शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मङ्सिरको चुनावमा माओवादीसँग कार्यगत एकता हुन सक्छ

सोमबार, ०९ असोज २०७४, १२ : १२
सोमबार, ०९ असोज २०७४

ठाकुर गैरे, एमाले केन्द्रीय सदस्य 

केन्द्रीय समितिको बैठकले स्थानीय तहको परिणामलाई कसरी समीक्ष गर्यो ?
नेकपा एमालेका लागि निर्वाचन अनुुकुल होइन, प्रतिकुल थियो । एमालेले पछिल्लो समयमा लिएका ठीक अडान, ठीक निर्णयका कारण धेरै राजनीतिक दल र बाह्य शक्ति यसका विरुद्ध थिए । यति हुँदाहँुदै पनि एमाले पार्टी स्थानीय तहमा पहिलो पार्टी बनेको छ । घेराबन्दीका बाबजुद पहिलो शक्ति बन्नु नै उपलब्धि हो । 
हो, दुई नं. प्रदेशमा सोचेजस्तो परिणाम आउन सकेन । यसमा हाम्रै आफ्नै आन्तरिक कारणले काम गरेको छ । हामीबाट कमिकमजोरी भएका छन् । तर जुन मतपरिणा आएको छ, त्यसले के देखाउँछ भने आउँदो प्रदेश र सङ्घको निर्वाचनमा बहुमत ल्याउन सक्छौँ भन्ने देखाएको छ । स्थानीय तहको निर्वाचनमा भएका कमिकमजोरी हटाउने हो भने दुई नं. प्रदेशमा पनि एमाले पहिलो पार्टी हुने छ । 

स्थानीय तहमा टिकट वितरणमा एकलौटी भयो भन्ने तपाईहरूको आरोप यो बैठकमा कत्तिको उठ्यो ?
टिकट वितरणको सन्दर्भमा कमिकमजोरी भएको बैठकमा नेतृत्वले स्वीकारेको छ । पार्टीमा योगदान गरेका, लोकप्रिय, अनुशासित हुनुपर्छ र निर्वाचनमा जित्ने व्यक्तिलाई टिकट दिनुपर्छ भन्नेमा पुनः बैठकले जोड दिएको छ । पार्टी परिचालन र अन्य राजनीतिक दलसँगको सहकार्यमा भएका कमिकमजोरीको पनि समीक्षा भएको छ । अब पहिलेका गल्तीहरू नदोहोर्याउने प्रतिबद्धता भएको छ । अब नयाँ ढङ्गबाट सोचेर जानुपर्छ भन्ने भएको छ । 

वामपन्थीसँग मिलेर निर्वाचनमा जानुपर्छ भनेर कुन पार्टीलाई भन्न खोज्नुभएको हो ?
नेपालका सन्दर्भमा धेरै पार्टीहरू छन् तर एमाले पछिको ठूलो शक्ति माओवादी केन्द्र हो । त्योसँग सहकार्य गरेर जान सकिन्छ । प्रगतिशील, नेपालको समृद्धि चाहने सबै शक्तिसँग मिलेर जान सकिन्छ । अझ एमालेले माओवादीसँग मिलेर जान सकिदैन कहिल्यै भनेको छैन । हिजो गणतन्त्रका सहयात्रीहरू मिलर जान सकिन्छ । 

यो सहकार्य दुवै पार्टी मिलेर निर्वाचन लड्ने हुनसक्ने सम्भावना कत्तिको छ ?
माओवादीसँग निर्वाचनमा नै मिलेर जान सकिन्छ । हामी दुवै वामपन्थी शक्ति मिलेर निर्वाचनमा जान सकिन्छ । मिलेर गयो भने प्रगतिशील पक्षधरका लागि र एमाले मााओवादीका लागि राम्रो हुन्छ । 

माओवादीसँग सहकार्यका लागि बैठकले केही ठोस निर्णय गर्यो ?
यो बैठकले ठोस निर्णय गरेको छैन । तर हिजोको जस्तो तिक्ता होइन, दुवै राजनीतिक दलहरू मिलेर जानुपर्छ भन्ने बैठकले म्यान्डेड नेतृत्वलाई दिएको छ । अब बस्ने स्थायी समितिमा ठोस रूपमा कार्ययोजना बन्न सक्छ । केन्द्रीय समितिको बैठकले नितिगत रूपमा निर्णय गरेको छ । नेतृत्वले यसबारेमा वर्कआउट गर्ने छ ।

एमालेलाई विचारमा अडिग नभएको भन्ने आरोप लाग्ने गरेको छ नि ?
नेकपा एमाले जनताको बहुदलीय जनवादमा चलेको छ । माक्र्सवादका आधारभूत मान्यताहरू मान्दै आएको छ । लेनिनवादलाई मान्दै आएको छ । पार्टी यी सिद्धान्तमा अहिले पनि कटिबद्ध छ । हो अहिले अब क्याडरबेस भन्दा मासबेस पार्टी भएको छ । यसकारण केही समस्या छैनन् भन्ने होइन । हिजो यो पार्टीको सदस्यता लिन जुन विधि विधान थिए, आज कतै कमि आएको हो कि भन्ने भएको छ । पार्टी प्रवेश गरेको २४ घण्टामा नै टिकट पाउने भएको छ । ऊ कुन पृष्ठभूमिबाट आएको हो । उसले माक्र्सवाद, लेनिनवाद र जबज कति बुझेको छ । यो विषयमा छलफल नहुँदा पार्टीमा चिन्ता पनि छाएको छ । पार्टीको विधिअनुसार हुनुपर्छ भन्ने यो बैठकले निर्णय गरेको छ । अब पार्टीले गरेका निर्णयहरू कडाइका साथ लागू हुनेमा सिङ्गो पार्टी ढुक्क छ । 

स्थानीय तहको निर्वाचनपछि एमालेमा पुनः गुटका गतिविधि सक्रिय भए भन्ने छ नि ?
यो बैठकमा पनि पार्टीको आन्तरिक जीवनका बारेमा धेरै छलफल भएका छन । सातौँ केन्द्रीय समितिको बैठकले जारी गरेको १० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको थियो । त्यहीअनुसार अब पार्टी सञ्चालन गर्नुपर्छ । अहिले एमालेविरुद्ध सबै एकताबद्ध भएका छन् । यस्तो समयमा हामी फरक फरक भएर जान सकिँदैन । हिजो भएका कमिकमजोरीलाई सच्याएर जानु नै अहिलेको आवश्यकता हो । हिजोका कमिकमजोरी पुनः दोहर्याइयो भने पार्टीमा पुनः समस्या आउनसक्छ । तर अहिले एमाले एकताबद्ध छ । कम्युनिस्ट पार्टीमा सामान्य छलफल हुन अन्यथा होइन । 

अहिले त देशभरीका वामपन्थी प्रगतिशील पक्षहरू एक हुनुपर्ने अवस्था आएको छ । राष्ट्रियता, स्वाधीनता कमजोर भएको छ । विदेशी हस्तक्षेप बढेको छ । यो समयमा एमाले मात्र होइन, सबै देशभक्त, प्रगतिशील र वामपन्थी एक हुनुको विकल्प छैन । यस्तो अवस्थामा एमालेमा गुट सक्रिय भए भन्नु गलत हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप