बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धाश्रमको दशैँ : जहाँ मासु नपाकेको अढाई वर्ष भयो

बिहीबार, १२ असोज २०७४, ०९ : २४
बिहीबार, १२ असोज २०७४

म बिहानै पशुपतिमा रहेको एक वृद्धाश्रममा पुग्दा त्यहाँ बिहानको खाजा खाने समय भएको रहेछ । एक जना वृद्ध बिस्कुट बाढ्दै थिए । वृद्धवृद्धाहरू टेबुलमा बसेर कचौरा, जग, बाटा, गिलासमा चिया र बिस्कुट खाइरहेको देखँे । यीमध्ये कोही चुरोट तान्दै हिँड्ने, कोही तरकारी बाँड्दै गरेको पनि देखेँ । सक्ने वृद्धवृद्धा उठेर भान्सा कोठासम्म नै आउने गर्छन् भने नसक्नेलाई बसेकै ठाउँमा चिया र बिस्कुट पुर्याइदिने गर्दा रहेन् । अघिल्लो दिनमा खाजा खाएको भाँडा नै नपखाली चिया दिँदा रैछन् । कसैको हात, खुट्टा भाचिएको छ त कोही कान सुन्दैनने भने कोही बोल्न सक्दैनन् । हुन त वृद्धाअवस्थामा पुगेपछि यसै पनि अस्वास्थ्य त हुने नै भइयो । त्यसमा पनि सरकारले सञ्चालन गरेको वृद्धाश्रममा बस्दा धेरै समस्या तथा अभाव भइरहेको कुरा सबैले अनुभव गर्न सकिन्छ । त्यो आश्रममा जाँदा उनीहरूलाई मेरा आफन्त भेट्न आएको हो कि भन्ने आशमा हुन्छन् भने कोही कुनै दाताले सहयोग पो गर्न आएको पनि भन्ने आशमा हुन्छन् । नयाँ मान्छे जाँदा त्यहाँको अधिकांश वृद्धवृद्धा पैसा दिन आएको हो भनेर सोध्ने गर्छन् । वृद्धवृद्धालाई बिहान खाजाका रूपमा चिया र बिस्कुट दिने व्यवस्था रहेछ । 

धेरै दिनको बासी दुनोट खानुपर्छ 
खानपानको व्यवस्थापनका सम्बन्धमा राखिएको जिज्ञासामा एक जना वृद्ध बोधीमाया तामाङले उनले फ्यालेको दुनोट देखाउँदै भनिन्– धेरै दिनको यस्तो बासी दुनोट पनि खानुपर्छ । आज दिन दुई मात्र भयो प्याकेटको बिस्कुट दिएको नत्र नाङ्लामा राखेर गोरुलाई जसरी दिन आउँथे । बोधी माया तामाङ यो वृद्धाश्रममा बस्न थाल्नुभएको ७ वर्ष भयो । बौद्ध घर बताउने बोधीमायाको अहिले कोही पनि छैनन् । उनका श्रीमानको मृत्यु भएको १५ वर्ष भयो । ज्याला मजदुरी गरी जिन्दगी धान्दै आइरहकी बोधीमायाका साथमा एक जना छोरी थिइन् । श्रीमानको मृत्यु पनि उनी छोरीसँगै बस्दै आइरहेकी थिइन् । छोरीले सानै उमेरमा प्रेम विवाह गरेपछि उनी एक्लै परिन् । उनको छोरीको पनि विवाह भएको एक वर्षमा नै मृत्यु भइसकेको छ । त्यसपछि उनी वियोगमा थलिन् थालिन । पिङ्गलस्थानमा रहेको बहिनीको घरमा बस्दै गर्दा स्थानीय केही व्यक्तिहरूले वृद्धाश्रममा बस्नका लागि सुझाए । यहाँ ल्याइदिए ।

वृद्धाश्रममा बस्ने सबै वृद्धावृद्धहरू विगतको कुरा सम्झन चाहँदैनन् । सकेसम्म सोध्नेहरूले विगतको कुरालाई नकोट्याइदियोस् भन्ने उनको सोचाइ हो । गहभरी आँशु पार्दै उनी यो समयमा सकैको पनि साहारा नहँुदा आफन्त भए पनि नभए पनि केही नहुने रैछ भन्छिन्  । वृद्धाश्रममा मा पीडामा जिन्दगी गुजारी रहेका वृद्धावृद्धलाई केको दशैँ केको तिहार । सकेसम्म नआएको भए हुन्थ्यो दशैँ भन्छन् । चार्डपर्वको बेलामा आफ्नो मान्छको विशेष सम्झना आउने हुँदा नआएकै राम्रो ठान्छन् । उनी इसाई धर्ममा आस्था राख्ने भए पनि वृद्धावृद्धहरूका लागि राम्रोसँग सरकारले दशैँ मनाइदिए राम्रो हुने बताउँछिन् । उनी अहिले बाहिरभित्र गर्न पनि सक्दिनन् । प्यारालाइसिसको बिरामी हुन् । वृद्धाश्रममा विभिन्न सङ्घसंस्था र व्यक्तिले गरेको सहयोग रकम, कपडालगायत सबै सामान बोधी मायाको हातमा नै पर्ने गरेको थियो । तर अहिले गरेको सहयोगको कुनै पनि कुरा वृद्धावृद्धहरूलाई नदिएको गुनासो पोखिन् । 

दशँैमा टीका लगाएर १० रूपियाँ दिन्छन्, त्यो पनि पण्डितले लिन्छन् 
८९ वर्षकी कृष्णकुमारी मिश्र आफू बसेको कोठा नजिकैको पिँडीमा मलिन मुद्रामा बसिरहेकी थिइन् । रसुवा घर भएकी कृष्ण वृद्धाश्रममा आएको डेढ वर्ष भयो । कृष्णको रसुवामै ११ वर्षको उमेरमा विवाह गरिदिएको थियो । उनी श्रीमानको घरमा जेनतेन १ वर्षसम्म बसिन् । त्यो समयमा श्रीमानको पिटाइ, खाना नदिने जस्ता धेरै समस्याहरू भोगिन् । उनको साथमा एक वर्षको छोरा थियो तर छोराको मृत्यु भएपछि उनी एक्लै परिन । माइत आइन् । लामो समयसम्म माइत बस्दै आएकी कृष्णलाई आफ्नो आमा, बाबा, दाजुभाइ हुँदासम्म त राम्रै थियो । तर भदाले उनलाई उनको घरमा राख्न मानेनन् । अघिल्लो फागुन महिनामा जबरजस्ती वृद्धाश्रममा ल्याएर राखिदिए । उनलाई उनको आफन्त जनार्दन ढकालले यहाँ ल्याएका हुन्, जो नेकपा एमालेका नेता छन् । उनले वृद्धाश्रममा लानुभन्दा गाँउमा नै छाडिदेऊ भनेर पटक, पटक विन्ति गरिन् तर कसैले सुनेनन् । १५ देखि २० दिनको फरकमा उनका आफन्तहरू भेट्न आइहरन्छन् । नयाँ लुगा, खानेकुराहरू ल्याइदिन्छन् । तर वृद्धाश्रममा भित्र आफन्तले जस्तो व्यवहार गरे पनि पीडा मात्रै पाएको बताइन । दशैँको समयमा यो आश्रममा एक जोर नयाँ कपडा र टीका लगाएर १० रूपैयाँ दिने गरेका छन् । आफ्नो साथमा पैसा नहुदा पण्डितलाई टीका लगाएर दिनुपर्ने हुन्छ । 

फूपुको गुनासो गएको ऋशि धमला फर्केर आएनन् 
झनकुमारी अवस्थी अहिले ७५ वर्षको भइन् । उनको आश्रमको बसाइ भएको ५ वर्ष भयो । उनको बिहे ७ वर्षको उमेरमा भएको थियो । बिरामी भएका कारण अर्काेलाई दिँदा सिन्दूर फाप्छ भनेर त्रिशूलीमा बिहे गरेर पठाए । बाल्यकाल जुन सबैमा हरेक कुरा अर्काको साहारा लिनुपर्ने हुन्छ । खेल्ने, खाने र विद्यालय जाने यो समयमा बिहे गरे पनि झनकुमारीलाई केही समयपछि माइतमै राखियो । उनका २ जना छोरा थिए । दुवै जनाको ११ वर्ष र २ वर्षको उमेरमा मृत्यु भयो । जसोतसो परिवार चलिरहेकै थियो । उनको श्रीमानको मृत्युभएपछि झनकुमारी एक्लै परिन् । श्रीमानको मृत्यु भएको दुई वर्षपछि उनलाई वृद्धाश्रमा राखिएको थियो । उनको आफन्तको नाममा उनीभन्दा जेठा दाइ छन् तर त्रिशूलीमा भएका कारण भेट्न आउन सकेनन् । आफ्ना भदाहरू विदेशमा भए पनि यो समयमा म पाल्छु भनेर कोही पनि आउँदा रैनछन् भनेर पीडा पोखिन् । दम र ग्यास्ट्रिकको बिरामी झनकुमारी औषधि खाइरहनुपर्छ । केही औषधि आश्रमले दिन्छ भने केही आफूले पनि किन्नुपर्ने हुन्छ । सहयोग गरेको पैसा हँुदा औषधि किन्नमा समस्या थिएन् उनलाई । तर तिजको समयदेखि आएका विभिन्न सहयोगहरू वृद्धाहरूले नपाएको गुनासो गरे । सबै सहयोग वृद्धाश्रमका कर्मचारीले लिने गरेका र अहिलेसम्म नदिएको उनले बताइन । ऋषि धमाला झनकुमारीको दाइका छोरा हुन् । गएको कुऔँशीमा भेट्न आउँदा पूजामा लिन पठाउँछु भनेर गएका थिए । अहिलेसम्म नआएको बताइन् । 

प्रशासनको भनाइ   
हामीले वृद्धावृद्धहरूको समस्या लिएर आश्रमका व्यवस्थान समक्ष पुगेका थियौँ । राहात बन्द गरेको कुराको बारेमा बुझ्दा नयाँ आर्थिक वर्षदेखि आश्रममा सरकारले नयाँ नीति लागू गरेका कारण रोकेको बताए । वृद्धाश्रममा भदौ १० गतेदेखि सहयोग गर्ने दाताले आश्रमन सञ्चालक समितिमा बुझाउनुपर्ने छ र कर्मचारीले कुन वृद्धालाई के कुराको जरुरी रहेको छ भन्ने बारे बुझेर मात्रै दिने गरेको वृद्धाश्रमका लेखापाल श्रीवीन्द कुमारले बताए । नयाँ नीति लागू हुनुभन्दा अघि सहयोगका सबै रकम तथा सामग्री वृद्धावृद्धहरूको हातमा नै दिँदै आइरहेका थिए । यसरी दिँदा अशक्त र कमजोर वृद्धावृद्धको समान अरूले खोस्ने गरेको हुँदा पनि नियम बनाएको आश्रमको भनाइ छ । यो वृद्धाश्रममा ५० प्रतिशत दाताले नै खाना खुवाउँदै आइरहेको छ । ४९ जिल्लाको १ सय ९० जना वृद्धावृद्धहरूलाई दशैँमा घरमा मान्ने जस्तै गरी दशैँ मान्दै आइरहेका पनि उनले बताए । वृद्धाआश्रममा साढे दुई वर्ष भयो मासु दिने गरेको छैनन् । दशैँमा विषेशत मासुलाई महत्वपूर्ण रूपमा हेरिन्छ । तर यो वृद्धाश्रमका वृद्धावृद्धहरूले मासु खान नपाएको साढे दुई वर्ष भइसक्यो । मासु नखानेभन्दा मासु खानेको सङ्ख्या धेरै रहेको छ र पनि मासु स्वास्थ्यका लागि नराम्रो भन्दै आश्रमले मासु कटौती गरको छ । पशुपति मन्दिरभित्र भएको हुँदा पनि मासु कटौती गरेको लेखापालको भनाइ छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप