बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीसँग अब साइबर सेनामात्र बाँकी छ : घनश्याम भुषाल

अबको नेकपाले ओलीजस्ता नेता नजन्माउने दाबी
शुक्रबार, ०९ माघ २०७७, १४ : ४२
शुक्रबार, ०९ माघ २०७७

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चाए जनताले चाँडै इतिहासको कठ्घरामा उभ्याउने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले नेकपा आज आफ्नै पार्टीका अध्यक्षविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताए । उनले प्रतिगामी कदम सच्चाउन अझै समय रहेको भन्दै सोच्न आग्रह पनि गरे ।

‘यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई भन्छु– तपाईं गलत हुनुहुन्छ । समय हुँदै सोच्नुस् । यदि तपाईंले सोच्नुभएन भने इतिहासको कठघरामा पुर्याइनेछ’, भुषालको भनाइ थियो ।

उनले पार्टी र सरकारमा अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेको भन्दै चुनाव गर्ने भन्नु ‘भएको छोरो मार्नु’ सरह भएको बताए । उनले चुनावको बहकाउमा लागे ठूलो गल्ती हुने र ओलीको षड्यन्त्र पराजीत गरेरै छोड्ने बताए । ‘ओलीको चलखेल, षड्यन्त्र, जालझेल पुरा गर्न दिइने छैन’, भुषालको भनाइ छ ।

अहिले ओलीसँग साइवर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति आन्दोलनको पक्षमा रहेको बताए । उनले सेटिङका कारण अदालतले आफ्नो पक्षमा निर्णय गर्छ भन्ने नसोच्न ओलीलाई आग्रह पनि गरे । ‘आजको अदालत लोकतन्त्र र संविधानको विपक्षमा जान्छ भन्ने हामी सोच्दैनौँ,’ भुषालको भनाइ छ । उनले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छाड्ने र अबको नेकपाले ओली जस्ता नेता नजन्माउने दाबी समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप