विरोध कार्यक्रममा अतिथिको वरियताका लागि जसपामा विवाद
![विरोध कार्यक्रममा अतिथिको वरियताका लागि जसपामा विवाद](https://rpcdn.ratopati.com/media/albums/raj_kishor_yadav_mq61DqDm1A.jpg)
संसद विघटनविरुद्ध शुरु गरेको आन्दोलनको विषयमा जनता समाजवादी पार्टीमा विवाद देखिएको छ । कार्यक्रम तय गर्दा पार्टीभित्रको मर्यादाक्रमलाई ख्याल नगरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको हो । माघ ३ गते सिरहामा हुने कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका कार्यरिणी सदस्य रेणु यादवलाई बनाइएको छ भने चौथो वरियतामा सोही पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवलाई राखिएको छ ।
कार्यक्रममा अतिथिको चौथो वरियतामा राजकिशोर यादवलाई राख्दा उनी निकट नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका हुन् । प्रमुख अतिथिमा रेणु यादवलाई राखिएको छ भने दोस्रो वरियतामा कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई राखिएको छ भने तेस्रो वरियतामा कार्यकारिणी सदस्य एवं प्रदेश २ का अर्थमन्त्री विजय यादवलाई राखिएको छ । यी तीनै जनामध्ये राजकिशोर यादव पार्टीमा वरिष्ठ हुन् । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य हुन् ।
राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर अहिले जनता समाजवादी पार्टी बनेको छ । एउटा पार्टीको नेतृत्व गरी सकेका व्यक्तिलाई अहिले सचेतरुपमा अपमानपूर्ण तरिकाले चौथो वरियतामा राखिएको जसपा नेपाल सिरहाका युवा नेता राजाराम यादवले आरोप लगाए ।
राजकिशोर यादव एउटा पार्टीका नेतृत्व गरिसकेको, सिरहाबाट प्रतिनिधिसभामा चुनाव जितेको तथा पूर्वसंघीय मन्त्री पनि हुन् । आफूभन्दा वरियतामा तल रहेका नेतालाई कार्यक्रममा सबैभन्दा माथि राखिएपछि यादव कार्यक्रममा सहभागी नहुने भएका छन् ।
जसपा नेपाल सिरहाका युवा नेता राजाराम यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गर्दै कार्यक्रममा वरियताक्रमको ख्याल नगरिएको गुनासो गरेका छन् । जिल्लाका एउटा संसद कार्यक्रममा सहभागी नहुँदा राम्रो सन्देश नजाने कुरा सनाएपछि जसपाका अध्यक्ष यादवले ‘के यो कार्यक्रममा सहभागी नभएर ओलीको कार्यक्रममा सहभागी हुने त ?’ भन्ने जवाफ दिएका छन् ।
दुईजना बीच भएको टेलिफोन संवाद रातोपाटीलाई प्राप्त भएको छ । संवादमा अध्यक्ष यादवले राजाराम यादवलाई कार्यक्रममा सहभागीका लागि पठाइएको नाममा कुनै वरियताक्रम नरहेको पनि स्पष्ट पारेका छन् । टेलिफोन संवादमा राजाराम यादवले राजकिशोर यादव कार्यक्रममा सहभागी नभए त्यसले राम्रो सन्देश नजाने पटक–पटक दोहोर्याएका छन् ।
‘प्रकाश अधिकारीको मधेश आन्दोलनमा कुनै योगदान छैन, जिल्लामा उनको कुनै चर्चा पनि छैन,’ राजारामले भनेका छन् । जवाफमा अध्यक्ष यादवले प्रकाश अधिकारीको योगदान मधेश आन्दोलनभन्दा पहिलादेखिको हो भनि जवाफ दिएका छन् । कार्यक्रममा कुनै वरियताक्रम नभएको र राजकिशोर यादव कार्यक्रममा सहभागी हुँदा राम्रो हुने अध्यक्ष यादवले भनेका छन् ।
यादवले चित्त बुझ्दो जवाफ नदिएपछि राजाराम यादवले ‘यो तरिकाले हुँदैन, डिक्टेटरसीपले पार्टी चल्दैन । तपाईं पार्टीको अध्यक्ष भए त के भयो तपाईको पनि विरोध हुन्छ,’ भनेका छन् । उनले यादवलाई पार्टीबाट नै कालो झण्डा देखाइने चेतावनी दिएका छन् । त्यसपछि उपेन्द्र यादवले ‘वकवास नगर्नुस् । पार्टीमा काम गर्नुछ भने गर्नुस्, नत्र भाग्नुस्’ भन्ने कडा जवाफ दिएका छन् ।
यस विषयमा जसपा नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा