शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ज्ञानेन्द्र सरकार’ गनगन मात्रै ?

आइतबार, १५ असोज २०७४, १८ : ३९
आइतबार, १५ असोज २०७४

कोलिन पावेलले भनेका छन्, ‘सफलताको कुनै गोप्य सूत्र छैन, यो त तयारी, कडा परिश्रमका अलावा असफलताबाट सिक्दै जाने हो ।’

पावेलले यसो भने पनि २ सय ४० वर्षीय राजतन्त्रको सौभाग्यशाली उत्तराधिकारी ज्ञानेन्द्र शाहलाई ‘माइलो महाराज’का अतिरिक्त दुईपटक नेपालको राजतन्त्रको विरासत थाम्ने जिम्मा प¥यो । तर धान्न हम्मेहम्मे देखियो । पहिला त शाह, राणाहरुको जुवादाउमा परेर बाल्यकालमै त्यो रसमा लसपसमा लहसिए । पछि उनलाई राजतन्त्रको कार्यभार आएपछि कति सफल भए, कति असफल, आम नेपालीलाई ज्ञातव्य छ । यद्यपि नेपालमा राजतन्त्रको महिमा लेख्नेहरु कसरी राजतन्त्र टिकिरहन सकेन भनेर समीक्षा गर्न डराएकाले पनि ‘राजा चाहिन्छ’का भरमा रोजीरोटीमा रमाइरहेका छन् । 

यसपटक फूलपातीको बढाइँका दिन ज्ञानेन्द्र शाहबाट देश भद्रगोल भएकामा मुटुमै शुल हानेको मर्मसहितका विज्ञप्ति निकालेर नेपाली जनतालाई आकुलव्याकुल पार्ने काम भयो । जनआन्दोलनपछिको राजनीतिक घटनामक्रमबाट दरबारबाट बाहिरिएका हुन् शाह । राज्यले दिनु पर्ने सुविधामा कमी गरेको छैन । दलहरुले ज्ञानेन्द्र शाह सामान्य नागरिक भए भने पनि जनताले पत्याएका छैनन् । शाह शक्ति हुन्, उनको शक्तिले मुलुकलाई समृद्धिमा लैजाने कि द्वन्द्वमा, निर्भर शाहमै । 

दुःखी त ती पात्रहरु हुनुपर्ने । देशभर कम्युनिष्ट बढिरहँदा ओझेलमा परेका मोहन वैद्य र मोहन विक्रम सिंह । फेरि युद्धको डाँक भरिरहेको नेत्रविक्रम चन्द । जनयुद्धको खाका बनाएर सँगै हिँडियो । सत्ताको चास्नीमा डुब्नेबेला पाखा परेका डा. बाबुराम भट्टराई । नेपाली कम्युनिष्ट आन्दोलनमा के यिनको भूमिका कम छ ? 


तर, वर्षमा तीनपटक विज्ञप्ति निकाल्नु, दुई तीन हप्ता मठमन्दिरतिर गएर पुजा गर्नु र तीन हप्ताजति दिल्ली हुँदै सिंगापुर, बैंकक पुगेर फर्कनुबाहेक शाहको वर्षदिन कसरी बित्दो हो ? राजावादी, राष्ट्रवादी र राजतन्त्रवादीहरुले पनि यसलाई गोप्य राख्न चाहे या ती तीनैथरिका ‘वादी’हरुबाट ज्ञानेन्द्र शाह सम्पर्कविहीन छन्, नेपाली जनताले चासो राखेनन् । राख्न आवश्यक पनि ठानेनन् । लोकतन्त्र या गणतन्त्र दिवस, आफ्नो जन्मदिन र बडादशैँमा ज्ञानेन्द्र शाहका एक पेज लामो मार्मिक सन्देश आउँछ, देश दुःखेकामा हामी पनि कहाँ खुशी छौँ र ? 

ज्ञानेन्द्र सरकारलाई देश कहाँनिर दुःखेको हो ? विज्ञप्तिमा उल्लेख हुँदैन । तर यतिखेर देश दुःखेको देख्नु नयाँ सन्तान जन्मनुअघि पत्नी छटपटाइ भनेर घाँटी थिच्नुजस्तै हो । २० वर्षसम्म नभएको स्थानीय तहको निर्वाचन भएको छ । जनप्रतिनिधि आएका छन् । अब अधिकार गाउँपालिकामा गएको छ । यतिसम्मकी, त्यो गाउँपालिकामा कति शिक्षक, स्वास्थ्यकर्मी, एफएम रेडियो, प्राविधिक कलेज र पूर्वाधार भन्ने विषयमा केन्द्र नेताले हेलिकोप्टर चढेर पुगेर आश्वासन दिनु पर्दैन । त्यहीको गाउँपालिकाको कार्यपालिकाले खाका बनाउँछ । नसक्नेहरु पाखा पर्छन् । 

त्यतिमात्रै होइन, २०७४ माघ ७ भित्र संविधान कार्यान्वयन नभए त दलहरु यसै भिरमा पर्छन्, फेरि पनि खुशी हुने बेला त ‘४० कटेपछि रमाउँला साइँली’ भनेर परदेशिएका नेपाली युवाको जस्तै ज्ञानेन्द्र सरकारकै हो । ‘म विना कसैकसैलाई मुस्किल छ नेपालमा’ भन्ने अधिकार ज्ञानेन्द्र सरकारसँग सुरक्षित छ । अनि नौ–नौ महिनामा सरकार फेरे पनि मुलुकलाई साँच्चै गणतान्त्रिक बनाउने मामलामा त दलहरु लागेकै छैनन् । कात्तिक ४ मा प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार मनोनयन छ, मंसिर १० र २१ मा त चुनावै छ । त्यसपछि अहिलेका राष्ट्रपति र उपराष्ट्रपति पनि घर जान्छन् । ७ वटा प्रदेशमा मुख्यमन्त्री आउँछन् । प्रहरी, सेनाको संरचना त्यस्तै हुन्छ । देश कहाँनिर चुक्यो र ज्ञानेन्द्र सरकार वर्षमा तीनचोटि दुःखी भइबक्सन्छ ?

दुःखी त ती पात्रहरु हुनुपर्ने । देशभर कम्युनिष्ट बढिरहँदा ओझेलमा परेका मोहन वैद्य र मोहन विक्रम सिंह । फेरि युद्धको डाँक भरिरहेको नेत्रविक्रम चन्द । जनयुद्धको खाका बनाएर सँगै हिँडियो । सत्ताको चास्नीमा डुब्नेबेला पाखा परेका डा. बाबुराम भट्टराई । नेपाली कम्युनिष्ट आन्दोलनमा के यिनको भूमिका कम छ ? सरकार त दाइ राजा हुँदा पनि व्यापार व्यवसाय गरिरहनु भएको थियो । नेपाली राजनीतिलाई सुधार्न लाग्नु भएको भए यो एक दशकमा तपाईंको काममाथि उल्लेख गरेको भन्दा किन फरक भएन ? तपाईंले गतवर्ष उद्घाटन गर्नु भएको हिन्दू भेलामा पनि हिन्दू–हिन्दू नाथ्री फुटाएर छिन्नभिन्न भए ।

सरकारलाई निवेदन गरौँ, स्थानीय तहको निर्वाचनमा तपाईंका मान्छे कति चुनिए ? सबै निर्वाचन बहिस्कार गरेको मोहन वैद्यको माओवादीसमेत काठमाडौँ महानगरपालिकामा उम्मेदवारसहित देखा प¥यो र २ सय ६२ भोट आयो । तपाईंको खास भोट कति थियो, कसलाई कुन पार्टीमा भोट हाल्न लगाउनु भयो ? अलि अलि राजतन्त्रको कुरा गर्नेहरु तीन चिरा भएका छन्, कमल थापा, पशुपति शमशेर र डा. प्रकाशचन्द्र लोहनी छाप छातामुनि । चुनावमा भागै नलिएको नेत्रविक्रम चन्दको कुरा नगर्ने हो भने यो चुनावले मोहन वैद्य, कमल थापा, बाबुराम भट्टराई इतरको औकात देखाइदिएको छ । यीमध्ये तपाईंइतरकाले कसलाई सहयोग गरे, जनताले गरेको अनुमान फेल नखाओस् । 

तपाईंकै जिजुमहाराज पृथ्वीनारायण शाहले गोरखाबाट ल्याएर भित्र्याउने बडाघरको दशैँ फुलपातीलाई हामी सलामी ठोकिरहेकै छौँ । ठकुरी शासन नभए पनि सेनाले त्यसलाई विचलित पारेको छैन । कहाँनिर सरकारको मन भत्भती पोलेको हो, बुझ्न सकिएन महाराज ?


मुलुक धर्मनिरपेक्ष भएर के भो ? टुँडिखेलमा सेनाको परेड जारी छ । गैरहिन्दू ह्याकुल्लाको छिर्ने आँट छैन । क्रिश्चियनले पशुपतिमा शव गाड्न मागेको ठाउँ दिने हिम्मत गरेनन्् दलहरुले । तपाईंकै जिजुमहाराज पृथ्वीनारायण शाहले गोरखाबाट ल्याएर भित्र्याउने बडाघरको दशैँ फुलपातीलाई हामी सलामी ठोकिरहेकै छौँ । ठकुरी शासन नभए पनि सेनाले त्यसलाई विचलित पारेको छैन । कहाँनिर सरकारको मन भत्भती पोलेको हो, बुझ्न सकिएन महाराज ?

नेपालमा पञ्चायत प्रादुर्भाव हुँदा चीन र भारत पनि भरखर प्रगतिको फड्को मार्न लागिरहेका थिए । हामीले त पञ्चायतका ३० वर्ष र गणतन्त्रका लागि आन्दोलन गरेर अरु १४ वर्ष, त्यसयताको १० वर्षसहित ५४ वर्ष यसै व्यतीत ग¥यौँ । डाँडातिर फलफूलको घारी लगाइदिउँ, सडक बनाइदिउँ भन्ने दलहरुको काममा कहाँ खराबी थियो र ? वश नौ महिनामै खुर्मुरिए त हाम्रो के लाग्छ ?

यो एक दशकमा तपाईंको संगठन कति मजबुत भयो ? कति मान्छे राजाका पछि लागेका छन् ? कति उद्योग खोलेर युवापुस्तालाई रोजगारी दिनु भयो ? मुलुक समृद्धिमा लैजाने बाबुरामदेखि शेरबहादुर देउवा सपनामा तपाईं योगदान चाहिन्न ? दैनिक १५ सय युवा विदेशिएका छन्, दलहरुलाई गाली गर्दै । तिनै युवा विदेश पुगेपछि एनआरएन भन्दै यहीँ आएर दलहरुकै आशीर्वादमा फेरि एनआरएनको पदमा पुगेका छन् । विदेशमा पनि तिनीहरु नेपाली कांग्रेस, एमाले, माओवादी, नयाँ शक्तिको विदेश कमिटीमा हुन्छन् । नेपालमा दलहरुले केही गरेनन् भनेर विदेशिने, विदेशमा उनीहरु नै संगठन गर्ने ? दल खराब रहेछ त ? कति देशमा छ सरकारको सहयोगी प्रवासी, नेपाली, आप्रवासी संगठन ? जनताले सोधेका छन् र ?

यही साता एउटा अनलाइनमा तपाईंलाई नेपालका दश धनीमा सूचीकृत गरेको समाचार थियो । सबै धनीहरुको देखिने उद्योग छ । हजारौँलाई रोजगारी दिएका छन् । तपाईं पहिलादेखि नै व्यापारी भनिए पनि नेपाली जनताले सोधेका छैनन् कि सरकारको आफ्नै उद्योग चैँ कुन हो, के हो ? र, यो दश वर्षमा तपाईंले इलाममा चिया बगान खोलेर सयौँलाई रोजगारी दिनु भएको पढ्न पाइएन, तराईमा इँटा उद्योग खोलेर गरीबले मजदुरी गर्न पाए भन्न पाइएन । चितवनतिर कुखुरा, गाई, माछा फारम खोलेको पनि थाहा छैन । कुनै नयाँ उद्योग जस्तो सिमेन्ट, छड उत्पादन गरेको पनि जानकारी छैन । वश, वर्षमा तीन थान विज्ञप्ति निकालेर बस्दा सरकारको होइन, सरकारमा आसा भरोसा गर्नेहरु पनि दुःखी हुनुपर्ने महाराज । यहाँ त स्वयम् सरकार दुःखी होइबक्सिन्छ ।

दुःख नै जताउने भए, निम्नकुरामा जताउनु प¥यो महाराज ।

–सुरक्षा निकायका छेउछाउमा थपिइरहेका गुम्बाहरु के नेपालमा शान्ति स्थापनाकै लागि राखिएका होलान् ?

–एक हजार भन्दा बढी म्यानमारका मुसलमान आएर सेल्टर लिइरहेका छन् । ती रोहिंग्याको यहाँका संरक्षक संसारभर मुसलमान मारिरहेको अमेरिका नै रहेछ । सरकारलाई थाहै छैन, अमेरिकी सहयोगमा उनीहरु घर बनाउँदैछन्, स्कुल पढ्दैछन् । 

–चर्चहरु उस्तै थपिएका छन् । भारतलेसमेत चीनको नाकातिर गुम्बामा लगानी गरेर बेलाबखत राजदूत त्यता सवारी भएको फोटो फेसबुकमा आउँछ । जबकि, जंगबहादुरले बेलायती राजदूतलाई भन्थे, ‘काठमाडौं छाडेर कतै जाँदा मलाइ खबर गर है, नत्र निको हुन्न ।’

–सीमामा नेपाली पिटिएका छन् । व्यापार गर्छु भन्नेहरुले कर्मचारीबाट दुःख पाएका छन् । कम्पनी खोल्छु भन्नेहरुले केही राहत पाएका छैनन् । बैंक उद्योग गर्छु भन्यो भने ब्याज बढी लिन्छ, गाडी किन्छु भन्यो भने आजै ऋण दिन्छ ।

– धादिङकै कुरा गरौँ, ७३ हजार भूकम्पपीडित थिए, सरकारले दिने तेस्रो किस्ता लिने जम्मा रहेछन् ५९ जना । सरकारले कतै तिनीहरुको घर बनाउन मदत गर्नु भयो र ? धुर्मुस सुन्तलीले जसरी दुई–तीन वटा बस्तीमा सरकारले घर बनाइदिएको भए के बिग्रन्थ्यो र महाराज ?

देशको माया हामीलाई नभएको होइन । तर आफ्नै देशमा शरणार्थी बन्दैछौँ हामी । यावत् परिवर्तनको साक्षी भएर गणतन्त्र ल्याउँदा भ्रष्टहरु संरक्षित हुने र धर्मका नाममा संस्थागत बनेको भ्रष्टाचार र राजनीतिक अपराधबारे बोल्ने बेला भयो । हिजो त भारत र चीनको व्यापारिक स्वार्थमा हामी ‘आयाराम–गयाराम’ भयौँ । अब त देशमा धार्मिक सम्प्रदायको लडाईंँ पो निम्तने खतरा छ । भएभरका हिन्दूजति बारीका पाटा बेचेर विदेशिने । अनि कति दिन लगाइरहने जुजुमानले जस्तो झल्लरी ‘हिन्दू’ राष्ट्रको उही मक्किएको कोट सरकार ? दलहरु र सरकार दुवै ‘गफ उद्योग’ चलाइरहनु भएको छ । हामी जस्ता युवा पुस्ता प्रतिस्पर्थी बजारमा ‘योग्यता’ अनुसारको ‘काम’ र ‘काम’ अनुसारको ‘ज्याला’ मागिरहेका छौँ । बुझेको समाजवाद यही हो । तर सबै मदन भण्डारीकै भनाइ उदृत गरिरहेका छन् र युवा पुस्ताको भविष्य बर्बाद पारिरहेका छन् । भण्डारीले भनेका थिए, ‘कुराले च्युरा भिज्दैन ।’ 

Twitter: elannepali

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामकुमार एलन
रामकुमार एलन
लेखकबाट थप