मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : रेल मन पर्दैन

शनिबार, ०३ माघ २०७७, १० : २६
शनिबार, ०३ माघ २०७७

 

 

 

-भुवन रोका “मित्रजी”

पहिलोपल्ट जापान टेक्दा 
यहाँको विकास देख्दा 
धेरैपल्ट भ्रमित भएँ म  
यो सपना हो की बिपना भनेर

झट्ट हेर्दा
सूर्यलाई चुमिरहेका अग्ला अग्ला भवन
चिल्ला अनि सफा गुडिरहेका सडक
हैन 
यो देशको राजनीतिले 
विकास मात्रै गर्छ की क्या हो!
भ्रष्टाचार गर्दैन की क्या हो!
समुन्द्रमाथि पनि पुल बनेको छ
बिना खाल्डाखुल्डि सडक खनेको छ

धेरै पल्ट गएँ
रेल हेर्नको लागि रेलै चढेर 
अचम्मित भएँ
रेल चढ्ने प्रकिया देखेर
एउटा टिकेट
स्वचालित द्वार
अनि 
म भित्र
ठिक समयमा ठिक ठाऊँमा
रेल रोकिन्छ, ढोका खोलिन्छ 
मान्छे झार्छ, चढाउछ अनि दौडिन्छ
न त कसैलाई पर्खिन्छ
न त कोहि छुट्यो भनी पछाडी फर्किन्छ
देखेँ रेलहरु 
पुलमुनि झुण्डिएर गुडिरहेका
सुरुगं छेडेर निस्किरहेका
जमिन मुनि मुनि कुदिरेहेका
पानी माथिको लिगमा तैरिरहेका
मानौ 
विज्ञानभित्र छ यो देश
यो देशभित्र छ विज्ञान 

यामानोते रेलमा
आईफोन हातमा
एयरफोन कानमा 
बजिरहेका हुन्थे पुराना गीतहरु
सुमधुर आवाजमा 
धेरैपल्ट धेरै चक्र
घुमेको छुँ बिना काम
रेल चढ्ने रहरै रहरमा

यतिबेला 
रेल चढ्न नपरोस् लाग्छ
चढ्यो की त्रास जाग्छ 
कुनै यात्री
बिना मास्क पो पस्ने हो की
ज्वरो बोकेर संगै बस्ने हो की
कसैले ख्वाक्क पार्यो भने 
नदेखिने लक्ष्यण सार्यो भने
त्रासै त्रास छ रेलमा
त्यसैले 
अचेल रेल मन पर्दैन
यो मान्छेप्रति घृणा त हैन 
तर 
अचेल रेल मन पर्दैन

फेरी पनि 
जारी छ रेलको यात्रा
रहर भन्दा धेरै बाध्यताको मात्रा
समात्नु छ समयको गति
जुटाउनु छ चारो अलिकति
तर
अचेल रेल मन पर्दैन


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप