नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी
काठमाडौं । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन ।
भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ ।
नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना हो ।
पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले इन्डियन आयल कर्पोरेसनलाई जानकारी दिएका थिए । इन्डियन आयल कर्पोरेसनका कर्मचारी तथा प्राविधिक टोलीले स्थलगत अनुसन्धान गरेपछि चोरीको तथ्य प्रकाशमा आएको हो ।
जमिनको सतहबाट करिब चार फिट गहिराइमा रहेको पाइपमा प्वाल बनाएर सानो पाइप जोड्दै चोरहरुले इन्धन चोरी गर्दै आएको पाइएको हो ।
हामीलाई असर गर्दैन : आयल निगम
नेपाल आयल निगमले भारतीय भूमिमा भएको इन्धन चोरीको असर वा क्षति नेपालले व्यहोर्नु नपर्ने जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अमलेखगञ्ज डिपोमा आइपुगेको इन्धनको मात्र नेपालले भुक्तानी गर्नुपर्ने भएकाले भारतीय क्षेत्रमा चोरी भएको इन्धनको क्षति नेपालले व्यहोर्नु पर्दैन ।
पटना–मोतिहारी–अमलेखगञ्ज पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो । १० अप्रिल सन् २०१८ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो पाइपलाइन बिहारको मोतिहारीमा शिलान्यास गरेका थिए ।
१० सेप्टेम्बर २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाटै रिमोट कन्ट्रोलका माध्यमबाट यो पाइपलाइनको संयुक्त रुपमा उदघाटन गरेका थिए । तत्कालका लागि यो पाइपलाइनबाट नेपालमा डिजेलमात्र आपूर्ति गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा विमानस्थलहरूलाई ‘वर्ड डिटेक्शन’ क्यामरा जडान गर्न आदेश
-
भारतमा वायुसेनाको विमान दुर्घटना
-
डीपसिकले प्रयोगकर्ताको डेटा चीन सरकार र सेनालाई पठाइरहेको छ : अमेरिका
-
अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन : गृहमन्त्री लेखक
-
९८ प्रकारका औषधीबारे धेरै ठाउँबाट गुनासो आएको छ : मन्त्री पौडेल
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय