पारे । प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘भाषण गर्न जान्नेले राज्यको काम यसरी गर्नुपर्छ भन्ने पनि जान्नु पर्छ नि !’
उनले संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको विशेषाधिकार नभएको दावीसमेत गरे । ‘कि त मै राजा, बादशाह हुँ भन्नु प¥यो,’ उनले भने, ‘होइन भने संविधानले त्यस्तो विशेषाधिकार दिएको छैन ।’

बहुमतको प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भन्यो भने के गर्ने भन्नेबारे यसअघि इजलासले गरेको प्रश्नमा केन्द्रित हुँदै थापाले भने, ‘बहुमत हुनेबित्तिकै हाम्रो सबै अधिकार प्रधानमन्त्रीले पाउने हो र ? बहुमत छ भन्दैमा संविधानलाई मार्न पाइँदैन ।’

यसअघि अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए ।

सोमबार नेकपा नेता देव गुरुङको रिट निवेदनमाथि बहस भएको हो । अधिवक्ता पोखरेल र वरिष्ठ अधिवक्ता थापाले मात्र सोमबार बहस गरे । थापाको बहस सकिनासाथ उक्त रिटमाथिको सुनुवाइलाई ‘हेर्दाहेर्दै’ मा राखेर सोमबारको सुनुवाइ अन्त्य गरेको छ । मंगलबार पुनः सुनुवाइ हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप