शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कटुवा पेस्तोलसहित एकजना पक्राउ, निर्दोषलाई फसाएको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

आइतबार, ०८ असोज २०७४, २१ : ५२
आइतबार, ०८ असोज २०७४

सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु) – कटुवा पेस्तोल र गोलीसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महराजगञ्ज नगरपालिका–६, सानो बुटहनियाका झण्डै ५० वर्षे भारत चौधरी रहेका छन् ।

विहान ६ बजेको समयमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले उनलाई जिगना चौराहाबाट पक्राउ गरेको हो । प्रहरीले चौधरीबाट दुई थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेट गोली बरामद गरेको प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए । गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएकोे इप्रका बहादुरगञ्जका प्रहरी नायब निरीक्षक गिरीले बताए ।

यता स्थानीयका अनुसार उनी विहान ६ बजे मर्निङ वाक गर्दै जिगना चौराहामा पुगेका थिए । एक व्यक्तिले उनलाई झोला छोप्न दिएको र त्यही समयमा प्रहरीको गस्ती टोली आई चौधरीलाई उठाएर लगेको आरोप लगाउँदै आएका छन् । सोही विरोधमा स्थानीयले चन्द्रौटा कृष्णनगर सडकखण्ड अन्तर्गत बहादुरगञ्ज चोकमा दिनभर सडक अबरुद्ध पारे । स्थानीयको विरोधका कारण कुनै पनि सवारी साधन चल्न सकेनन् । 

राति अबेर सम्मपनि सवारी साधन नचल्दा भारतबाट दशैं मनाउन आउने र दशैंको लागि बढनी बजारमा किनमेल गर्न जाने नेपालीहरुले निकै सास्ती बेहोर्नुपरेको गुनासो गरे ।

स्थानीयले बिनाकारण चौधरीलाई फसाएको भन्दै रिहा नगरेसम्म सडक सुचारु हुन नदिने भनेपछि स्थानीय र प्रहरीप्रशासनबीच राति अबेरसम्म छलफल भएको थियो । प्रहरीप्रशासनले सोमबार विहान १० बजेसम्म अनुसन्धानका लागि प्रहरीकै नियन्त्रणमा राख्ने स्थानीयसँग अनुरोध गरेको बताइएको छ । विहानसम्म अनुसन्धानपछि चौधरीलाई रिहा गर्ने प्रहरी र स्थानीयबीच सहमति भएको बहादुरगञ्जका स्थानीय मनिष गुप्ताले जानकारी दिएका छन् ।

चौधरी सानो बुटहनियाका एक साधारण कृषक हुन् । उनी खेतीपाती बाहेक गाउँमै सानो बेली (गुड) बनाउने क्रसर उद्योग संचालन गर्दै आएका छ्न् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप