बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरको दादागिरीः बिरामीको जीवनमाथि नै खेलवाड (भिडियोरिर्पोट)

बुधबार, ११ असोज २०७४, १७ : ३४
बुधबार, ११ असोज २०७४

काठमाडौं– काठमाडौंको मीनभवनमा रहेको सिभिल अस्पतालको मुख्य ढोका बन्द छ । ढोकामा नेपाल मेडिकल एसोसियसनको लेटर हेडमा २ वटा पत्र टाँसिएको छ । पत्रमा सरकारले अस्पताल र उपचार सेवा नियमन गर्न ल्याउन खोजेको कानुन चिकित्सक विरोधी रहेको भन्दै सम्पूर्ण स्वास्थ्य संस्था ठप्प पार्न निर्देशन दिइएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीलाई अस्पताल बन्द छ भन्दै गेटबाट सुरक्षा गार्डहरुले फर्काइरहेका छन् ।  

अस्पतालमा उपचारका क्रममा हुने चिकित्सकको लापरवाही नियमन गर्न सरकारले कानुन बनाउँने प्रक्रिया थाल्न खोज्नेबित्तिकै चिकित्सकहरुले अस्पताल बन्द गराउँदा बिरामीहरु मारमा परेका हुन् । गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भइरहेको भन्दै त्यसको क्षतिपूर्ति डाक्टरले बेहोर्नुपर्ने सम्बन्धी कानुनको ड्राफ्ट बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यस लगतै चिकित्सकहरुको संस्था नेपाल मेडिकल एशोसिएसनले ७२ घन्टे अल्टिमेटम दिँदै आन्दोलन गर्ने बताए । 

गत असोज ६ गतेदेखि उनीहरुले आफ्नो माग पूरा नभएसम्म देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङ्होम, क्लिनिक लगायतका स्वास्थ्य संस्थामा आकस्मिक लगायतका सम्पूर्ण सेवा बन्द ग¥यो । झण्डै एकसातासम्म देशैभरका अस्पतालमा सेवा ठप्प छ । नेपाल चिकित्सक संघले दशैंकाबेला पनि स्वास्थ्य संस्था बन्दको कार्यक्रम फिर्ता लिएका छैनन्, जसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामीहरु उपचार नपाई फर्किरहेका छन् । 

अस्पतालमा डाक्टर नै छैनन्: बिरामी अलपत्र  

आन्दोलनको नाममा चिकित्सकले अस्पताल बन्द गरेपछि बिरामी अलपत्र परेका छन् । बिरामीले उपचार गराउन पाएका छैनन् भने भर्ना भएर उपचार सकेका बिरामी पनि चिकित्सकको अभावमा डिस्चार्ज हुन नसकेको पाइएको छ । 

काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरेर उपचार गराएका झापाका गौरीकान्त पराजुली चिकित्सक अभावमा डिस्चार्ज भएका छैनन् । बुधबार दिँउसो उनका छोरा लोकनाथ पराजुली डाक्टर नहुँदा डिस्चार्ज नभएको भन्दै अस्पताल परिसरमा गुनासो गर्दै थिए । तीन दिनअघि उनका बुवाको अस्पतालमा भर्ना गरिएको थियो । उनले भने–‘उनीहरुको माग के हो, बिरामीलाई समय समयमा हेर्ने गरेका छैनन् ।’ 

उनीसँगै रहेका भक्तपुरका एक बिरामी कुरुवाले डाक्टरको आन्दोलनबाट बिरामीले दुःख पाएको बताए । आन्दोलन गरेको भन्दै भक्तपुरको मृगौला प्रत्यारोपण अस्पतालमा पनि डाक्टर नआउँदा  बिरामी आफन्त समस्यामा परेको उनले बताए ।  

उपचारका लागि गएका बिरामीलाई सिभिल अस्पतालमा तैथान नवदुर्गा सेक्युरीटी कम्पनीका गार्डहरुले गेटबाटै अस्पताल बन्द छ भनेर फर्काइदिने गरेका छन् । उनीहरुले अस्पतालमा पुगेका सञ्चारकर्मीहरुलाई समेत डाक्टरको अन्दोलनको समयमा अस्पताल हाताभित्र प्रवेश निषेध रहेको भन्दै दुब्र्यवहार गर्ने गरेका छन् । 
यता, काठमाडौंको वीर अस्पतालमा ओपीडी सेवा ठप्प थियो भने इमर्जेन्सी सेवामा  बिरामीको उपस्थिति बाक्लो देखिन्थ्यो । वीरमा ओपीडी बन्द भएपनि अस्पताल भित्रका फार्मेसी भने खुलेका थिए । 

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १२ पटक सम्म अनसन बसिसकेका प्रा.डा.कार्यरत त्रिवि शिक्षण अस्पतालको ओपीडी सेवा पनि ठप्प छ । उल्टै स्वास्थ्य बन्द गर्ने आन्दोलनलाई स्वयं केसीले साथ दिइरहेका छन् ।  

डाक्टरको मागको मारमा बिरामी

चिकित्सकले आफ्नो माग पूरा गराउने नाममा अस्पताल बन्द गर्नु अमानवीय भएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । मन्त्रिपरिषलले गरेको निर्णयबाट सरकारपछि हटिसकेको बेला पनि चिकित्सकहरुले स्वास्थ्य सेवा ठप्प पार्दा संविधानले दिएको बिरामीको स्वास्थ्य सम्बन्धी हकको अवमूल्यन भएको प्रति सर्वत्र चिन्ता ब्यक्त गरिएको छ । दशैंकोबेला समेत उनीहरुले आन्दोलन जारी राख्ने भन्दै सरकारले अस्पताल नियमनका लागि ल्याउन खोजेको कानुनको बिरोध गरेका छन् । 

हेर्नुहोस भिडियो:


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप