शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किन शाकाहारी बन्ने ?

शनिबार, १४ असोज २०७४, ०९ : ४२
शनिबार, १४ असोज २०७४

आजको विश्वमा शाकाहारी बन्नु पर्ने हजारौं कारण छन् । अब पनि मानिसले मासु खाईरहने हो भने निकट सय वर्षभित्र नै हरितगृह ग्यास उत्पादनको कारण पृथ्वीको तापक्रम बढेर जलवायु परिवर्तन भई समयअनुसार वर्षा नहुने, अति ज्यादा वा अति कम पानी पर्ने, स्वास्थ्यमा समस्या आउने, नयाँ रोग उत्पन्न हुने, भोकमरी, गरिबी, पानीको समस्या निम्तने र वातावरणमा प्रदुषण जस्ता समस्या निम्तने निश्चित छ ।  

१  वैज्ञानिकहरूले निम्न कारणले मासु खान उचित छैन भनेर ठोकुवा गरिसकेका छन् :
क. स्वास्थ्यको कारण : आधुनिक फिड तथा फार्महरूले बढि र छिटो मासु उत्पादन गर्न एन्टीवायोटिक, क्याल्सियम, हर्मोन, जीन तथा आर्सनिकजस्ता रसायन प्रयोग गर्ने भएकोले उक्त मासु खाँदा ती मासुमा भएका एक सय सेन्टिग्रेट डिग्री तापक्रममा पनि नष्ट नहुने रसायन हाम्रो शरिरमा प्रवेश गर्दछ त्यही कारण हाम्रो शरीरमा रोग पस्ने खतरा हुन्छ । हाम्रो शरिरमा उच्च रक्तचाप, हृदयघात, पक्षघात, युरिेक एसिड, कब्जियत, पायल्स, पत्थरी, कलेजो तथा किड्नी रोग लगायत आन्द्राको शत–प्रतिशत क्यान्सर मांसाहारकै कारण हुने गरेको पुष्टी भएको छ । मानिसको शरिर प्राकृतिक रूपले नै शाकाहारी भएकोले मांसाहार गर्नु भनेको “मकै पिस्ने मिलमा ढुंगा पिस्नु’ जस्तो हो ।”  त्यसैले मांसाहार हाम्रो शरिरको लागि हानीकारक भएकै कारण डाक्टरहरूले शाकाहारी हुन सल्लाह दिएका छन् ।  

ख. वातावरणको कारण :  झट्ट हेर्दा मांसाहारले वातावरणमा के असर पर्ला र जस्तो देखिन्छ तर यसकै कारण आज पृथ्वीमा ग्लोबल वार्मिङजस्तो भयावह अवस्था ल्याउन ठूलो भूमिका खेलेको छ । एक किलो मासु उत्पादन गर्दा ३६.४ किलो कार्वन डाईअक्साइड उत्सर्जन हुन्छ । त्यसरी नै जनावरहरूले मुख्य रूपमा उत्सर्जन गर्ने मिथेन र नाइट्रस अक्साइड ग्यास कार्वन डाईअक्साइड भन्दा क्रमश ः ८४ र २९६ गुणा बढी ग्लोबल वार्मिङ गर्दछ । मासुजन्य पदार्थको लागि स्वच्छ पानी र वनजंगल फडानी अत्याधिक भएको छ ।

ग. आर्थिक र सामाजिक कारणः संयुक्त राष्ट्रसंघले सार्वजनिक गरिएको तथ्यांक अनुसार प्रतिवर्ष ७६ लाख ६५ हजार व्यक्ति भोकमरी र भोकसँग सम्बन्धित कारणले मर्दछन् किनकी सोया प्रोटीन एण्ड फर्मेन्टेड मीट प्रोडक्ट नामक पुस्तकमा भनिए मुताविक एक किलो गाई, सँुगु’र, कुखुरा र माछाको मासु उत्पादन गर्न क्रमशः ७, ४, २.२ र १.२ किलो अन्न खर्च हुन्छ । विकसित देशमा ७० प्रतिशत भन्दा बढी अन्न मासु उत्पादनकै लागि खर्च गर्ने गर्दछ । यदि मासुको लागि अन्न खर्च नगरेमा त्यो अन्न करोडौं भोकमरीको भोक मेट्न प्रयोग हुनसक्थ्यो ।  मासुको लागि जनावर काट्दा त्यो जनावरको डर, त्रास र चित्कारबाट एकप्रकारको रसायन उत्पन्न भई मासुमा मिल्दछ । उक्त रसायनयुक्त मासु खानाले मानिसमा रिस, अहँकार, घमण्ड, असन्तुष्टि, तनाव भएर परिवार र समाजमा अशान्ति सृजना गर्दछ । 

मांसाहारी र शाकाहारी प्राणी बिच शारीरिक भिन्नता
क. मांसाहारीको दाह्रा हुन्छ, शाकाहारीको दाँत हुन्छ । 
२. मांसाहारीको नंग्रा हुन्छ, शाकाहारीको नङ् हुन्छ । 
३. मांसाहारीले राती आँखा देख्छ, शाकाहारीले देख्दैन । 
४. मांसाहारीको पसिना आउँदैन, शाकाहारीको आउँछ ।
५. मांसाहारीले पानी चाटेर पिउँछ, शाकाहारीले घट्घट पिउँछ ।
६. मांसाहारीको आन्द्रा छोटो हुन्छ, शाकाहारीको लामो हुन्छ । 
७. मांसाहारी जन्मनासाथ आँखा खुल्दैन, शाकाहारीको खुलेको हुन्छ ।
यी माथिका तथ्यबाट पनि के प्रमाणित हुन्छ भने मानिस प्राकृतिक रूपले नै जन्मजात शाकाहार प्राणी भएको वैज्ञानिक पुष्टि हुन्छ । त्यसैले मांसाहार मानिसको शरिरको लागि उचित हुँदैन ।

पशुहत्या–भोजमा सामेल नहुने कि ? 

मांसाहार भएको विवाह, सम्मेलन, व्रतबन्ध तथा छेवर, जन्मोत्सव, ल्होसार, दशैं र अन्य पर्वमा निमन्त्रणा पाएपछि नगए अरुले के भन्लान् भन्ने चिन्ता होला कतिपयलाई । तर हामीले बुझ्न पर्छ कि यदि त्यहाँ कसैको वधमार्फत भोजन पस्किने अवस्था छ भने धर्मका दृष्टिबाट त्यहाँ नजानु उचित हुन्छ । हामीजस्तै सुख चाहने, दुःख नचाहने, रमाउने, मित्रता, डर, त्रास, चित्कार र पीडा महसुस गर्ने हाम्रो पूर्वजन्मको वा यहि जन्ममा परलोक हूनू भएर जनावरका रूपमा जन्मेका आमाबाबाहरूलाई त्यहाँ वध गरेर भोजका रूपमा पस्किएको हुनपनि सक्छ । थोरै क्षणको जिब्रोको स्वाद त्याग्न नसकेर हामी ति निम्छरा प्राणीलाई खाने गर्दछौँ । ती प्राणीले आफ्नो अति प्यारो शरिर हामीलाई खाउ भनेर नदिएकोले सिधै डकैत गरेर मात्र हामीले मासु प्राप्त गरेका हौं । र, अर्को कुरो, काटेर, मारेर मासु बेच्नेभन्दा खाने व्यक्ति यस विषयमा बढी जिम्मेवार हुन्छ किनभने खानेले नखाइदिने हो मासुको यो कहालिलाग्दोे धन्दा चल्ने नै थिएन । 
वौद्धमत अनुसार मांसाहारवाला विवाहको साइत हेरिदिने र पुजा गरिदिएको कारण धेरै पशुहत्या हुने हुँदा ती लामा वा पुरोहित पनि प्राणीहत्या सहभागी ठहरिन्छन् र महापाप कमाउँछन् । अज्ञानी व्यक्ति हत्या गर्न र पाप गर्न लाज मान्दैनन् तर प्राणीको ज्यान जोगाउने र पुण्य कमाएर सुख पाउने काममा चाहिँ उल्टो लाज मान्ने गर्दछन् । 

बलिको अर्थ 
हिन्दूको पवित्र ग्रन्थ ऋग्वेदमा देउताको लागि त्याग, उपहार, नैवेद्य, दान आदि चढाउनुलाई बलि भनिएको छ । अझ बलिको अर्थ हामीमा भएको दोषः काम, क्रोध, लोभ, मोह र ईष्र्या त्याग्नु भन्ने बुझिन्छ । देउतालाई कुनै प्रिय वस्तु चढाउनुलाई पनि बलि भनेर बुझिन्छ । देवी देउताले सबै प्राणीलाई आफ्नै सन्तानको रूपमा करूणा, माया र कल्याण गरी ज्यान जोगाउन सहयोग पो गर्छन् र त्यस्तो देवी देउता रहने स्थानलाई मात्र मन्दिर भनिन्छ ।  तर देवता बस्ने ठाउँमै पशुपन्छीको हत्याहिंसा, दुःख र चित्कार हुन्छ, त्यो ठाउकै अपमान हुनजान्छ । हत्या गर्ने ठाउँ त कि नर्क हो कि वधशाला । देवी देउताको मन्दिरमा जीवहत्या शास्त्रको विरुद्ध हो र अधर्म हो । कुनै पनि जनावरलाई जवर्जस्ती काट्नु भनेको हत्या, चोरी र डकैती सरह नै हो । त्यो जनावरले आफूलाई बलि दिन र मासु खान भनि अनुरोध नगरेको वा अनुमति नदिएको हुनाले पशुबलि दिनु र मासु खानु मान्छेको स्वतन्त्रता र अधिकार होइन । 

यसै सन्दर्भमा सर्वोच्च अदालतले जनचेतना जगाएर गढिमाईमा तथा अन्यत्र सार्वजनिक स्थानमा हुने पशुबलि रोक्न तथा पशुपन्छीलाई गरिने क्रुर व्यवहार तुरुन्त रोक्न वि. सं. २०७३ साल श्रावण २० गते नेपाल सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । वौद्ध दर्शन पंचशीलका लागि प्रसिद्ध छ र त्यसको पहिलो नम्बरमा नै हत्याहिंसामा सामेल नहुने कुरा उल्लेख छ । त्यसैले आफूलाई बौद्धमागी भन्नेले त हत्याहिंसामा सामेल हुनु अनुचित रहन्छ नै । त्यस्तै हिन्दुका अनेकौं पुराण र महाभारतमा समेत अहिंसा परमोधर्म उल्लेख गरिएकाले र प्राणी मारेर प्राप्त हुने मासु खाँदा हिंसा हुने भएकाले हामी सबैले शाकाहारी बनेर जगत र प्राणीको उद्धार गर्नुपर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भिक्षु आङ फुरी शेर्पा
भिक्षु आङ फुरी शेर्पा
लेखकबाट थप