शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना बीमामा साढे २ अर्ब भुक्तानी, आधा बीमित अझै लाइनमा

बिहीबार, ०१ माघ २०७७, १३ : ५४
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । कोरोना बीमाको मागदाबी भुक्तानीका लागि साढे २ अर्ब खर्च भएको छ । पुस मसान्तसम्म बीमा पुल व्यवस्थापकले बीमितलाई २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको बीमा समितिले जनाएको छ । समितिका अनुसार यो रकम २५ हजार ३ सय १३ जनाले पाएका छन् । 

हालसम्म ५१ हजार ७ सय १७ जनाले भुक्तानीका लागि मागदाबी गरेका छन् । त्यसमध्ये हालसम्म आधा भन्दा कम बीमितले मात्रै भुक्तानी पाउँदा सो बराबरको रकम खर्च भएको हो । कुल मागदाबी र भुक्तानीको आधारमा सो बीमाका लागि ५ अर्बभन्दा बढी खर्च लाग्ने देखिएको छ । 

कोरोना बीमाकोे भुक्तानीका लागि करिब ४ अर्बसम्मको भुक्तानी मात्रै सरकारको अनुदानबिना सम्भव हुन्छ । २० वटा निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी समेत गरी यो बीमाको भुक्तानीका लागि २ अर्ब रुपैयाँ जुटाउने सहमति गरिएको थियो । यो रकम संकलित प्रिमियम रकम समेतको हो । हालसम्म यो सबै भुक्तानी भइसकेको छ । महाविपत्ति कोषमा भएको रकम समेत खर्च भएर सकिने अवस्थामा पुगेको छ । 
भुक्तानीका लागि अब सरकारको भर !

कोरोना बीमाको दाबी भुक्तानीका लागि निजी क्षेत्रबाट प्राप्त हुने स्रोत सकिने चरणमा पुगिसकेको छ । अब गर्ने भुक्तानीका लागि सरकारी स्रोतकै प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ । 
पहिलो १ अर्बका लागि बीमा समितिले बीमा कम्पनीले बीमा शुल्कबापत संकलन गरेको रकमको रोयल्टीस्वरुप जम्मा भएको कोषबाट खर्च गर्ने व्यवस्था गरेको छ । यो रकम समेत गरी पौने ४ अर्ब रुपैंया बराबरको रकम जुट्ने बीमा समितिको अनुमान छ । अहिलेको मागदाबी अनुसार त्यति रकमले पुग्ने अवस्था नभएकोले दाबी भुक्तानीका लागि सरकारकै भर पर्नुपर्ने अवस्था आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप