शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ महिनामा यस्तो देखियो नेपाली अर्थतन्त्र

विदेशी लगानी एक चौथाइले घट्यो
शनिबार, १० माघ २०७७, १४ : ४५
शनिबार, १० माघ २०७७

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को पहिलो ५ महिनाको अवधिमा नेपाली अर्थतन्त्रमा मिश्रित अवस्था देखिएको छ । अर्थ मन्त्रालयले प्रकाशन गरेको मासिक बुलेटिनमा चालु आर्थिक वर्षको मंसिरसम्मको सूचक अनुसार यस्तो देखिएको हो ।  
मंसिरसम्म कुल सरकारी खर्च ९.९ प्रतिशतले बढेर ३ खर्ब २८ अर्ब ४६ करोड पुगेको उल्लेख गरिएको छ । यसमध्ये चालु खर्ब १३.७ प्रतिशतले बढ्दा पुँजीगत र वित्तीय व्यवस्थातर्फबो खर्च भने ४.४ प्रतिशत र १७.१ प्रतिशतले घटेको उल्लेख गरिएको छ । 

राजश्व परिचालनतर्फ मंसिरसम्म संघीय सरकारको राजश्व कुल ३ खर्ब १ अर्ब २९ करोड रहेको जनाइएको छ । यो राजश्व अघिल्लो वर्षभन्दा २.४ प्रतिशतले कम भए पनि कोभिड महामारीको अवस्थामा यो राजश्वलाई सन्तोषजनक नै भएको मन्त्रालयले जनाएको छ । राजश्वमध्ये भन्सारतर्फ ७४ अर्ब ६४ करोड, मूल्य अभिवृद्धि करतर्फ १ खर्ब १४ अर्ब १० करोड, अन्तशुल्कतर्फ ६२ अर्ब ३६ करोड, आयकरतर्फ ५१ अर्ब ३६ करोड तथा अन्य कर राजश्व ७ अर्ब ९३ करोड संकलन भएको उल्लेख गरिएको छ । गैरकर राजश्वतर्फ २९ अर्ब ६९ करोड रुपैयाँ राजश्व संकलन भएको उल्लेख गरिएको छ । 

९५ अर्बको विदेशी सहायता
मंसिर महिनासम्म कुल ९४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी सहायता दिने प्रतिवद्धता प्राप्त भएको छ । यो रकम अघिल्लो वर्ष प्राप्त भएको सहायता भन्दा करिब ३० प्रतिशत बढी रहेको उल्लेख गरिएको छ । त्यसमध्ये करिब १६ अर्ब ९४ करोड अनुदान र ७७ अर्ब ७२ करोड ऋण सहायता रहेको जनाइएको छ । आएको धेरैजसो सहायता सडक र सुशासनको क्षेत्रमा प्राप्त भएको छ । 
प्रतिवद्धता रकम धेरै भए पनि मंसिरसम्म २७ अर्ब २४ करोड रुपैयाँ बराबरको रकम मात्रै प्राप्त भएको छ । यसमध्ये ६ अर्ब ३२ करोड अनुदान र २० अर्ब ९१ करोड ऋण सहायता प्राप्त भएको उल्लेख गरिएको छ । 
यो अवधिसम्म सरकारको कुल तिर्न बाँकी ऋण १४ खर्ब ९१ करोड रहेकोमा आन्तरिक ऋण ६ खर्ब ७० अर्ब र वैदेशिक ऋण ८ खर्ब २० अर्ब रहेको जनाइएको छ । यसबापत मंसिरसम्म ४४ अर्ब रुपैयाँभन्दा बढी सावाँब्याज भुक्तानी भएको देखिएको छ । 

विदेशी लगानी एक चौथाइले घट्यो 
यो अवधिमा विदेशबाट प्राप्त हुने लगानी एक चौथाईले घटेको छ । मंसिरसम्म १ सय ८ उद्योगमार्फत् २२ अर्ब ११ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा २७ अर्ब ३८ करोड रुपैंयाँ लगानी भित्रिएको थियो । अघिल्लो वर्ष १ सय १४ कम्पनी दर्ता भएको थियो । दर्ता गर्ने विदेशी कम्पनीको संख्या उल्लेख्य रुपमा नघटे पनि कोभिडका कारण लगानी प्रतिवद्धता भने घटेर आएको हो । 

वित्तीय क्षेत्रमा मिश्रित अवस्था
मंसिरसम्म वित्तीय क्षेत्रको अवस्था मिश्रित छ । यो अवधिमा कुल निक्षेप र कुल कर्जा दुवै बढेको छ । कोभिडको समयका बाबजुद निष्क्रिय कर्जाको दर स्थिर रहेको देखिएको छ । वित्तीय संख्याको संख्या र खाताको संख्याका आधारमा वित्तीय आवद्धता बढ्दै गएको देखिएको छ । 

बीमा क्षेत्रको प्रिमियम संकलनमा ३९ प्रतिशत वृद्धि हुँदा कुल बीमाशुल्क ६१ अर्ब ६० करोड पुगेको देखिएको छ । यस्तो प्रिमियमा जीवनबीमा कम्पनीको हिस्सा ८६ प्रतिशत र निर्जीवन बीमा कम्पनीको हिस्सा करिब १४ प्रतिशत रहेको उल्लेख गरिएको छ । 

विप्रेषण आप्रवाह बढ्दा शोधनान्तर अवस्था सकारात्मक रहेको विदेशी विनिमय सिञ्चित समेत बढ्दै गएकोले बाह्य क्षेत्र सन्तुलनमा रहेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप