शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र बाग्मती प्रदेश विजयी

आइतबार, ०४ माघ २०७७, १६ : २८
आइतबार, ०४ माघ २०७७

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस्तै आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मतीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

आर्मीले लगातार जित निकाल्दा कर्णाली प्रदेशले पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ । आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र १ सय १५ रन जोड्न सक्यो । ३३.३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट सुरुआत गर्न पुगेको हो । जवाफी ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रविन्द्र शाहिले सर्वाधिक ३० रनको पारी खेल्दा ओपनर हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रनको दोहोरो स्कोर गरे । यस बाहेकका ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन् । कर्णालीको इनिङ्सलाई रोक्न आर्मीका सुशान भारीले सर्वाधिक ४ विकेट निकाल्दा शहब अलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट आफ्नो नाममा लेखाए । ६ ओभर बलिङ गरेको जितेन्द्र मुखियाले दुई मेडन राख्दै १६ रन खर्चिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो । आर्मीका लागि ओपनर अनिलकुमार मण्डलले ८९ रनको पारी खेले । १ सय १४ बल सामना गरेका अनिलले १४ चौका प्रहार गरेका थिए । यस्तै कप्तान विनोद भण्डारीले ४१ रनको पारी खेल्दा राजेश पुलामीले १६, लोकेश बमले १३ तथा रोहित पौडेलले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यान १० रन भन्दा कम रनमा पवेलिय फर्किएका थिए ।

बलिङतर्फ कर्णाली प्रदशेका लागि दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २÷२ विकेट हात पार्दा रविन्द्र शाहि, युनिस सिंह र अनुज चुनाराले एक÷एक विकेट आफ्नो नाममा लेखाए । पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको अर्को खेलमा पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको छ । पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्दा विजयी सुरुआत गरेको हो ।

बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहँदै ४८ रन बनाए । इशान पाण्डेले अविजित १७ रन बनाए । पारस खड्काले १७ रन जोड्दा आदील खानले १२ रन जोडे । आकाश थापा १ रनमा आउट भए । पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन जोडेको थियो । पुलिसका लागि ओपनरद्वय सुनिल धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाए । त्यस्तै अमित श्रेष्ठ ६ रनमा पेविलियन फर्किदा दीपेन्द्र सिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे ।

आरिफ शेख २१, अनिल साह १, कप्तान मन्जित श्रेष्ठ ५, रसिद खान १, ललित राजवंशी १ रनमा आउट हुँदा सागर ढकाल १ रनमा अविजित रहे ।बागमतीका नन्दन यादवले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । तिलक भण्डारीले ७ ओभर ३ बलमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए ।रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा सोमबार कीर्तिपुरको मैदानमा सुदुर पश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश १ बीच मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप