शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगाका सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिँदै

मङ्गलबार, ०६ माघ २०७७, १७ : ०९
मङ्गलबार, ०६ माघ २०७७

ओखलढुंगा । जिल्ला निर्वाचन कार्यालय ओखलढुंगा निर्वाचनको तयारीमा जुटेको छ । गत पौष ५ गते सरकारले आगामी बैसाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेपछि त्यसको पूर्व तयारी स्वारुप जिल्लामा पनि निर्वाचनको तयारी गरिएको हो । निर्वाचन कार्यलयले जिल्लाका आठ स्थानीय तहबाटै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । मंगलबार जिल्ला निर्वाचन कार्यालयले कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई जानकारी दिएको छ ।

आयोगले गत पुस १६ गतेदेखि फागुन २१ गतेसम्मलाई निर्वाचन सम्वन्धी कार्यक्रम तालिका घोषणा गरेको छ । सोहीअनुसार जिल्लाका ८ वटा स्थानीय तहमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म र जिल्लामा माघ १५ गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार गरिने जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आगामी माघ १६ र १७ गते दुईदिन प्रत्येक स्थानीय तहको केद्रमा आफ्नो नामावली सच्याउने, दोहोरो नामावली हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सकिने छ ।  जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ ।

उक्त कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एबं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने जानकारी दिइएको छ ।

त्रुटी सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने र त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहारोे विवरण हटाउने तथा आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमार्फत प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी न्यौपानेले बताए । 

केन्द्र थप्न र सार्न सिफारिस

जिल्लामा यसअघि कायम रहेका ७८ निर्वाचनस्थल तथा १ सय ४२ निर्वाचन केन्द्रमध्ये मतदातालाई अपायक पर्ने भएकाले ९ वटा केन्द्रलाई सार्ने गरी केन्द्रमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मतदान केन्द्र पुनराअवलोकन समितिले जिल्लाको खिजिदेम्बा र सुनकोशी गाउँपालिकामा भने मतदानस्थल थप गर्ने निर्णय गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यलय ओखलढुंगाले जनाएको छ । जिल्लामा ०७४ सालको निर्वाचनमा कूल मतदाताको संख्या १ लाख दुई हजार रहेको थियो भने अहिले बढेर एक लाख ८ हाजर पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप