बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

न्याय जगत‍्ले ‘गुरु’ मान्ने कानुनविद्लाई प्रधानमन्त्रीको व्यङ्ग्य : ‘बाजे वकिल’

अदालतको बहसलाई तमासा भन्नु ‘अवहेलना’
शनिबार, १० माघ २०७७, १२ : ४४
शनिबार, १० माघ २०७७

काठमाडौँ । उमेरले ९४ टेकेका कृष्णप्रसाद भण्डारी न्याय क्षेत्रका सर्वमान्य कानुनविद् हुन् । न्याय जगत्मा कानुनविद्हरुले उनलाई ‘गुरुदेव’ भनेर सम्बोधन गर्छन् । माघ ७ मा उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा उभिएर प्रतिनिधिसभा विघटनबारे बहस गरेका थिए । बहस गर्दै उनले भने, ‘जनताको सर्वोच्चतालाई आघात पार्न मिल्दैन ।’ 

विघटनको मुद्दाको सुनुवाइ भएसँगै उनी दैनिक सर्वोच्चमा जान्छन् । इजलासमा बहस सुनिरहन्छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा सो मुद्दाको सुनुवाई हुँदा पनि उनले छोटो बहस गरेका थिए । 
‘उहाँ हामी सवैको गुरुदेव हुनुहुन्छ’ पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ भन्छन्, ‘न्याय क्षेत्रमा उहाँको अगाध निष्ठा छ ।’ 

न्याय क्षेत्रले ‘गुरु’ मान्ने तिनै वरिष्ठ अधिवक्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिल’ भनेर होच्याएका छन् । 
भण्डारी तिनै वकिल हुन् जसले झापा आन्दोलनको बेला प्रधानमन्त्री ओलीविरुद्ध लागेको ज्यान मुद्दाको बहस गर्न धनकुटासम्म पैदल यात्रा गरेका थिए । सो मुद्दाको बहस गर्न उनी सर्वोच्चसम्म आइपुगेका थिए । प्रधानमन्त्रीले उनलाई ‘तमासा’ देखाउन अदालतमा लगिएको भन्दै सार्वजनिक कार्यक्रममा कार्यकर्ता हँसाएका छन् । 

शुक्रवार काठमाडौंमा भएको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विघटनबारे भइरहेको बहसलाई ‘तमासा’ भनेका हुन् । अदालतमा भइरहेको सुनुवाइलाई ‘तमासा’ भन्नु घोर आपत्तिजन रहेको बताउँछन् अर्का अधिवक्ता टिकाराम भट्टराई । 

‘अदालतको बहसलाई तमासा भन्नु घोर आपत्तिजनक मात्र होइन अदालतको अवहेलना हो जस्तो लाग्छ,’ अधिवक्ता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समस्त कानुन जगत् र प्रेसले मूल्यांकन गरोस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप