शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड-माधवले भेटेपछि देउवामा टुट्यो ओलीप्रतिको ‘विश्वास’ !

शुक्रबार, ०२ माघ २०७७, १८ : ३३
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । ‘मलाई विश्वास छ – हिजो (पुस २४ गते) धनगढीमा ओलीले (प्रधानमन्त्री केपी शर्मा ओली) चुनाव गराउँछु भनेका छन् । चुनाव गराउने छन् । उहाँ चुनाव प्रचारमा गइसक्नुभएको छ । उहाँको पार्टी पनि चुनावमा गइसक्यो ।’

२५ पुसमा काठमाडौं क्षेत्र ५ बुढानीलकण्ठमा आयोजित विरोधसभामा प्रधानमन्त्री ओलीले चुनाव गराउने विषयमा विश्वास्त हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माथि उल्लेखित मत राखेका थिए । र, चुनावका लागि कार्यकर्तालाई निर्देशन पनि दिएका थिए ।

प्रतिनिभिसभा विघटनपछि घोषित वैशाख १७–२७ को मितिमा प्रधानमन्त्री ओलीले चुनाव गराउन नसक्ने अनुमानकाबीच देउवाको ‘विश्वास’ले तरङ्ग ल्यायो । किन भने निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापनाका लागि काँग्रेस अडान निर्णायक देखिन्छ ।

संसद विघटन विरुद्धको आन्दोलन प्रभावकारी नदेखिनुमा पनि सभापति देउवाको भूमिकाले काम गरेकोमा बुझ्न गाह्रो छैन । त्यसैले निर्वाचनका भन्दर्भमा ‘देउवा–ओली एउटै बोली’ सुनिएपछि सार्वजनिक रुपमा देउवाको भूमिकामाथि प्रश्न उठ्यो । नागरिक समाजका अगुवाद्वय देवेन्द्र पाण्डे र कृष्ण पहाडीबाट ‘देउवाको सदाबाहार ढुलमुले चरित्र चिन्ताको विषय’का रुपमा चित्रित गरियो ।

यता प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत काँग्रेसभित्र ओलीप्रति देउवाको ‘विश्वास’ले प्रश्न जन्मायो । २६ पुसमा देउवा निवासमा बुढानीलकण्ठमा आयोजित कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले नै काँग्रेसको नीति ढुलमुले भएको थिए ।

‘संविधान हामी बनाउने थियौँ । प्रतिनिधिसभा पुनर्स्थापन हुन्छ, हुन्छ, हुन्छ । काँग्रेस त्यसकै लागि सडकमा जानुपर्छ । संविधान बनाउने जिउँदै छौं । काँग्रेसको नीति ढुलमुले भयो। संविधान बचाएर चुनावमा जाऔं,’ भन्ने पौडेलको मत थियो । तर पौडेल बोल्दै गर्दा बीचमा देउवाले हस्तक्षेप गर्दै विचाराधीन मुद्दामा नबोल्ने पार्टीको नीति भएको सुनाए ।

सभापति देउवाले सबैभन्दा ठूलो अदालत जनता भएको भन्दै चुनावमै जोड दिएका थिए । त्यसपछि सोही दिन महामन्त्री शशांक कोइरालाको महराजगञ्जस्थित निवासमा बसेको पौडेल पक्षीय बैठकले सभापति देउवाको अभिव्यक्तिले ओलीको असंवैधानिक कदमलाई बल पुर्याएको निष्कर्ष निकालेका थियो ।

बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । तर देउवा ओलीप्रति नरम नीति राखेर चुनावी माहोलका लागि केन्द्रित थिए । त्यही अनुसार उनी उपत्यका बाहिर कार्यकर्ता भेटघाटमा जोड दिएको पाइन्छ । पार्टी पौडेल पक्षको जोडबलबाट देउवा टसमस नभएका बेला बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बूढानीलकण्ठ पुगे ।

संसद विघटनले नेकपामा निम्याएको विभाजनबाट केन्द्रदेखि प्रदेशसम्मको राजनीतिक मोर्चामा निर्णायक देखिएको काँग्रेससँग प्रचण्ड–नेपालले सहकार्य खोजेको देखिन्छ । सोही अनुसार आन्दोलन, सत्ता र चुनावसम्म मिलेरअघि बढ्न प्रस्ताव लिएर प्रचण्ड– नेपाल बुधबार देउवा निवास गएपछि भने ओलीप्रतिको ‘विश्वास’मा देउवामा टुटेको संकेत देखिएको छ । बिहीबार ओलीलाई बल पुग्ने देउवाको अविव्यक्ति संशोधित भएको छ ।

पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवनको उद्घाटनमा ओलीप्रतिको देउवाको विश्वास डरमा बदलिएको छ । असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर चुनावको घोषणा गरेपनि सहजै तोकेकै मितिमा चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको देउवाको बुझाइ छ ।

‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे । ओलीले कहाँ चुनाव गराउँछन् ? गराउँदैनन् । चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ’ देउवाको भनाइ थियो ।

यस्तै ओलीबाट अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम भएको देउवाको आरोप छ । यसअघि अदालतमा विचाराधीन मुद्दामा काँग्रेसको नबोल्ने नीति रहेको बताउँदै आएका देउवाले प्रधानमन्त्री ओली सडकमा बहस गर्दै हिँडेकोमा पहिलो पटक प्रश्न उठाएका छन् ।

‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?,’ देउवाको प्रश्न थियो ।

उनले न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्दामा काँग्रेसले पनि कुनै दबाब नदिने बताए । ‘अदालतले विवेक प्रयोग गर्ने नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन,’ देउवाको भनाइ छ ।

यस्तै देउवाले तत्कालका लागि नेकपाको दुवै पक्षसँग सहकार्य हुन नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीसँग पनि आफूले कुनै खालको सहमति नगरेको प्रस्ट पार्दै काँग्रेस संसद पुनःस्थापना र निर्वाचन दुवै विकल्पका लागि खुला रहेको देउवाको भनाइ छ ।

नेकपा २ भागमा विभाजित भएजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने देउवाको बुझाइ छ ।

तर प्रचण्ड – नेपालले भेटेपछि ओलीले चुनाव गराउने विश्वास नभए पनि चुनावको विकल्प भने देउवाले देखेका छैनन् । संविधान, लोकतन्त्र र जनअधिकारको रक्षार्थ ताजा जनादेशका लागि चुनावमा जानुको विकल्प नभएको भन्दै कार्यकर्तालाई चुनवाी तयारीमा जुट्न देउवाको निर्देशन भने रोकिएको छैन ।

‘प्रधानमन्त्रीको पार्टी चुनावमा जाने, हामी घरमै बसेर काम छैन । अदालतले जे फैसला गर्छ, हामी स्वीकार गर्छौं । अदालतले जनतामा जाने फैसला लिए के बिग्रियो त ? सर्वोच्चभन्दा जनता नै ठूलो अदालत हो । चुनावमा जाने निर्णय आयो भने काँग्रेस भाग्न हुन्न,’ देउवाको भनाइ थियो ।

नेकपा विभाजित भएको अवस्थामा चुनाव हुँदा काँग्रेस ठूलो दल बन्न सक्ने देउवाको बुझाइ छ । दुई वर्षपछि हुने चुनाव पाँच महिनापछि हुँदा केही फरक नपर्ने देउवाको तर्क छ । आन्दोलनका कार्यक्रम पनि चुनावमुखी बनाउन देउवाको निर्देशन छ ।

सोही अनुसार काँग्रेस पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ मा सबै वडामा काँग्रेसले विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ । काँग्रेसका एक जना पदाधिकारीले भने, ‘पार्टी आन्दोलन मै छ । संसद पुनर्स्थापना भएन भने पनि निर्वाचन नहुँदासम्म आन्दोलनमै रहन्छ । वर्तमान राजनीतिक घटना क्रममा सभापतिजी तथष्ट हुनुहन्छ । उहाँले आफूलाई थप तथष्ट बनाउँदै लिनुभएको छ ।’

अदालतमा विचारधीन मुद्दा र नेकपाको दुई खेमाका सन्दर्भमा सभापतिको अभिव्यक्ति सन्तुलित आइरहेको उनको भनाइ छ । ‘अहिले तटस्थ बस्नु नै राष्ट्र र पार्टीको हितमा छ । पार्टीकै केही नेताहरुले प्रधानमन्त्री केपी ओलीजीलाई बल पुग्ने गरि सभापतिले बोल्नुभयो भन्नु भएको थियो । हिजोको अभिव्यक्तीलाई उहाँहरुको मागको सम्बोधनका रुपमा बुझ्नु न,’ ती पदाधिकारीले भने ।

नेकपाको कुनै पक्षका नेताको विश्वास बढ्ने वा घट्ने भन्दा पनि सभापति ‘पर्ख र हेर’को अवस्थामा रहेको उनको भनाइ छ ।

तीनले भने , ‘उहाँहरू (प्रचण्ड–नेपाल)ले भेट्नका लागि तारन्तार फोन गरेपछि सभापतिजीले भेटघाट गर्नुभएको हो । प्रधानमन्त्रीजीले पनि भेट्न खोजी राख्नुभएको छ । भेटेको पक्षलाई विश्वास गर्ने र नभेटेको पक्षलाई अविश्वास गन्ने कुरा पनि हुन्छ ? विश्वास –अविश्वास भन्दा पनि सभापतिजी पर्ख र हेर कै अवस्थामा हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप