मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट कोरोना प्रभावित उद्योगीले विद्युत डिमाण्ड शुल्कमा छुट पाउने

सोमबार, ०५ माघ २०७७, ११ : ३९
सोमबार, ०५ माघ २०७७

आजबाट कोरोना प्रभावित उद्योगीहरुले विद्युत डिमाण्ड शुल्कमा छुट पाउने भएका छन् । कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुले बन्दाबन्दी अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट पाउने भएका हुन्  ।

आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्रीसहित बसेको बैठकले डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको हो । बैठकमा राजश्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे,  अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी भएका थिए ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बजेटमा उल्लेख भएको बुँदा कार्यान्वयनमा गएको बताए । बजेटको बुँदा नम्बर ५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमुलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने भनिएको थियो । सरकारले आजबाट यहि बुँदा कार्यान्वयनमा ल्याएको डा. श्रेष्ठले रातोपाटीलाई बताए ।

प्राधिकरणका उपभोक्ताले विद्युत शक्ति खपत गरेबापत् मासिक न्युनतम शुल्क, इनर्जी शुल्क र डिमाण्ड शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यी शुल्कमध्ये डिमाण्ड शुल्क छुट दिने (लकडाउन अवधिभरको) व्यवस्था भएको हो । औद्योगिक व्यवसाय विनियमावली २०७६ मा भएका झण्डै ५८ वटा उद्योग छन् त्यसमा उत्पादनमुलक उद्योगलाई शुल्क छुट हुने श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप