शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगानीकर्ताले गरेनन् ब्रोकर कमिसन घटेको अनुभव, सेयर कारोबार झनै घट्यो

शनिबार, १८ पुस २०७७, १२ : ०८
शनिबार, १८ पुस २०७७

काठमाडौं । ब्रोकर कमिसन घट्दा पनि सेयर कारोबारमा झनै गिरावट आएको छ । नयाँ ब्रोकर कमिसन लागु भएको पहिलो साता सेयर बजारको कारोबार अघिल्लो हप्ताभन्दा एक तिहाईभन्दा बढीले कमी आएको हो । 
आइतबारदेखि बिहीबारसम्म ५ दिनको बजार कारोबारमा सेयर बजारमा २२ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भयो, यो कारोबार दैनिक औसत ४ अर्ब ५५ करोड बराबर हो । अघिल्लो साता सोही कारोबार दिनमा ३४ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो । यो कारोबार दैनिक औसत ६ अर्ब ९४ करोड बराबर हो । 

यो साता उत्पादनमूलक, ट्रेडिङ र म्युचुअल फण्ड बाहेक अरु समूहको कारोबारमा गिरावट आएको छ । शुक्रबार कारोबार हुने अग्राधिकार सेयर र डिबेञ्चरको कारोबार बढे पनि यसको हिस्सा नगन्य मात्रै छ । 
ब्रोकरले लिँदै आएको कमिसन घटेपछि सेयर बजारको कारोबारमा व्यापक सुधार आउने अपेक्षा गरिएको थियो । यसअघि प्रत्येक कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म कमिसन तिर्नुपथ्र्यो । किन्ने र बेच्ने दुवैले कमिसन तिर्दा एउटा कारोबारमा ब्रोकरले ०.८० प्रतिशतदेखि १.२० प्रतिशतसम्म कमिसन लिन्थे । अर्थात् कुनै खरिदकर्ताले किनेको मूल्यमा १.२० प्रतिशत भन्दा बढी नाफा भए मात्रै त्यस्तो लगानीकर्ताले वास्तविक रुपमा नाफा हासिल गर्न सक्थ्यो । 

तर, अहिले यस्तो कमिसन ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म तोकिएको छ । यसको अर्थ अब ब्रोकरले १ सय रुपैंयाको कारोबार गर्दा ०.५४ प्रतिशतदेखि ०.८० प्रतिशतसम्म कमिसन लिन पाउँछ । सामान्य कारोबारमा पनि यसअघि भन्दा एक तिहाई बराबर कमिसन अहिले घटेको छ । तर, यो गिरावट कम भएका कारण लगानीकर्तामा यसको सकारात्मक असर पर्न नसकेको लगानीकर्ताहरुको भनाई छ । लगानीकर्ताहरुले बढीमा ०.२५ प्रतिशत मात्रै कमिसन लिने व्यवस्था गर्न माग गरेका थिए । 

ब्रोकरहरुको भनाई भने अलिक भिन्नै छ । लगानीकर्ताले यसअघि पनि कमिसन महँगो भयो भनेर कारोबार कम नगरेका कारणले अहिले कमिसन घट्दा सकारात्मक असर पर्न नसकेको उनीहरुको भनाई छ । अहिले कमिसन घट्दा यसले ब्रोकरहरु टिक्न सक्ने अवस्था नहुने भन्दै यसले अन्ततः पुँजीबजारलाई नै धरासायी बनाउने उनीहरुको तर्क छ ।

२२ अर्बको कारोबारमध्ये यो साता नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, एनआईशी एशिया बैंक,  शिवम् सिमेन्ट र हिमालय डिस्टिलरीको कारोबार १ अर्ब भन्दा बढी भएको छ । बजार पुँजीकरणका यो साता नागरिक लगानी कोषले एनआईशी एशिया बैंकलाई जितेर ५ औं स्थान हासिल गरेको छ । शिवम् सिमेन्ट दश ठूला कम्पनीको सूचीमा प्रवेश गर्दा हिमालयन बैंक यस्तो सूचीबाट बाहिरिएको छ ।

अँग्रेजी नयाँ वर्षलाई बिदाई गर्दा नेप्से परिसूचक भने २ हजार २ सय ८७ विन्दुमा पुगेको छ । यो परिसूचक अहिलेसम्मकै धेरै हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप