शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा भवनमा प्रचण्ड-नेपाल भर्सेस ओली : प्रचण्ड-नेपालले पनि ओकले आगो

बुधबार, २९ पुस २०७७, २१ : ०४
बुधबार, २९ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी ओलीमाथि आगो ओकलेको छ । प्रचण्ड–माधव पक्षद्वारा आयोजित काठमाडौं जिल्ला कार्यकर्ता भेलामा अध्यक्षद्वा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनको अधिकांश समय ओलीमाथि खनिएका थिए ।

कार्यक्रममा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पनि ओलीमाथि आक्रोश पोखिन् । २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गरेको स्थान प्रज्ञा भवनबाट ओलीलाई कम्युनिस्ट आन्दोलनबाट जन्मिएको गद्दारको संज्ञा दिइयो । 

त्यही स्थानबाट  १८ पसमा ओलीले पूर्वसहकर्मी प्रचण्ड र माधव नेपाललाई  खिया लागेको नटबोल्ड, कुहिएको फलसँग दाँजेका थिए । यस्तै प्रचण्ड र नेपाललाई भेट्न कुहिएर झरेको दुइटा फलका रुपमा संज्ञा दिएका थिए  । र, ओलीले प्रचण्ड र माधव नेपाल समूहले गरेको आन्दोलनलाई रत्नपार्कमा औषधि बेच्नेसँग तुलना गरेका थिए ।

 


दुवै समूहको भेलामा नेताहरुले पूर्वसहकर्मीमाथि आगो ओकल्दा प्रमुख विपक्षी नेपाली काँग्रेसले कुनै आरोपको खेप्नु परेन । तर एउटै पार्टीमा करिब साढे चार दशकदेखि अन्तरसंघर्ष र सहकार्य गर्दै हिँडेका ओलीमाथि नेपालको आक्रोश कम थिएन ।

प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सम्बोधनको सुरुमै ओलीको राजनीतिक चरित्रमाथि प्रश्न उठाए । ओली एकदिन निरीह भएको देख्न सकिने नेपालको भनाइ थियो । ‘केपी ओलीका कदमका विरुद्धमा, संविधान माथिको घातको विरुद्धमा सबै एकातिर उभिएका छन् । उहाँ सबै हिसाबले एक्लिनुभएको छ । प्रायः तानाशाहहरु यसरी नै एक्लिन्छन् । अन्तिममा निरीह बन्छन् । केपी ओली निरीह भएको पाउनुहुन्छ’, नेपालले भने । 

ओली गुट कम्युनिस्ट सोंच र संस्कृति नभएको ‘सडकछाप’ पार्टी भएको नेपालको आरोप थियो ।  ‘डमरू बजाउँदै, टिकट बाँड्दै हुनुहुन्छ । केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ,’ नेपालले भने, ‘सुन्दैछु, २५०० केन्द्रीय सदस्य पुग्यो, कम्तीमा पनि त्यो पाँच हजार पुग्छ ।’ 

तर, ओलीलाई छोड्नेहरुको संख्या बढ्दै गएको उनले बताए । ‘अब त्यो पार्टी पौवा, सडक पनि होइन, धुलोमा परिणत हुँदैछ । केपी ओलीको ‘सडकछाप’ पार्टीमा को–को जान्छन्, हेर्नुछ’ उनले भने । अहिले ओली समूहमा ११८ जना केन्द्रीय सदस्य रहेको बताए । पार्टी एकता हुँदाका ४४१ मध्ये अहिले ओलीतिर उभिएकाहरुको संख्या लगातार घटिरहेको नेपालको दाबी छ । 

प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको नेपालको आरोप छ । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको भन्दै नेपालले मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरुमार्फत सरकार चलाउन थालेको बताए । 

बा प्रवृतिबाट केपी ओली एकदिन नांगै हुने अवस्था आउने नेपाले बताए । ‘एउटा राजा नांगै हिँडेछ । कसैले नांगो भन्न सक्दैन । सत्य भन्यो भने मारिहाल्छ । राजा बाहिर निस्केछ । मान्छेहरु खासखुस मात्रै गर्छन् । तर, एउटा साँचो कुरा बोल्ने अवोध बालकले भनेछन्, राजा नांगै छन् । त्यसपछि सबैले राजा नांगै छन् भने । केपी ओली पनि एकदिन त्यसरी नै नांगै हुनेछन्,’ नेपालले भने । 

ओलीविरुद्धको लडाइँ संविधान जोगाउने र लोकतन्त्रलाई रक्षा गर्नु रहेको उनले बताए । ‘केपी ओलीलाई देशको संविधान र पार्टीको विधानसँग कुनै मतलब छैन । मै हुँ भन्ने अहंकार छ । आएम द स्टेट ।’

उनले ओलीले मदन भण्डारी फाउन्डेशनमार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै सुरु गरेको बताए । पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफूहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाइ छ ।

ओलीलाई विध्वंसकारी मान्छे र कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गर्दै झापादेखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्यामात्रै खडा गरेको नेपालको आरोप  छ । यस्तै प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उखानटुक्काले हसाउने केपी ओली पोलिटिकल जोकर भएको बताए । 

तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेको भन्दै उनले भने, ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?  हामी उखानटुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं । मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यत्ति ठूलो परिवर्तनमाथि प्रहार भएको छ । हामीले स्थापित गरेका परिवर्तनमा मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’

केपी ओलीको कुरा भाषण सुनेर लाज लाग्ने अवस्था आएको उनको भनाइ छ । ‘बडो अनौठो लाग्छ कहिलेकाहीं । उहाँले एक ठाउँ बोल्दा हामीलाई भगौडा भन्नु भएछ । सुन्न पनि कान के थुन्नु पर्ने, आँखा देखिन्छ के आँखा छोप्नु, लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय समितिको सदस्य भगौडा रे । ३० प्रतिशत पनि भएको रैथाने । यस्तो पनि हुन्छ ?,’ प्रचण्डले प्रश्न गरे, ‘केपी ओलीको दिमागमा बाहेक यस्तो अन्त हुन्न । जहिले पनि बैठकबाट भाग्ने उहाँ । पछिल्लो बैठक हामी जो बस्यौं त्यो केपी ओली समेतको सहमतिसहितको बैठक हो । त्यो बैठक छोडेर, विधान मिचेर, तानाशाही रुपमा पार्टीलाई लात हानेर हिँड्ने भगौडा नहुने, लाजघिन भन्ने मानिसमा हुनुपर्छ ।’

यस्तै उनले पार्टीको आधिकारिता र चुनाव चिन्ह सुर्य आफूहरुकै हुने दाबी गरे । प्रचण्डले भने, निर्वाचन आयोगले संविधान पार्टी विधान अनुसार हुन्छ । पार्टीको आधिकारिता र चुनाव चिन्ह सुर्य हाम्रो हुने छ । त्यसो भएन भने यहाँ आधिहुरी आउँछ । यहाँ कोही चुप लागेर बस्ने छैन । जोक्कर जस्तो केपी ओलीसँग कोही हुने छैन ।

पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको दाबीलाई खण्डन गर्दै प्रचण्डले काम गर्न नदिएको प्रमाण दिन चुनौती दिए । ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’

उनले पार्टी विधान व्यक्तिलाई सर्वेसर्वा नभनेर बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भनेर प्रस्ट रहेको बताए। एकै दिनको फरक फरक समयमा बामदेव गौतम र माधव कुमार नेपाललाई अबको अध्यक्ष तपाई हो है भन्दै आश्वासन दिएको स्मरण गरे।

सोही दिन नै पूर्व एमालेमा नेता नै नभएर ‘तपाईलाई’ ल्याएको भन्दै आफूलाई भन्ने गरेको समेत प्रचण्डले बताए । अहिले पार्टीमा माधव नेपाल र आफू एकै अध्यक्ष भएको उनको भनाइ छ ।  उनले भने, हामी अहिले एकै अध्यक्ष छौँ । मिल्नेको कुरा अर्को हुन्छ । अहिले माधवजीले  बैठकको अध्यक्षता गर्नुभएकाले कार्यक्रमम प्रमुख अथिती हुनुहन्छ ।'

यस्तै नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताइन् ।  ‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु । उहाँ प्रतिगमनकारी हो । तानाशाही हो, स्वेच्छाचारी हो । उहाँले गणतन्त्रलाई धावा बोल्यो । हामीले दुःख गरेर ल्याएको संविधानमा धावा बोले । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको छ । आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?,’ शाक्यले भनिन् ।

प्रधानमन्त्री ओलीले निम्त्याएको प्रतिगमन सडकबाट सच्याउने उद्घोष शाक्यको थियो । शाक्यले प्रतिगमन सच्याउने सँगै ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन् । ‘हिजो पनि निरंकुशविरुद्ध लडेका हौं । शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो । अब केपी ओली तानाशाहले पनि घुँडा टेक्नुपर्छ’, उनले भनिन् ।

शाक्यले ओलीलाई गद्दार र तानाशाहको संज्ञा दिएकी थिइन् । ‘गद्दार र तानाशाह पनि जन्मदो रहेछ कम्युनिस्ट पार्टीमा । अब हामीले यसबाट पाठ सिक्नुपर्छ’, शाक्यले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप