सात वर्षपछि फरार अभियुक्त पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सात वर्षदेखि फरार अभियुक्त पक्राउ गरेको छ । निकुञ्जको मुख्य इलाकाबाट सालको काठ तस्करीमा सम्लग्न रहेका अभियुक्तलाई आज पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२४ का जगतपुरका २७ वर्षीय सन्तोष विक रहेका छन् ।
निजले बिसं २०७० असारमा काठ तस्करी गरेको अभियोगमा उनी विरुद्ध भदौ ४ गते मुद्दा दायर भएको थियो । उक्त मुद्दा २०७१ साल साउन २२ गते निकुञ्जले फैसला गर्दा उनी विरुद्ध दुई वर्ष कारागार र रु आठ हजार जरिवाना गरिएको उनले जानकारी दिए ।
विकलाई निकुञ्जले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला कारागार भरतपुर चलान गरिएको छ । निकुञ्जमा पछिल्लो समय चोरीशिकार बढेसँगै सुरक्षा बढाइएको छ भने फरार अभियुक्तहरुको खोजीलाई तीव्रता दिएको छ । गत महिना मात्रै गैँडा चोरीशिकारका फरार दुई अभियुक्त पक्राउ गरिएको थियो ।
चितवनमा चरा गणना सम्पन्न
जिल्लाका चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिएको छ । पाँच दिन लगाएर गणना गरिएको हो । गत आईतबारबाट गणना शुरु गरिएको थियो । बर्ड एजुकेशन सोसाईटीका पूर्वअध्यक्ष वासु विडारीले गणना सम्पन्न भएपनि तथ्याङ्क आइनसकेको जानकारी दिए । उनका अनुसार सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सोमबारसम्ममा एकिन तथ्याङ्क बाहिर ल्याइने छ ।
चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उनले बताए । उनका अनुसार यसवर्ष सङ्ख्या केही बढेपनि प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । उनले चितवन निकुञ्ज र यसआसपासको सिमसार क्षेत्र तथा तालतलैयामा चराको अवस्था यसवर्ष मध्यम रहेको बताए ।
नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि चितवनमा केही दिन ढिला गरी गणना गरिएको थियो । उनले लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म गणना गरिएको बताए । त्यस्तै, माडीको रिउ खोला, बीसहजारी ताल, तमोर ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो ।
बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको उनले जानकारी दिए । बिडारीका अनुसार चरा बस्ने कुनै क्षेत्र नछुटाई गणना गरिएको छ । चितवन जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा ५२ जनाको तीनवटा समूह बनाएर चरा गणना गरिएको हो । गत साल जिल्लामा ६४१ प्रजातिका चरा फेलापरेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ ।
क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ । यो समय जाडो छल्न विभिन्न देशबाट बसाई सरी यहाँ चरा आउने गर्दछन् । ती अधिकांश चरा जल प्रजातिका हुने गर्दछन् । तिनीहरु गर्मी शुरुभएसँगै पुनःफर्किने गर्दछन् ।
कर्मचारी माग
सरकारले निर्वाचन घोषणा गरेसँगै निर्वाचन कार्यालय चितवनले स्थानीय तहसँग निर्वाचनका लागि कर्मचारी माग गरेको छ । निर्वाचन कार्यालयका प्रमुख जनाधन अधिकारीका अनुसार सातै स्थानीय तहसँग खरिदार वा नायवसुव्वा सरहको एक–एक जना कर्मचारी माग गरिएको छ ।
स्थानीय तहले कर्मचारीको नाम पठाएसँगै उनीहरुलाई सहायक नामदर्ता अधिकारीको जिम्मेवारी दिई कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए । उनीहरुले हरेक निर्वाचन केन्द्रमा गई मतदाता नामावलीमा भएको नाममा दावि विरोध गर्ने छ । मृत्यु भएका, दोहोरीएका जस्तो समस्या आएमा उनीहरुले नै सिफारीस गरी निर्वाचन कार्यालयमा पठाउने छन् । मतदाता नामावली अध्यावधिक गर्ने कामसमेत उनीहरुबाटै हुने छ ।
जिल्ला मतदान तथा मतदान केन्द्र सिफारिस समितिको वैठकले सबै राजनैतिक दललाई निर्वाचनको तयारीका लागि आग्रहसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा जिल्लाका कृयाशिल राजनैतिक दल र दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुखको सहभागीतामा वैठकसमेत बसिसकेको छ ।
निर्वाचन आयोगले मतदान केन्द्र तथा स्थलको पुनरावलोकन गर्नका लागि निर्देशन गरेसँगै अहिले मतदान केन्द्र तथा स्थलको निरीक्षण र पुनरावलोकन गर्ने काम सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा जिल्लामा रहेका १६१ स्थल र ४०८ केन्द्रको पुनरावलोकनको काम भइरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार निर्वाचन स्थल १६१ वटै रहने र केन्द्र भने थप हुने छ ।
अघिल्लो निर्वाचनमा जिल्लामा मतदाता संख्या तीन लाख ५४ हजार ३५ रहेको थियो भने अहिले मतदाता वढ्ने देखिएकाले केन्द्र थप गरिने उनले जानकारी दिए । सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालय निर्वाचनको तयारीमा जुटेको हो । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलनको काम रोकेर निर्वाचनमा होमिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने
-
‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष
-
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला
-
पुलिसलाई हराउँदै फाइनल पुग्यो चर्च ब्याइज, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने