शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा मनाइयो पृथ्वी जयन्ती

सोमबार, २७ पुस २०७७, ०८ : ५६
सोमबार, २७ पुस २०७७


लन्डन । बेलायतकै पूरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले आइतबार २९९ औं पृथ्वी जयन्ती मनाएको छ । एसोसियसनका अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भर्चुअल माध्यमबाट मनाइएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले पृथ्वी जयन्ती कसैको कर वा रहरले नभइ यतीले शुरुदेखि नै राष्ट्रिय दिवस मनाउन थालेको बताए । सबैलाई एक सूत्रमा बाँध्न सफल पृथ्वी नारायण शाहकै कारण अहिले नेपाली भनेर शीर ठाडो गर्न पाइएको केसीले उल्लेख गरे ।

कार्यक्रमकी प्रमुख अतिथी एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राईले राष्ट्रिय एकता दिवस फुटेर होइन, जुटेर अनेकतामा एकता सन्देश प्रवाह गर्ने दिन भएको बताउंदै स्वदेश तथा विदेश जहाँ भएपनि विभिन्न बहानामा विभाजित हुन नहुने बताइन् ।

वरिष्ठ सञ्चारकर्मी एवम् यती एसोसिएसनका पूर्व अध्यक्ष खगेन्द्र नेपालीले पृथ्वी नारायण शाहको सन्देश भूराजनीतिक परिवेशमा अहिले पनि सान्दर्भिक रहेको बताए । साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाहले देश चार जात छत्तीस वर्णको फूलबारी हो भन्ने शाहले सबैको अस्तित्व कायम राखेको जनाए । उनलाई राजनीतिक वाद, पार्टी वा भेदभावभन्दा माथि राखेर राष्ट्र निर्माणकर्ताका रुपमा हेरिनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा वक्ताहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाह एक दुरदर्शी युगपुरुष भएको स्मरण गर्दै अहिले समाज र देश विभक्त भइरहँदा उनको सन्देश झन् सान्दर्भिक भएको बताए । देशको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि शाहको उल्लेखनीय योगदान रहेको वक्ताहरुले सम्झिए । यती पूर्व अध्यक्ष उमेशराज मोक्तानले नेपाल सरकारले सार्वजनिक बिदा दिएरै सबैले पृथ्वी जयन्ती मनाउनुपर्छ भन्नेमा जोड दिए ।

यती महासचिव मुकुन्द बास्तोलाले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, कोसेली नेपाली सांस्कृतिक परिवारकी अध्यक्ष शर्मिला सिंह, एनसीआइ ग्रुपका अध्यक्ष मोहन गुरुङ, एनआरएनए आइसीसी सदस्य ललित न्यौपाने, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री, यती पूर्व अध्यक्ष चिरन्जिवी ढकाल, नेपाली साहित्य विकास परिषद यूकेका पूर्व अध्यक्ष हरिसिंह थापालगायतले आ–आफ्नो धारणा राखे ।

नेपाली साहित्य विकास परिषद यूकेका कोमल मल्ल श्रेष्ठले ‘मेरो देश’ शीर्षकको काव्यिक श्रद्धासुमन वाचन गरेका थिए ।

कार्यक्रममा यती उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराई, पूर्व उपाध्यक्ष शेर सुनार, यती उपाध्यक्ष जीवन सेन, सचिव जीत रानाभाट, हङकङ नेपाली मन्च यूकेका अध्यक्ष ह्यारी गुरुङ, ज्ञानेन्द्र राउत, आनन्द धरेल लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप