बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धार्मिक पर्यटकीय स्थल धनुषाधाममा मकर मेलाको उत्साह (फोटो फिचर)

आइतबार, ११ माघ २०७७, २० : ४०
आइतबार, ११ माघ २०७७

जनकपुर । धनुषाको पूर्वोत्तर क्षेत्रमा अवस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्ने गर्दछ । आज दोस्रो आइतबार मेला भर्न श्रद्धालु भक्तजनको भिड लागेको थियो । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाममा मकर मेला भर्न आउने श्रद्धालु भक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको स्थानीयवासी बताउँछन् । यस वर्ष कोरोना महामारीले गर्दा नेपाल–भारत सीमा क्षेत्र बन्द रहनुका बाबजुद् श्रद्धालुहरु उल्लेख्य संख्यामा आएका छन् ।

मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेमा एक सय रामेश्वरको दर्शन गरेको बराबर फल प्राप्त हुने मान्यता छ । परम्परागतरुपमा वर्षभरी गरिएको भाकल माघभरी चढाउने गरिन्छ । 


त्रेतायुगमा राजा जनकले छोरी जानकी अर्थात् सीताको विवाहका लागि आयोजन गरेको स्वंयवरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, एक टुक्रा पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको पौराणिक कथा छ ।


धनुष खसेको जनकपुरधामको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासको भनाइ छ । धनुषाधाममा खसेको धनुषको कालो रंगको शिलामाथि अहिले पिपलको रुख छ । उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको बताईन्छ । 

पिपलको बोटमुनि नागको बास रहेको स्थानीयवासी बताउँछन् । औंसी तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रङ्गिने जनविश्वास छ । धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि प्रत्येक माघमा मकर मेला लाग्न थालेको हो । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गरी पूजा अर्चना गर्छन् ।

रामले तोडेको धनुषको टुक्रा झरेको स्थल ‘धनुषाधाम’

त्रेता युगमा भगवान रामले सीता स्वयंवरमा भगवान शिवको धनुष भाँचेका थिए । भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो ।

 प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामबाट २० किलोमिटरको दुरीमा रहेको धनुषाधामस्थित धनुष मन्दिर पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण स्थल हो । यस स्थलको धार्मिक महत्वका कारण यस क्षेत्रको नाम धनुषाधाम र यसकै नाम अनुसार जिल्लाको नाम समेत धनुषा राखिएको मानिन्छ । 

त्रेता युगको इतिहास बोकेको यस स्थलको दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गर्छन् । सुरुमा खुला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थल एक दशक अगाडिमात्रै मन्दिरको स्वरुप प्राप्त गरेको मन्दिरका महन्थ भरत दासले बताए । स्थानीय केही व्यक्तिहरुको व्यक्तिगत सहयोगबाट मन्दिरको निर्माणसँगै सौन्दर्यीकरण समेत गरिएको छ ।

धनुष झरेको स्थलमा कालो सिमेन्ट झँै ढुंगा झरेको देखिन्छ । धनुषको सानो आकृतिमा रहेको सो टुक्रा बर्सेनि बढ्दै गईरहेको स्थानीयवासीको भनाइ छ । धनुषको भनिएको सो टुक्रा किन फैलिरहेको छ भन्ने अहिलेसम्म रहस्य कै गर्भमा छ । कालो ढुंगाजस्तै देखिने सो टुक्रा के हो भन्ने पुष्टिसमेत अहिलेसम्म वैज्ञानिकहरुले गर्न सकेका छैनन् । 

मन्दिरभित्रै रहेको पिपलको बोटकै छेउमा सानो कुण्ड छ । सो कुण्डको नाम पाताल गंगा हो । पाताल गंगाले प्रकृति र यो वर्ष कस्तो रहने भन्ने संकेत गर्छ । कुण्डको पानी धर्तीको सतहभन्दा माथि हुँदा वर्षभरी शुभ रहने र धर्तीको सतहभन्दा पानी तल हुँदा अनिष्टको संकेत गर्ने महन्थ भरत दासले बताए । यस वर्ष पानीको सतह तल रहेकाले अनिष्टको संकेत गरिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप