बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जसपा नेपालले गर्ला तेस्रो चरणको आन्दोलन ?

शनिबार, १० माघ २०७७, ११ : ३२
शनिबार, १० माघ २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ । माघ ७ गते दोस्रो चरणको आन्दोलन सम्मन्न गरेको जसपाले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छैन ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रम कस्तो हुने भन्ने विषयमा नेताहरु अनौपचारिक छलफलमा छन् । प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन रहेको अवस्थामा कस्तो कार्यक्रम बनाउने विषयमा चाँडै नै पार्टीको बैठक बस्न लागेको नेताहरु बताउँछन् ।

‘भर्खर दोस्रो चरणका आन्दोलनका कार्यक्रम सकिएको छ, नेताहरु काठमाडौं बाहिर छन्,’ जसपा नेपालका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘एक/दुई दिनमा काठमाडौं फर्केपछि तेस्रो चरणका कार्यक्रम तय गरिनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको नसच्चिएसम्म आन्दोलन जारी रहने भन्दै उनले अबको आन्दोलन कस्तो हुने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताए । चाँडै नै बैठक बसेर आन्दोलन कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ ।

जसपा नेपालको आन्दोलन चलिरहेकै बेला पार्टीभित्र दुई खालको धारणा बाहिर आएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरु प्रतिनिधिसभा पुनःस्थापनाको साथै सर्वोच्च अदालतले निर्वाचनकै फैसलालाई सदर गरेको खण्डमा चुनावमा पनि जानुपर्ने भएकाले त्यसको तयारीमा समेत लाग्नुपर्ने धारणा राख्दै आएका छन् । 

अध्यक्ष ठाकुरले प्रतिनिधिसभा पुनःस्थापनामात्र समस्याको समाधान होइन, सर्वोच्चले गर्ने निर्णयलाई पनि स्वागत गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर अध्यक्ष यादवले प्रतिनिधिसभा पुनःस्थापनामै विशेष जोड दिएका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय नगरे जनताको अदालतमा जाने र प्रतिनिधिसभा पुनःस्थापना गराई छाड्ने चेतावनी दिँदै आएका छन् । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष भट्टराईले पनि प्रतिनिधिसभा पुनःस्थापनमै जोड दिएका छन् । 

यसरी आन्दोलनमै दुई खालको धारणा आएपछि अबको आन्दोलनको मोडेल कस्तो हुने भन्ने विषयमा पनि पार्टीभित्र छलफल हुने स्रोतले जनाएको छ । आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने कि सांकेतिक रुपमा मात्र आन्दोलन गर्ने भन्ने विषयमा दलहरुको बीचमा पनि छलफल हुने बताइएको छ । 

पार्टी एकता भएको १० महिना भइसक्दा समेत हालसम्म पार्टीको समायोजन प्रकृया अगाडि बढेको छैन । पार्टीमा समायोजन नहुँदा आन्दोलनका कार्यक्रमलाई व्यवस्थित तरिकाले अगाडि बढाउन समस्या भएको नेताहरु बताउँछन् । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पनि यो कुरा स्वीकार गरेका छन् । 

उनले शुक्रबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीमा समायोजन नहुँदा आन्दोलनको कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न समस्या भएको बताएका छन् । अब काठमाडौं फर्केपछि समायोजनका कार्यक्रम टुंगो लगाउने उनले बताए । 

सिरहामा एक पक्षबाट आन्दोलनका कार्यक्रम नै वहिष्कार गरिएको थियो भने उपेन्द्र यादव पक्षका युवा संगठनले छुट्टै कार्यक्रमहरु गरिरहेको विषयमा पत्रकारले जिज्ञासा राख्दा महतोले त्यस्तो बताएका थिए । नेताहरु काठमाडौं फर्केपछि आन्दोलनमा जाने हो भने त्यसको मोडेल कस्तो हुने या आन्दोलनअघि पार्टीको समायोजना प्रकृया सम्पन्न गर्ने भन्ने विषयमा पनि छलफल हुने जसपा नेपालका नेताहरु बताउँछन् । 

पार्टीको समायोजना प्रकृया मंसिर १५ गतेभित्र सम्पन्न गर्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको थियो तर त्यो बीचमा ठिकसँग समायोजनको प्रकृया अगाडि बढेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप