शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धुरी नै डगमगायो, ‘ध्रुवतारा’ पनि एक रहेन !

शुक्रबार, ०९ माघ २०७७, ०८ : ३६
शुक्रबार, ०९ माघ २०७७

 

 

‘ध्रुव’ शब्द अटल र अपरिहार्यताको पर्यायसूचक हो ।

जो अटल हुन्छ, त्यो नै ‘ध्रुव’ कहलाउँछ । ‘ध्रुवपंक्ति’ सरह अटल, ‘ध्रुवसत्य’ सरह सम्पूर्ण, ‘ध्रुवतारा’ जस्तै अडिग !

‘धुरी’ लाई एउटा एउटा  रेखा मान्ने हो भने ‘ध्रुव’ त्यो रेखाको दुई किनार, दुई टुप्पा, दुइ छोर सरह हुन्छ ।

धुरीलाई ‘अक्ष’ भनिन्छ । ‘ध्रव’ कतिसम्म विपरीत  हुन्छन्  भने ‘ध्रवीकरण’ जस्तो शब्द  शायद यसै कारण  जन्मियो  । ‘ध्रुव’ले नै यस शब्दको पनि जन्म भयो,  ‘पोल्स् अपार्ट’ ।

मनुष्यले जब आफ्नो वरपरको संसारलाई हेर्न–बुझ्न शुरु गरे, उनीहरुले के पत्ता लगाए भने कुनै चीज आफ्नो स्थानमा घुम्नका लागि ‘धुरी’ आवश्यक पर्ने रहेछ  । घुम्ने चीजको आफ्नो कुनै ‘धुरी’ हुनैपर्छ र धुरी भने अडिग हुनु अनिवार्य छ ।

‘किला’ अडिग भएमा मात्र पाङ्ग्रा घुमिरहन्छ । घुमिरहेको ‘पाङग्रा’ हजारौं कोस दूरी पार गर्नसक्छ, तर ‘किला’ आफ्नो ‘धुरी’बाट डेग चल्दैन ।

यो अर्कै सन्दर्भ हो, अचल रहेको किला पनि गुडिरहेको पाङग्राकै साथ हजारौं कोस यात्रा गर्छ ।

यी जीवनका केही सुन्दर रहस्य हुन्, जुन हाम्रै   वरिपरि छन् ।

पृथ्वी भकुण्डो जस्तो होस् वा जस्तोसुकै होस्, गोलो छ र घुमिरहन्छ ।

मनुष्यले सोच्यो, पक्कै पृथ्वी पनि कुनै ‘धुरी’ मै घुम्छ होला ।

तर, पृथ्वीको त त्यसतो कुनै ‘किला’ भेटिएन, अथवा त्यो ‘किला’ भौतिक आँखाले देख्न नसकिएको हो कि !

https://images.immediate.co.uk

त्यसपछि मनुष्यले एउटा ‘धुरी’को कल्पना गर्यो, जो पृथ्वीको अक्ष थियो । यसअनुसार ‘उत्तरी’ र ‘दक्षिणी’ दुई ध्रुव स्वीकार गरियो ।

‘उत्तरी ध्रुव’बाट सीधा रेखामा जुन तारा आकाशमा सदैव देखिन्थ्यो, त्यसलाई मनुष्यले ‘ध्रुवतारा’को  संज्ञा दिए ।

पुरानो जमानामा लामो दूरीको यात्रामा निस्कने यात्रीहरुले यही ‘ध्रुवतारा’ हेरेर आफ्नो निर्दिष्ट दिशा तय गर्ने गर्थे ।

‘ध्रुवतारा’ लाई अनेक संस्कृतिहरुमा विभिन्न नामले सम्बोधन  गरियो ।

यो तारालाई ‘उत्तरी तारा’ भनियो, अर्थात ‘नर्थ स्टार’ ।

यसलाई ‘पोलारिस’ भनियो अर्थात ‘पोल स्टार’ ।

अरबीहरुले यसलाई ‘नजूम–अल–शुमाली’ भने ।

फारसीमा यसलाई ‘कुतबी सितारा’ भनियो ।

चीनमा यो तारालाई ‘राजनक्षत्र’ को संज्ञा दिइयो ।

जुन संसारमा सबै चीजवस्तु क्षणभंगुर थिए,  सबै मरणधर्मा थिए।  पलपल परिवर्तित प्रकृति ! यस्तो स्थितिमा आकाशमा टाँगिएको ‘ध्रुवतारा’ मनुष्यलाई पूर्णताको छनक दिन्थ्यो, यसले उसलाई सन्तुष्टि बोध  गराउँथ्यो ।

अरु चाहे जे सुकै होस , यो ‘ध्रुवतारा’ हरहमेशा आकाशमा त्यही स्थानमा स्थित रहनेछ...  आ–आफ्नो डुँगामा आफ्नो अज्ञात नियतितर्फ प्रस्थानरत यात्री यही सोचेर तथा यसै विश्वासमा आनन्दले निदाउँथ्ये- रमाउथे ।

यो त धेरै पछि मात्र पत्ता लाग्यो, आकाशमा कुनै एकमात्र ‘ध्रुवतारा’ हुँदैन, कैयन् ‘ध्रुवतारा’ हुन्छन् ।

यो संज्ञानमा आएपछि मनुष्यको अन्तस्करणमा कति कम्पन भयो होला ? ‘शेष’ को फणा पनि कम्पित हुनगयो । धुरी नै डगमगायो । ‘ध्रुवतारा’ पनि एक रहेन  ।

‘ध्रुवतारा’ पनि अटल रहेन  ।

ज्ञान साँच्चि नै एक किसिमको 'मरण' हो !

कहिले ‘अल्फा’ ध्रुवतारा बन्न पुग्छ, कहिले ‘बीटा ’ ।

कहिले ‘पोलारिस’ ध्रुवतारा कहलिन्थ्यो, त कहिले ‘भेगा’ ।

कहिले ‘क्रतु’ ध्रुवतारा त कहिले ‘पुलह’  ध्रुवतारा ।

पहिले ध्रुवतारा ‘सप्तर्षि मण्डल’ मा रहेको मानिन्थ्यो । पछि मात्र पत्ता लाग्यो, यो त ‘लघु सप्तर्षि मण्डल’ मा पो रहेछ ।

वैदिक कालमा जसलाई ‘ध्रुवतारा’को मान्यता दिइएको थियो, त्यो ‘ध्रुवतारा’ त अब छँदै छैन ।

यसको कारण, पृथ्वीको ‘धुरी’ संधै चलायमान रहन्छ । पृथ्वीको ‘धुरी’ अचल छैन । यसैले उत्तरी तारा पनि सतत् गतिमान रहन्छ ।

धरतीको धुरी २६ हजार वर्षमा आफ्नो एक अग्रगमन पूर्ण गर्छ । यस अवधिमा ‘ध्रुवतारा’ पनि बदलिन्छ ।

धरती धुरीमा चलायमान छ, धुरी के मा चलायमान छ ?

धुरीको 'धुरी' पनि कहीं त होला... ?

यो पत्ता नलगाएसम्म 'मोक्ष' सम्भव छैन ।

र, हाम्रो चेतनाको कुन बिन्दूमा हाम्रो अस्तित्वको ध्रुवतारा प्रदीप्त हुन्छ ? यो नजानेसम्म मुक्ति कसरी पाउन सकिन्छ, बन्धुवर !

लेखक - सुशोभित सिंह सक्तावत , पुनर्लेखन - ज्ञानमित्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशोभित सिंह सक्तावत
सुशोभित सिंह सक्तावत
लेखकबाट थप