शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैंबिदामा घुम्न जाँदै हुनुहुन्छ ? जानुअघि यी कुरामा ध्यान दिनूस्

मङ्गलबार, १० असोज २०७४, १० : १२
मङ्गलबार, १० असोज २०७४

घुमघाममा निस्कनु भनेको मनोरञ्जनमात्रै होइन, आफू बसेको समाजमा कस्ता÷कस्ता मानिस बस्दारहेछन् ? उसलाई असर पार्ने कुरा के÷के रहेछन् ? तिनको हालखबर के रहेछ भनेर बुझ्ने अवसर पनि हो । 

दुःखमा पनि आनन्द लिनु भनेको घुमघाम नै हो । हिँड्दाहिँड्दा शरीर थाके पनि मन आनन्दित हुन्छ । यो घुमघामको विशेषता हो । पत्रकार मोहन मैनाली भन्छन्, ‘अन्य दुखाइमा मन पनि दुख्छ । तर, घुमघाममा त्यस्तो हुँदैन ।’

दसैंबिदामा तपाईं पनि घुमघाममा निस्कँदै हुनुहुन्छ भने उल्लिखित कुरामा ध्यान दिनुपर्छ । तपाईं हिँड्न सक्ने कि नसक्नेमा पर्नुहुन्छ पहिचान गर्नुहोस् । हिँड्न नसक्ने हो भने त्यहीअनुसारको ठाउँ जान उत्तम हुन्छ । 

‘हिँड्न नसक्नेका लागि तराईतिर जाँदा उपयुक्त हुन्छ,’ पत्रकार मैनाली सुझाउँछन्, ‘जस्तै, चितवन राष्ट्रिय निकुञ्ज, कोसीटप्पु । चराको सिजन सुरु नभए पनि कोसीटप्पुबाट हिजोआज मकालु हिमालको लोभलाग्दो दृश्य अवलोकन गर्न सकिन्छ ।’

पूर्वतिरै रहेका वा काठमाडौंबाट घुम्न पूर्व जानेलाई मोरङको बेतना सिमसार उपयोगी मानिन्छ । अलि माथि चढे राजारानीपोखरी छँदै छ । अलि उता लागे झापाको सुरुंगामा रहेको जामुनदहको वन्यजन्तु हेरेर रमाउन सकिन्छ । पूर्वतिर घुम्न निस्कँदा धनकुटाको राजारानीताल र धजेडाँडा नपुगे यात्रा अधुरो रहन्छ ।

काठमाडौंमै रहनेका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्न उपयुक्त ठाउँ हो । मधेसकै ठाउँ घुम्छु भन्नेका लागि लुम्बिनी पुगे हुन्छ । लुम्बिनीमा सारस हेर्नुको आनन्द शब्दमा व्यक्त गर्न सजिलो छैन । हिँड्न सक्नेले बर्दिया निकुञ्ज पुग्दा भयो । त्योभन्दा पश्चिमकालाई शुक्लाफाँटा झन् उपयुक्त । 

‘हिँड्न नसक्नेले पोखरावरिपरि घुमेर रमाउन सक्नेछन्,’ मोहन मैनालीको बुझाइ छ, 

‘पोखराका तालतलैया घुम्नु त छँदै छ, धम्पुससम्म पुग्न सके झन् राम्रो । धम्पुसबाट आफ्नै अघि हिमशृंखला देखिन्छ ।’ 

हिँड्न सक्नेका लागि काठमाडौंबाट नजिक लाङटाङ राष्ट्रिय निकुञ्ज पर्छ । लाटङटाङ पुगेपछि क्यान्जिङसम्म नपुगी हुँदैन । हतार नगरी यात्रा गर्ने हो भने आठ÷नौ दिनमा त्यहाँ पुगेर फर्कन सकिन्छ ।

‘अझ धेरै हिँड्छु भन्नेका लागि ?’ मैनालीको सुझाव छ, ‘मनास्लु किनारैकिनार गएर लार्केपाससम्म पुग्दा हुन्छ । त्यता जाँदा दुई हप्ता समय छुट्ट्याउनुपर्छ ।’ त्योभन्दा बढी हिँड्न सक्छु भन्नेले थोराङपास छँदै छ । थोराङपाससम्म जाने हिम्मत गर्नु भनेको साहसिक काम हो । तर, त्यता जान जबरजस्ती गर्नुहुँदैन ।

हिजोआज मुक्तिनाथ छेउछाउसम्म सवारीसाधन पुग्छ । मुस्ताङको यात्रामा निस्केकाले मुक्तिनाथसम्म पुग्दा हुन्छ । हिँड्न कत्ति पनि अल्छी नगर्नेले खप्तडरित लाग्दा भयो । मैनाली भन्छन्, ‘त्यता जाँदा डोटीबाट उकालो लागेर बाजुरा गए पनि भयो । बझाङबाट जाँदा पनि हुन्छ । खप्तड जाँदा सजिलै होटल पाइँदैनन् । त्यता जाँदा विचार पुर्याएर जानुपर्छ ।’

हिजोआज कर्णालीतिर घुम्दा कम्ती रमाइलो हुँदैन । एउटा हिमालभन्दा पारि र अर्को हिमालभन्दा वारिका ठाउँ घुम्न त्यत्तिकै आनन्ददायी हुन्छ । ‘यो बेलाको मौसम तल हरियो घाँस । माथि नीलो आकाश । र, सेतै हिमाल देखिन्छ,’ पत्रकार मैनालीको कथन छ, ‘तीन रङको संयोजनले मानिसलाई फुरुङ पार्छ । त्यस्तो ठाउँ पुगेपछि मानिसको मन चंगा हुन्छ ।’ त्यहाँ पुग्दा जुम्लाको स्याउ आफैंले टिपेर खान पाइन्छ । स्थानीय जनजीवन बुझ्न सकिन्छ । त्यताबाट रारा निस्कँदा भो । नत्र सिञ्जातिर छड्किए हुन्छ । गाडीमा भन्दा हिँडेर ती ठाउँको सुन्दरता नियाल्नु उत्तम मानिन्छ । 

यो समय मध्येपहाडको गाउँघर डुल्न त्यत्तिकै काइदा हुन्छ । काठमाडौंदेखि नजिकको चित्लाङसम्म जान सकिन्छ । गोरखाको मनकामना जाँदा केबलकारमा जाने र फर्कंदा घुम्दै फर्कन सकिन्छ । अन्य ठाउँ पुग्न सकिएन भने काठमाडौंवरिपरिका डाँडाडाँडा घुमेर रमाउन सकिन्छ । 

पूर्वमा थोरै मानिस हिँडेको ठाउँ जाने रहर भए कुम्भकर्णको फेदीसम्म पुगे हुन्छ । ताप्लेजुङको छिरुवासम्म सवारीसाधन जान्छ । त्यहाँबाट चार÷पाँच हिँडेर कुम्भकर्ण फेदीसम्म पुग्दा अनुपम ठाउँ हेर्न पाउनुको मज्जा अरूसँग तुलना गर्न सकिँदैन । त्यहाँसम्म जान नसक्नेका लागि ताप्लेजुङको पाथिभरासम्म पुग्दा भयो । पाथिभरामा बसेर हिमशृंखला नियालेर आनन्दित हुन सकिन्छ ।

यात्रा सजिलो र अप्ठ्यारोबीचमै हुन्छ भन्ने मान्ने हो भने यतिबेला तेह्रथुमको वसन्तपुरसम्म गाडीमा र त्यहाँबाट हिँडेर गुफापोखरी हुँदै मेन्छ्यायामडाँडासम्म जाँदा साह्रै उत्तम हुन्छ । संखुवासभाको सभापोखरीसम्म जाँदै हुनुहुन्छ भने अलि व्यवस्थित भएर जानुपर्छ । सभापोखरीबाट तरेली÷तरेली परेका डाँडा नियाल्न सकिने पत्रकार मोहन मैनालीले सुनाए । 

यो समय मध्येपहाडको गाउँघर डुल्न त्यत्तिकै काइदा हुन्छ । काठमाडौंदेखि नजिकको चित्लाङसम्म जान सकिन्छ । गोरखाको मनकामना जाँदा केबलकारमा जाने र फर्कंदा घुम्दै फर्कन सकिन्छ । अन्य ठाउँ पुग्न सकिएन भने काठमाडौंवरिपरिका डाँडाडाँडा घुमेर रमाउन सकिन्छ । 

के/के बोक्ने ?

–ठाउँ हेरी व्यवस्थित भएर घुमघाममा निस्कनुपर्छ । 

–ठाउँ हेरी न्यानो लुगा र राम्रो जुत्ता हुनुपर्छ । 

–क्यामेरा बोक्नुपर्यो । हिजोआज त मोबाइलले नै क्यामेराको काम गर्छ । 

–स्लीपिङब्याग ।

–ब्यान्डेज एकसेट ।

–दुई/तीन सेट एन्टिबायोटिक औषधि । के हुँदा के खाने भनेर चिकित्सकसँग परामर्श पहिल्यै लिने ।

–पुनर्जलीय प्याकेट ।

–एकछाक खान नपाउँदा पनि केही नहुनेगरी ड्राइफुड बोक्ने ।

–थर्मस ।

–पानी निर्मलीकरण गर्ने पीयूष । 

अपनाउनुपर्ने सावधानी 

–सामान्यतया यात्रामा तीनजनासम्म निस्कनुपर्छ । एकजना बिरामी परे एकजनाले हेरविचार गर्ने अर्कोले उद्धारका लागि खबर गर्न सजिलो हुन्छ । एकजनामात्रै यात्रामा निस्के दुःख पाउनसम्म पाइन्छ ।

–धेरैजनाको समूहमा जाँदा मन मिल्छ किन मिल्दैन सचेत हुनुपर्छ । मन मिलेन भने यात्रा पीडादायी हुन्छ । 

–घुमघाममा निस्कँदासमेत हामी दगुरेको दगुर्यै गर्छौं । त्यो राम्रो होइन । घुम्न निस्कनु भनेको हेर्नलाई हो । म्याराथुन दौडेजस्तो यात्रा गर्न हुँदैन । किनकि त्यहाँ पुगेर आगो लिएर फर्कनु छैन । तर, बेलुका बास बस्ने ठाउँसम्म पुग्न सकिन्छ कि सकिँदैन भनेरचाहिँ ध्यान दिनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप