बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्रह्माण्डका तारामण्डल

बिहीबार, ०१ माघ २०७७, १७ : ४७
बिहीबार, ०१ माघ २०७७

भाइबहिनीहरू ! तिमीहरूलाई राति आकाशमा झिलिमिली तारा हेर्न खुबै मन पर्छ होला । आकाश सफा र खुला भएको रातको समयमा कहिलेकाहीँ आकाशका तारा गन्ने प्रयास गरेका छौ तिमीहरूले ? गनेका छैनौ भने ल अब कुनै रात तारा गनिहेर त, तिम्रो गन्ती कहाँसम्म पुग्छ ?

अन्दाजी कतिवटासम्म तारा गन्न भ्याइन्छ ? यससम्बन्धी विज्ञहरूका अनुसार नाङ्गो आँखाले बढीमा ३ हजार तारा गन्न सकिन्छ ।

नौ लाख तारा उदाए धरतीको आकाश हाँसेछ
शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ ।

पक्कै पनि यस गीतका गीतकारले गनेर नौ लाख सङ्ख्या पुर्याएका होइनन्, सायद पहिलाका मानिसका लागि नौ लाख सङ्ख्या एकदमै ठूलो हुन्थ्यो होला । तिमीहरूले एउटा भारतीय गीत सुनकै होला ।

मुझे नौ लखा मंगवा दे रे ओ सैंया दिवाने,
तुझे गले से लगा लुंगी ओ सैंया दिवाने ।

कुनै बेलाका महिलाहरूका लागि नौ लाख पर्ने हार नै सबैभन्दा अनमोल र मूल्यवान् हुन्थ्यो होला ।

तर आकाशमा रहेका ताराका लागि नौ लाखको सङ्ख्या ००००००००१. प्रतिशत पनि होइन । ब्रह्माण्डमा २०० अर्ब त आकाशगङ्गा नै छन् । प्रत्येक आकाशगङ्गामा २०० देखि ४०० अर्ब तारा छन् ।

राति आकाशमा तिमीले देख्ने सबैथोक तारा भने हुँदैनन् नि । पिलपिल र टिमटिम गर्ने तिमीले हेर्ने र तारा सम्झिने ती पिण्डहरू तारा हुनुका साथै ग्रह (क्षुद्र ग्रह, उपग्रह, उल्का पिण्ड, पुछ्रेतारा (कमेट) पनि हुन्छन् । तारा पनि कैयौँ प्रकारका हुन्छन् । तिमीलाई थाहा छ, पृथ्वीबाट नै राति आकाशमा देखिने विभिन्न खगोलीय पिण्डहरूको अध्ययन– अवलोकन गर्न सकिन्छ । पृथ्वीबाट आकाशका सम्पूर्ण तारा लगायत विभिन्न पिण्डहरूको सबै जानकारी तारामण्डल (Planetarium) मा गएर प्राप्त गर्न सकिन्छ ।

विद्यार्थीहरूका लागि तारामण्डलमा गएर तारा लगायत सम्पूर्ण आकाशको अवलोकन गर्नु अत्यन्त ज्ञानवर्द्धक हुन्छ । तर दुर्भाग्य हाम्रो देशमा न सरकारले न त निजी क्षेत्रले नै तारामण्डल बनाएका छन् । तिमीहरू विदेश भ्रमणमा गयौ भने तारामण्डलमा गएर रातको आकाशको मानचित्र हेर्न न छुटाउनू । आज म तिमीहरूलाई हाम्रो छिमेकी देश भारतका विभिन्न सहरहरूमा भएका तारा मण्डलबारे छोटो जानकारी दिँदैछु । तिमीहरूलाई यी सहरमा पुग्ने मौका पाइयो भने यहाँको तारामण्डल भ्रमण गर्न न बिर्सनू ।

बिरला तारामण्डल

Source: goibibo

कोलकातास्थित यो तारामण्डल विश्वकै दोस्रो तथा एसियाको ठूलो तारामण्डल हो । यो स्तूप आकारमा बनाइएको छ । यहाँ विभिन्न खाले टेलिस्कोप र खगोलशास्त्र विषयक थुप्रै जानकारी लिनसकिने व्यवस्था छ ।

नेहरू तारामण्डल

Source: wikimapia

मुम्बईको बर्ली क्षेत्रस्थित यो तारामण्डल भवन गुम्बद शैलीमा बनाइएको छ । यहाँ विद्यार्थीलाई खगोल विज्ञानसम्बन्धी थुप्रै जानकारी गराइन्छ ।

बिरला तारामण्डल, चेन्नई

Source: dtnext

चेन्नईमा रहेको यो तारामण्डल भारतको आधुनिकतम तारामण्डल हो । यहाँ ३६० डिग्री ‘स्काई थिएटर’ रहेको छ । यहाँ थिएटरमा ‘स्पेसल इफेक्टस’ देखाउने प्रविधि उपलब्ध छ ।

अहमदाबाद तारामण्डल

Source: welcometogujarat

गुजरात राज्यको अहमदाबाद सहरमा बनाइएको ‘साइन्स सिटी’मा यो तारामण्डल बनाइएको छ । यहाँ पृथ्वीको ‘रिप्लिका’, ‘हल अफ स्पेस’ र ‘इनर्जी पार्क’ पनि रहेका छन् ।

पटना तारामण्डल

Source: archnet

बिहारको राजधानी पटनास्थित इन्दिरा गान्धी विज्ञान परिसरमा रहेको यस तारामण्डलको गणना भारतका ठूला तारामण्डलमा हुनेगर्छ । यहाँ अन्तरिक्ष विषयक विविध फिल्म देखाइन्छ ।

कुसुमबाई मोतीचन्द तारामण्डल

Source: walkthroughindia

महाराष्ट्र राज्यको पुणे सहरस्थित यो नै भारतको पहिलो तारामण्डल हो । यसको निर्माण सन् १९५४ मा भएको थियो । यसलाई एसियाकै पहिलो ‘प्रोजेक्सन प्लेनेटेरियम’ को दर्ता प्राप्त छ ।

प्रियदर्शनी तारामण्डल

Source: keralatourism

केरलाको राजधानी तिरुवन्नतपुरमस्थित ‘साइन्स एन्ड टेक्नोलोजी म्युजियम’मा रहेको यस तारामण्डलमा ‘नाइट स्काई अवजरभेसन’ र ‘मोबाइल एस्ट्रोनोमी’बारे पनि जानकारी गराइन्छ ।

गुवाहाटी तारामण्डल

Source: holidify

असम राज्यको राजधानी गुवाहाटीस्थित यो तारामण्डल ‘हाइब्रिड प्लेनेटेरियम प्रोजेक्सन सिस्टम’ प्रविधियुक्त रहेको छ ।

स्वामी विवेकानन्द तारामण्डल

Source: dailyhunt

कर्नाटक राज्यको मङ्गलौर (मङ्गलुरु) सहरमा रहेको यो भारतको पहिलो ‘थ्रिडी प्लेनेटेरियम’ हो । यस तारामण्डलमा ‘८ के डिजिटल’ र अटो मेकानिकल प्रोजेक्सन सिस्टम प्रविधि रहेको छ ।

अन्ना तारामण्डल

Source: aplf

तमिलनाडु राज्यको तिरुचिरापल्लीस्थित अन्ना विज्ञान केन्द्रमा रहेको यस तारामण्डलमा टेलिस्कोप प्रयोग गर्ने सुविधा पनि रहेको छ । यस तारामण्डलबाट रात्रिकालीन चन्द्रमा र अन्य खगोलीय पिण्डहरूलाई अवलोकन गर्न सकिन्छ ।

तिमीले भारत यात्रा गर्दा यी सहर पुग्ने मौका मिल्छ भने तारामण्डल भ्रमण गर्न नछुटाउनू ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप