शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः बाग्मतीको लगातार दोस्रो जित

सोमबार, ०५ माघ २०७७, १६ : २७
सोमबार, ०५ माघ २०७७

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा  निकालेको छ ।  गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २  विकेटको रोमाञ्चक जित निकाल्दा बाग्मतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो ।

संघर्षपूति जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो । यस अघि पहिलो खेलमा आर्मीसँग पराजय भोगेको गण्डकीका लागि विशाल पौडेलले बलिङ तर्फ ह्याट्रिक गर्दा गण्डकीले समूह तालिकामा स्पष्ट दुई अंक जोडेको हो ।

१ सय ३ रनको समान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो । संघर्ष पूर्ण जित निकाल्दा गण्डकीका ओपनर अर्जुनकुमालले ३५ रनको पारी खेल्दा दीपक डुम्रेले पनि समान ३५ रन नै जोडे । अभिशेक थापाले अविजित १३ रनको स्कोर बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर जोड्न सकेनन् । पराजित भए पनि किफायती बलिङ गरेको प्रदेश १ का लागि शुभांकर उराले समान २÷२ विकेट हात पार्दा दिपेश कँडेल र हेमन्त राईले एक÷एक विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २  रन बनाउन सक्यो । प्रदेश १ का लागि कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए । यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए ।

प्रदेश १ को पारीलाई सस्तैमा समेट्ने विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए । यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश १ को यो लगातार दोस्रो हार हो । प्रदेश १ पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत दिनको अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । बाग्मतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो ।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । सुदूरपश्चिमका लागि अर्का खेलाडी अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलिय फर्किएका थिए ।

सुदूरपश्चिम प्रदेशलाई सस्तैमा समेट्न बागमतीका रामनरेश गिरिले ४ विकेट लिए । नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १÷१ विकेट आफ्नो लेखाए । यसअघि पहिले ब्याटिङ गरेको बाग्मतीले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको स्कोर बनाएको थियो । युवा ब्याट्सम्यान पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रनको योगदान गरे  । कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए पवेलियन फर्किए । इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २÷२ विकेट लिए । लगातार जित निकालेको बागमतीले २ खेलमा ४ अंक जोडेको छ । बागमती समूह ‘बी’ को शीर्ष स्थानमा अटाएको छ । यस अघि बाग्मतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो भने पराजयबाट सुदूरपश्चिमले प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप