शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परदेशीको दशैँ : दशैँको तिथिलाई बिदाअनुसार अघिपछि पार्नुपर्ने बाध्यता

बुधबार, ११ असोज २०७४, ११ : ०१
बुधबार, ११ असोज २०७४

सहरमा हुनेहरू दशैँका लागि आफ्नो घर फर्किसकेका छन् । परदेश हुनेहरू जसले बिदा पाए उनीहरू स्वदेश फर्किसके । बजार सुनसान छन् । गाउँहरू उल्लासमय छन् । पिङहरू टाँगिएका छन् । बच्चाहरूले चङ्गा उडाइरहेका छन् । 

तर स्वदेश फर्कन नपाएकाहरूले परदेशमा दशैँ कसरी मनाउने गरिरहेका छन् ? वा उनीहरूले पर्वमा मनलाई शान्त पार्ने उपाय के गर्दैछन् ? रातोपाटी अनलाइनले रोजगारीका लागि विदेशिएका केही नेपालीको अनुभूति सङ्कलन गरेको छ । 

दशैँको तिथिलाई बिदाअनुसार अघिपछि पार्नुपर्ने बाध्यता छ 
मधुसुदन ओझा, दक्षिण कोरिया 
 

प्रवासमा बस्ने हामी नेपालीलाई चाडपर्व आउदा विशेष गरि आफ्नो देश, आफ्नो समाज, इष्ट मित्रजन र घरपरिवार  साथ नहुँदा खल्लो महसुस हुन्छ । विशेषगरी कोरियामा काममा बढी व्यस्त भइने हुनाले हाम्रो समुदायको चाडपर्व परेको दिन कोरियाको सार्वजनिक बिदा परेन भने काम गर्नुपर्ने हुन्छ । दिनभरि अनेकौँ कुराहरू मनमा खेलिरहन्छन् । सायद नेपालमा भएको भए हामी पनि परिवारसँगै रमाइलो  गरिराखेका हुन्थ्यौँ होला । 

काम गर्नैपर्ने बाध्यता भए पनि  घरपरिवारको फोन आयो भने आज बिदा छ, यसो साथी भाइसँग रमाइलो गर्न बाहिर निस्केको भनी झुठो बोल्नुपर्ने पनि हुन्छ । परिवारलाई मन राख्नुपर्ने पनि हुन्छ । अहिले  हाम्रो मुख्य चाड दशैँ नजिकिँदै गर्दा नेपालमा भने अनेकन तयारी भए पनि विदेशमा साथीभाइ मिलेर रमाइलो गरौँ भन्दा पनि  दशैँ आउनुभन्दा पहिले कुनै बिदा मिलाउनुपर्ने हुन्छ । दशैँको तिथि सरकारी बिदाअनुसार तय गर्नुपर्छ । यसो गर्दा केहीबेर  भए पनि साथीहरूसँग हुन्छ ।  आफन्तजन, घरपरिवारसित छुट्निुको  पीडा अलि कम हुन्छ । 

विदेशमै जन्मेका वा हुर्कंदै गरेका नेपाली बच्चाहरूका लागि दशैँ विशेष हुन्छ 
प्रभात खनाल, नर्वे 
उसो त विदेशमा रहेका नेपालीहरूलाई सबैभन्दा बढी कुनै बेला नेपाल सम्झना  हुन्छ भने त्यो चाडपर्वको बेला नै हो । आफ्नो काम, पढाइ या अन्य रोजगारीका लागि विदेशमा रहेका नेपालीहरू जब चाडपर्वको बेला आउँछ, तब घरपरिवारको याद, गाउँको सम्झना, बाल्यकालदेखिको समय  टीका, जमरा, दक्षिणा आदि चीजहरू मानसपटलमा सल्बलाइरहन्छन् । त्यो दशैँको सम्झनालाई विदेशमा समेत ताजा गराउने अभिलाषाले विभिन्न प्रकारका कार्यक्रमहरू भइरहन्छन् ।  डेनमार्कमा दशैँ आयो डान्स पार्टी कार्यक्रम नै सञ्चालन गरियो भने नर्बेमा दशैँका लागि  नेपालीहरू बीच  भलिबल प्रतियोगिता गरियो । 

आफ्नो काम वा पढाइको बाध्यताले दशैँका नौँ दिनमा जुन समय बिदा मिलेको हुन्छ,  सोही दिन  आफन्तजनहरू, चिनजानको साथीहरूबीच नेपालकै पारामा दशैँ मनाइन्छन् । विशेषगरी विदेशमै जन्मेका वा हुर्कंदै गरेका नेपाली बालबच्चाहरूका लागि दशैँ नेपाललाई नजिकबाट नियाल्ने एउटा सुनौलो अवसर पनि हुनसक्छ । विदेशमा दशैँ मनाउने जस्तासुकै बहना वा रूपहरू किन नहुन् तर सायद नेपाली गाउँठाउँको माया, आफन्तहरूको भेट अनि लिङ्गेपिङ, साथीहरूसँगको सम्झना बढी आउने गर्छ ।  नेपालको त्यो असली दशैँ र मौसम सायद आगामी धेरै वर्षसम्म विदेशका नेपालीहरूको मात्र विगतको याद वा भविष्यको कल्पना बनेर मानसपटलमा गुन्जिहिरहनेछन् ।

परदेशमा नानीबाबुहरूलाई  संस्कृतिको अवगत गराउने दायित्व हुन्छ  
दामोदर सुवेदी, पोर्चुगल 

आठ वर्ष भएछ विदेशिएको पनि । भौतिक शरीर परदेशमा रहे पनि मन भने गाउँघर, उकाली आरोली, भञ्ज्याङ डाँडाकाँडामा घुमिरहेको छ । विशेषगरी पर्वहरूमा मनलाई भुलाउन मुस्किल हुन्छ । दशैँको समय कोदाली बोकेर  बाटो सफा गर्न हिँडेको, सबै गाउँलेहरूलाई उर्दी जारी गरेर बाटो खन्न लागिपरेको खुबै सम्झना आउँछ । 

रोटेपिङ बनाएको, मच्चीमच्ची खेलेको, परदेशबाट फर्कनेहरूले विदेशको भोगाइ भेटघाटमा बताएको सम्झना ताजा हुन्छ । घरको रङ्गरोगन, मामाघरको दक्षिणा अरू नर्बिसने विषय हुन् । 

स्वदेशमा पर्वहरूको तांती लागेको अवस्थामा परदेशको काम र वोझले वाक्क बनाएको हुन्छ । आफ्नो संस्कृति र परम्परा रक्षाको लागि नानी वावुहरूलाई पर्वहरूको जानकारी गराउने दायित्व पनि सम्झिएको हुन्छ । विदाको समयमा नेपालीहरू भेटेर टिका ग्रहण गर्ने तथा आर्शीवाद थाप्ने गरिन्छ । नेपाली संघसंस्थाले गरेका कार्यक्रहरू मार्फत मनलाई शान्त पार्ने गरिन्छ । 

विदेशमा रमाइलो गरे पनि आफन्तसँग नहँुदा खल्लो लाग्छ 
यम श्रेष्ठ, दक्षिण कोरिया 

नेपालमा हुँदा दशैँमा नयाँ लुगा लगाउने, आफूभन्दा ठूलाबडाको हातबाट टीका थाप्दै आशीष र दक्षिणा लिने र साथीहरूसँग मिलेर पिङ खेल्न प्रचलन थियो । दशैँ भन्नासाथ छुट्टै किसिमको उमङ्ग मनमा आउँथ्यो । अहिले करिब आठ  वर्षदेखि कोरियामै दशैँ मनाउँदै आएको छु । केही वर्षयता परम्पराअनुसार आफैले जमरा राख्ने गरेको छु ।  

सहकर्मी मित्र र साथीभाइहरू जमघट भएर बिदाको दिन पारेर टीका जमरा लगाउने र रमाइलो गर्दै परदेशमा दशैँ मनाउँदै आएका छौँ ।

कोरियामा विभिन्न सङ्घसंस्थाले आयोजना गरेको दशैँ कार्यक्रममा सामूहिक दशैँ पनि मनाउँछौ ।  यसपालिको दशैँमा पनि पहिलेझैँ इष्टमित्र साथीभाइ जम्मा भएर टीका जमरा लगाउने, मिष्ठान्न भोजन बनाएर खाने र रमाइलो अविश्मरणीय तवरले दशैँ मनाउने योजना छ ।  दशैँको रमझम देख्दा र नेपालमा विगतमा घरपरिवार र आफन्तहरूको आशीर्वाद लिएर मनाएको सम्झँदा नेपाल फर्कन मन लाग्छ । तर भनेको बेलामा कम्पनीबाट छुट्टी नमिल्ने भएकाले गर्दा यस पटकको दशँैमा पनि घर जान नपाउने भएँ । 

विदेशमा जसोतसो जे जसरी सकिन्छ, त्यसरी मन बुझाउन आफ्नो मौलिक पर्वको निरन्तरताका लागि सबै नजिकका साथीभाइ जुटेर वर्षभरिको दुःख पीडा भुलाउन आफ्नो संस्कृति र चाड  मनाएर खुशी बाँड्छौँ ।

हामीले विदेशमा जतिसुकै रमाइलो गरेर मनाए पनि आफ्नो परिवार आफन्त साथमा नहुँदा भने खल्लो आभास हुन्छ  । घरपरिवार, आफन्त र साथीभाइ सबैलाई धेरै मिस गरिरहेका हुन्छौँ ।

कोरियालगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको भाग्य चम्कियोस, सुख, समृद्धि फैलियोस्, शान्ति छाओस्, स्वस्थ जीवन रहोस्  खुसियाली होस् र माता दुर्गाको आशीर्वाद सबैलाई सदा रहिरहोस् । मेरो तर्फबाट सबैजनालाई बडा दशैँको हार्दिक मङ्गलमय शुभकामना ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप