शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्ततः ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैले दुर्घटना वीमा पाउने भए

सोमबार, ०५ माघ २०७७, १७ : ४४
सोमबार, ०५ माघ २०७७

काठमाडौं । अब उप्रान्त सेयर राइडिङ्ग ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने भएको छ । हालसम्म सुरक्षा प्रत्याभूतिको सवालमा सडक दुर्घटनाको कुनैपनि जिम्मेवारी नलिएको कम्पनीले पहिलो पटक आफ्ना राइडर कर्मचारी र यात्रु दुबैको सुरक्षाको ग्यारेन्टी गरेको हो । 

दुर्घटना वीमाबारे रातोपाटीलाई जानकारी दिँदै पठाओका सञ्चालक अशिमसिंह बस्नेतले नेपालमै पहिलो पटक कम्पनीले सेयर राइडिङ्गमा दुर्घटना वीमाको ग्यारेन्टी लिएको दाबी गरे । ‘पठाओले पहिलो पटक यात्रु र राइडर दुबैको जीवन सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टीको शुरुवात गरेको छ । यस्तो सुविधा हाम्रा कर्मचारी र सेवाग्राहीलाई दिन पाउँदा हामीलाई निकै खुशी लागेको छ’ पठाओ सञ्चालक बस्नेतले भने, ‘मलाई लाग्छ, सेयर राइडिङ्ग सेवामा यस्तो सुविधा दिने नेपालमै हामी पहिलो कम्पनी हौं ।’

सञ्चालक बस्नेतका अनुसार अब पठाओ प्रयोगकर्ता मोटरसाइकल तथा ट्याक्सी चालक र यात्रु दुबैको अधिकतम ६ लाखको दुर्घटना वीमा हुनेछ । मोटरसाइकलमा सवार राइडर र एक यात्रुको वीमा हुनेछ भने, ट्याक्सीमा एक चालक र पछाडि बस्ने सबै जनाको वीमा हुनेछ ।

त्यसो त गत महिना मात्र पठाओका राइडरहरुले सेयर राइडिङ्गमा जाने यात्रु र चालक दुवैको दुर्घटना वीमा हुनुपर्ने मागसहित ११ बुँदे माग राख्दै कम्पनीबिरुद्ध आन्दोलित भएका थिए । सोही माग बमोजिम कम्पनीले बीमा सुविधा राख्न बाध्य भएको हो ? भन्ने रातोपाटीको प्रश्नमा सञ्चालक बस्नेतले भने, ‘हामीले कुनै राइडर र आन्दोलनरत पक्षको माग सम्बोधनको नाममा यस्तो सुविधा ल्याएका होइनौं । जुन सुविधा हामीलाई नै महशुष भएर मात्र ल्याएका हौं ।’ 

उनले भने, ‘हामीले पहिले नै भनेका थियौं, कम्पनी तोडफोडमै उत्रने ती आन्दोलनकारी हाम्रो कर्मचारी नै होइनन् । ती त हाम्रो विरुद्धमा लाग्ने र कम्पनीको बदनाम गर्न उद्दत रहने अराजक समूहहरु हुन् । त्यस्ता तत्वहरुकोमाग सम्बोधन गर्ने भन्ने त कुरै हुँदैन नि ।’

बस्नेतले भने, ‘यो त हामीले पहिले देखिनै गृहकार्य गरिरहेको विषय हो । यसमा थप अझ के–के सेवा सुविधा थप्न सकिन्छ अहिले कम्पनीले गृहकार्य गरिरहेको छ’ बस्नेतले रातोपाटीसँग भने । 
तर, उच्छृङ्खल आन्दोलनमा लाग्ने ती आन्दोलनकारीको माग भने कुनै हालतमा सम्बोधन नहुने उनले प्रष्ट पारे । हालका लागि दुर्घटना वीमा सुविधा ल्याएको कम्पनी निकट भविष्यमै टोल फ्रि कल सेवा समेत ल्याउने तयारी गरेको बस्नेतको भनाई छ ।  

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप