बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा पनि संसद विघटन विरुद्ध प्रदर्शन, कुन नेताले के भने ?

मङ्गलबार, १४ पुस २०७७, २० : ०५
मङ्गलबार, १४ पुस २०७७

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट असंबैधानिक कदमकाविरुद्ध सबै जनता एकजुट भएर लाग्नुपर्ने बेला आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षल सरकारको असंवैधानिक कदमका विरुद्ध आज धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

रावलले भने, ‘प्रधानमन्त्री ओली निरंकुश र जनविरोधी हुँदै गएपछि प्रश्न तेर्सिएको छ । ओलीले जनतामाथि विश्वासघात गरेका छन् । जनताको जनमतलाई कुल्चेका छन् । सहिदको रगत, पसिनाको बलमा संविधानसभाबाट बनाइएको संविधानलाई सरकारले कुल्चिएको छ ।’

विरोधसभामा पूर्व सामाजिक विकासमन्त्री एवं प्रदेशसभा सदस्य दीर्घ सोडारीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेर ओलीले ठूलो गल्ती गरेको बताए । उनले राजतन्त्र अन्त्य गर्ने जनताले ओलीको अधिनायकवादलाई पनि फाल्ने चेतावनी दिए ।  

कार्यक्रममा संविधानसभा सदस्य हरि श्रीपाइलीले केपी ओलीको असंवैधानिक कदम लोकतन्त्रविरुद्ध भएको बताए । उनले जनताका अधिकारलाई ओलीले कुल्चने काम गरेको बताउँदै यसका लागि नेपाली जनताले शाहबंशको अन्त्य गरेजस्तै ओलीको पनि अन्त्य गर्ने जिकिर गरे ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ओलीलाई बादशाह नबन चेतावनी दिए । कैलाली जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर थापाले केपी ओलीले गरेको कदमका विरुद्ध सबै नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिए । 
दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव गणेश वि.क.ले प्रधानमन्त्री केपी ओलीले जनताका अधिकारको हनन् गर्नुका साथै जनताको अभिमत क्षणभरमै सत्यानाश बनाएको बताए । नेकपाका प्रदेश सचिव एबं केन्द्रीयय सदस्य नेपबहादुर चौधरी, जिल्ला ईन्चार्ज रुपा चौधरी, सह–इन्चार्ज झपट रावल र गरिमा शाहले पनि ओलीको कदमका विरुद्ध अब जनता चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप