बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिपी कोइराला सेवा केन्द्रद्वारा निःशुल्क प्राविधिक शिक्षा सञ्चालन

बिहीबार, ०१ माघ २०७७, २१ : ००
बिहीबार, ०१ माघ २०७७

मोरङ । मोरङको सुनवर्षी नगरपालिकाको डाइनियाँस्थित बिपी कोइराला सेवा केन्द्रले ग्रामीण क्षेत्रका युवायुवतीलाई प्राविधिक शिक्षामार्फत रोजगारी उपलब्ध गराउन पठनपाठन सञ्चालनमा ल्याएको छ । 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न, सिमान्कृत नागरिकको छोराछोरीलाई प्राथमिकता दिई प्राविधिक शिक्षामार्फत आफ्नो क्षेत्रमा रोजगारी प्राप्त गरी यस क्षेत्रको विकासमा सहभागी गराउने उद्देश्यले प्राविधिक शिक्षालयको व्यवस्था गरिएको सेवा केन्द्रका सचिव भोजराज कट्टेलले बताए । 
     
 नगरपालिका–९ स्थित डाइनियाँमा रहेको केन्द्रले आफ्नो तीन बिघा जग्गा रहेको भवनमा सिटिइभिटीमा सम्बन्धन प्राप्त गरी गत वर्षदेखि १८ महिने सिभिल सव ओभरसियर अध्यापन शुरु गरेको छ ।

नगरपालिकाकाले अनुदानमा दिएको रु ४० लाख र प्रदेश नं १ सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गनगाईले सांसद विकास कोषबाट उपलब्ध गराउनुभएको रु २८ लाखबाट प्राविधिक शिक्षा शुरु गरिएको हो ।

प्राविधिक शिक्षामा गत वर्ष ४० विद्यार्थी तथा यस वर्ष थप २५ जना गरी जम्मा ६५ जना छात्रछात्राले अध्ययन गरिरहेका छन् । अध्ययन गर्ने विद्यार्थीमा छात्राको सङ्ख्या ५० प्रतिशत छ भने विद्यार्थी अधिकांश ग्रामीण क्षेत्रका विपन्न, सिमान्कृत समुदायका रहेका छन् ।
    
विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सुनवर्षी, रतुवामाई, रङ्गेली नगरपालिका र जतुवा गाउँपालिका क्षेत्रमा बसोबास गर्ने छन् ।

प्रत्येक वर्ष ४० सिट रहेकामा १६ जना निःशुल्क छन् भने अन्यको न्यूनतम शुल्क रहे पनि सबैलाई चन्दा, अनुदान तथा जनप्रतिनिधिको सहयोगबाट शुल्कको भुक्तान गर्ने गरिएको केन्द्रले जनाएको छ ।

प्रदेश नं १ सरकारले केन्द्रमा थप प्राविधिक विषयमा अध्ययनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रु चार करोड ९५ लाखको बजेट स्वीकृत गरी आवश्यक भवन निर्माणका लागि ठेक्का स्वीकृत भई भवन निर्माणको कार्य प्रारम्भ हुने अवस्थामा रहेको सचिव कट्टेलले जानकारी दिए ।
    
केन्द्रले चालू आर्थिक वर्षमा डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि सिटिइभिटीबाट स्वीकृती अन्तिम चरणमा पुगेको जनाएको छ । यसैगरी रोजगारीउन्मुख तथा मुलुकमा धेरै माग रहेको डिप्लोमा इन सर्वे इञ्जिनीयरिङ(अमिन) विषय आगामी शैक्षिकसत्रदेखि सञ्चालनमा ल्याउने भएको छ । 

अध्ययनरत छात्रछात्राले केन्द्रमा गुणस्तरीय शिक्षा प्रदान भइरहेको, शिक्षक समयमा र दैनिक अध्यापन गराउनुका साथै हालसम्म आर्थिक समस्याका कारण शुल्क भुक्तानी गर्न नसकेको बताएका छन् ।
    
नयाँ शैक्षिकसत्रमा अध्ययनरत विद्यार्थीले अध्ययन शुरु गरेको तर अहिलेसम्म शुल्क नबुझाएको बताएका छन् । केन्द्रको बुधबार सम्पन्न आठौँ वार्षिक साधारणसभामा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले पारदर्शीरुपमा आर्थिक कार्य गर्न जोड दिँदै जनप्रतिनिधिलाई केन्द्रमा सहभागी विद्यार्थीलाई रोजगारीमूलक थप प्राविधिक शिक्षा उपलब्ध गराउन ध्यानाकर्षण गराए ।

सार्वजनिक लेखा समितिका सभापति गनगाईले पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कृषिको उत्पादन वृद्धि तथा रोजगार उपलब्ध शिक्षा मुलुकको आवश्यकता रहेको बताए ।
    
सुनवर्षी नगरपालिकाका कालिप्रसाद दासले किसान र गरीबका छोराछोरीलाई गुणस्तरीय शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले केन्द्रले थप प्राविधिक तथा स्वास्थ्य शिक्षातर्फ ध्यान दिन आग्रह गर्दै नगरपालिकामा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराराइरहेको जानकारी दिए ।

प्रदेशसभा सदस्य  शान्ता पौडेल, केन्द्रका  अध्यक्ष रामानन्द साह, उपाध्यक्ष नागेश्वरप्रसाद सिंह, कोषाध्यक्ष सुरेन्द्रप्रसाद सिंह, नेकाका यदु विष्ट र मदन सङ्ग्रौला, वडा नं ३ का अध्यक्ष टेकबहादुर विष्ट, सञ्चारकर्मी कुमोद अधिकारीले भवन निर्माणपश्चत् थप रोजगारमूलक प्राविधिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप