५० वर्षअघिको दशैं

person access_timeअसोज १४, २०७४ chat_bubble_outline0

बडादशैं । हिन्दु धर्मावलम्बीले चैतेदशैंको तुलनामा बडादशैं धुमधामसँग मनाउँछन् । मनाउँदै आएका छन् । त्यतिबेला र यतिबेला दशैं मनाउने तौरतरिकामा त्यति परिवर्तन देखिँदैन । तर, दशैं मनाउने शैलीमा परिवर्तन आएको संस्कृतिविद् सत्यमोहन जोशीको ठम्याइ छ ।
त्यसो भए ५० वर्षअघि दशैं कसरी मनाइन्थ्यो ? संस्कृतिविद् जोशीले त्यतिबेलाको दशैं सम्झे, ‘२००७ सालपछि बडादशैंमा राजा र प्रधानमन्त्रीले देशवासी तथा नेपालीमूलका आप्रवासीको नाममा शुभकामना दिन थाले ।’
‘शुभकामना मात्रैले पनि ठूलो अर्थ राख्दोरहेछ,’ उनको बुझाइ छ, ‘राजाको शुभकामनाले म नेपाली, मेरो देश नेपाल, जन्मभूमि जहाँ भए पनि मेरो पुख्र्यौली देश नेपाल भनेर गौरवान्वित बनाउँदोरहेछ ।’
५० वर्षअघि पनि बडादशैंमा मान्यजनबाट टीका थापिन्थ्यो । अहिले पनि त्यसै गरिन्छ । विजयादशमीको शुभसाइत छोप्न नसक्नेले पूर्णिमासम्मै टीका लगाउँथे । मान्यजनले टीका, जमरा र आशिर्वादसहित दक्षिणा दिने चलन थियो÷छ । नेवारी समुदायमा टीकाटालो गरिए पनि जमरा र आशिर्वादमात्रै दिइन्थ्यो । दक्षिणा दिने चलन थिएन । पछिल्लो समय भने दक्षिणा दिने संस्कृति बसेको छ । 
त्यतिबेला पनि रहर गर्नेले राजाको हातको टीका लगाउँथे । राजतन्त्र अन्त्य नभइन्जेल राजाको हातको टीका थाप्नुलाई कतिपयले प्रतिष्ठा ठान्थे । तात्कालिक नारायणहिटी दरबारबाट बाहिरिए पनि रहर गर्नेले पूर्वराजा ज्ञानेन्द्र शाहबाट टीका थाप्न छाडेका छैनन् । 
मासु र मदिराविनाको चाडबाड कल्पना गर्नसमेत सकिँदैन । त्यतिबेला पनि त्यस्तै सोच थियो । दशैं भन्नासाथ मासु र मदिराले प्राथमिकता पाउँथ्यो । त्यतिबेला काठमाडौं उपत्यकामा केको मासु बढी खाइन्थ्यो होला ? संस्कृतिविद् जोशीले अतीत सम्झे, ‘हुनेले खसी, बोका काट्थे । उपत्यकाका काँठका (सबैले होइन) ले खसी, बोका काट्थे । नत्र भेडा, च्याङ्ग्राको मासु खान्थे । नेवार समुदायले राँगाको मासु खान्थे । राँगाको मासु सस्तो हुन्थ्यो ।’ उनका अनुसार ५० वर्षअघि समेत तिब्बतियनले भेडा, च्याङ्ग्रा बेच्न काठमाडौं ल्याउँथे । उनीहरूले रानीपोखरीवरिपरि भेडा, च्याङ्ग्रा बेच्थे । त्यतिबेला एक भेडालाई पाँच रुपैयाँसम्म पथ्र्यो । साह्रै महँगो भए ६ सय रुपैयाँ ।


दशैंमा मीठोमसिनो खानु त्यतिबेलाकै चलन हो । त्यतिबेला मासुभातमात्रै होइन, चिउरा पनि प्राथमिकतासाथ खाइन्थ्यो । दशैं आउनु १५ दिनअघि नै चिउरा कुटिन्थ्यो । ‘हिजोआजजस्तो मिलमा नभएर ओखलमा चिउरा कुटिन्थ्यो,’ जोशीनिवासमा भेटिएका उनले सुनाए, ‘चिउरा कुटेका आवाज श्रवणीय लाग्नु त छँदै छ, त्यत्तिकै आनन्द पनि लाग्थ्यो ।’ चिउरा कुट्दासमेत सामूहिकता झल्किन्थ्यो । चिउरा सामूहिक रूपमा कुटिन्थ्यो । चिउरा कुट्दा कसैले धान केलाउँथे, कसैले भुट्थे भने कसैले कुट्थे । भक्तपुरको टिकन गाउँको टिकन चिउरा त्यत्तिकै प्रसिद्ध मानिन्थ्यो । तीनप्रकारमा पाइने टिकन चिउरा काठमाडौं र ललिपुरसम्म बेच्न ल्याइन्थ्यो । 
हिजोआज नेपालमा पाँच लाख रुपैयाँसम्मको मदिरा पाइन्छ । त्यतिबेला पाउने कुरै भएन । ‘त्यतिबेला ?,’ उनले भने, ‘नेवार समुदायले सामूहिक रूपमै रक्सी बनाउँथे । अपवादबाहेक दशैंमा खाइने सबै खानेकुरा घरमै बनाइन्थे । 
खानपानमात्रै होइन, दशैंमा नहुने र नसक्नेले समेत छोराछोरीलाई नयाँ लुगा सिलाइदिन्थे । किनिदिन्थे । चंगा त्यतिबेला पनि उडाइन्थ्यो । पिङ खेलिन्थ्यो । तर, ५० वर्षअघि पनि काठमाडौं उपत्यकामा पिङ पातलै थियो । लोककथन नै छ, ‘वर्षमा एकपटक भुइँ छाड्नुपर्छ ।’ त्यही लोककथन आत्मसात् गर्नेले पिङ खेलेकै हुन्थे । 
‘५० वर्षअघि र पछिको दशैं उस्तै छ,’ ९८ वर्षीया जोशीले प्रस्ट्याए, ‘तर, मनाउने शैली फरक भयो । त्यतिबेला दशैंभरि मानिस शक्तिपीठ धाउँथे । दशैंमा शक्तिको पूजाआजा गर्ने हो । पूजाआजा गर्थे । हिजोआज त टीभीबाटै शक्तिपीठको दर्शन गर्ने बानी परिसक्यो ।’ तर, पूजाआजाविधि फरक छैन । उही हो । सुनाइने दशैंकथा पनि त त्यही हो । 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ