बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घमण्डले ट्रम्प सिद्धिए, नेपालका नेताहरुले पनि सिक्नुपर्छ

सोमबार, २९ मङ्सिर २०७७, ०७ : ४६
सोमबार, २९ मङ्सिर २०७७

 

 

 

 

यसपटक डोनाल्ड ट्रम्पको पराजय र जो बाइडेनको विजयका धेरै कारण छन् । तर, ट्रम्पको हठी कार्यशैली र रुखो स्वभाव यसको मुख्य कारण हो । उनले न जनताले भनेको सुुनें, न अदालतलाई टेरे । न, त आफ्नै प्रशासनका विज्ञहरुलाई माने । त्यसैकारण सत्तारुढ रिपब्लिकन पार्टीकै बौद्धिक व्यक्तिहरु पनि ट्रम्पको आलोचनामा उत्रन बाध्य भए ।


धेरैपछि अमेरिकामा बहालावाल राष्ट्रपति दोस्रो कार्यकालका लागि चयन हुन असफल भए । पछिल्लोपटक १९९२ मा बिल क्लिन्टनसँग बहालवाला राष्ट्रपति जर्ज बुुस पराजित भएका थिए । त्यसयता भने बिल क्लिन्टन, जर्ज डब्ल्युु बुस र बाराक ओबामाले निरन्तर दुुई कार्यकाल राष्ट्रपति चलाएका थिए ।

यसपटक डोनाल्ड ट्रम्पको पराजय र जो बाइडेनको विजयका धेरै कारण छन् । तर, ट्रम्पको हठी कार्यशैली र रुखो स्वभाव यसको मुख्य कारण हो । उनले न जनताले भनेको सुुनें, न अदालतलाई टेरे । न, त आफ्नै प्रशासनका विज्ञहरुलाई माने । त्यसैकारण सत्तारुढ रिपब्लिकन पार्टीकै बौद्धिक व्यक्तिहरु पनि ट्रम्पको आलोचनामा उत्रन बाध्य भए ।

ट्रम्पका व्यक्तिगत हर्कत र रुखो व्यवहारले धेरै हदसम्म यो निर्वाचनको मतपरिणामलाई प्रभावित गर्‍योजस्तो लाग्छ । अर्को मुख्य कुरा कोरोना संक्रमणको फैलावट पनि हो ।

स्वेत सर्वोच्चतावादको छाँया

ट्रम्पले गोराहरुमात्रै जान्ने, बुुझ्ने, धनी र बलियो छन् भन्ने ठानेका थिए । उनले अन्यलाई मानिस नै गनेनन् । जबकी, अमेरिका विश्वभरका आप्रवासीहरुले मिलेर बनाएको देश हो । पत्रकारलाई अनावश्यक गाली दिने, बुुलिङ गर्नेलगायत हर्कतहरुको दुुष्परिणाम पनि उनले भोग्नुुपर्‍यो । थुतुनो जोगाउन नसक्दा मानिसले धेरै कुरा गुमाउँछ भनेर जसरी हाम्रा बुढापाकाले भन्ने गर्छन्, त्यही कुरा ट्रम्पको हकमा लागु भयो । उनले महिलाहरुलाई जिस्क्याउने र होच्याउन, पत्रकारहरुले सोधेका गम्भिर प्रश्नहरुको जवाफै नदिए वा त्यस्ता प्रश्नहरुलाई मजाक उडाइदिने गरेका थिए । फेक मिडिया र चाइनिज मिडियाजस्ता शब्दावली उनले नै अमेरिकी राजनीतिमा घुसाएका हुन् । अस्वेत, हिस्प्यानिक र आप्रवासीहरुलाई दुख दिने काममा ट्रम्प अब्बल देखिए, जबकि सबै जनतालाई सुख देलान् भन्ने आशमा उनलाई चयन गरिएको थियो । सारमा, उनी सबै जनताको राष्ट्रपति बन्न सकेनन् । उनले ठूलो संख्यामा आप्रवासी र अस्वेतहरुलाई दमन गरे । २० औं वर्षदेखि अमेरिका बसिरहेका कतिपय आमा–बाबुलाई उनीहरुका छोराछोरीसँग छुुट्टयाइदिए । मुस्लिमहरुलाई देश प्रवेशमै रोक लगाउने, एशियालीहरुमाथि दमन गर्ने, चीनसँग व्यापार युद्ध गर्ने, आफ्ना सहयोगी युरोपेली तथा एशियाली देशहरुको कुरै नसुनी एकतर्फी रुपमा पेरिस जलवायु सम्झौताबाट हात झिक्ने, आणविक सम्झौताबाट बाहिरिएर ईरानमाथि नाकाबन्दी थोपर्नेलगायत काम गरेर उनले अमेरिकालाई बाँकी विश्वबाट पनि अलगथलग गरे । ट्रम्प कार्यकालमा अमेरिका विश्वमा धेरै हदसम्म एक्लियो ।

देशभित्रको कुरा गर्ने हो भने बेरोजगारी बढ्यो, अहिले झन्डै ३ करोड अमेरिकीहरु बेरोजगार छन् । धनी र गरिबबीचको खाडल बढ्यो, गोराहरुको काम लुुटेको आरोप लगाउँदै उनले आप्रवासीहरुलाई दुख दिनेगरी कानूनहरु बनाए । नियम र कानूनको धज्जी उडाउँदै आफैले कर छले । त्यसैकारण, जतिबेला समय आयो, तब यहाँका आदिवासी अस्वेत, हिस्प्यानिक र आप्रवासीहरुले आफ्नो शक्ति देखाइदिए । यसपटक विगतका चुनावको दाँजोमा धेरै मत खसेको छ । विगतमा भोट हालेर के पाइन्छ र ? भन्ने सोच राख्ने गरेका अस्वेत र हिस्प्यानिक मतदाताहरुको ठूलो संख्या यसपटक मतदान गर्न ओर्लियो । ट्रम्पले दुख दिएकै कारण उनलाई कुनै हालतमा हराउनुुपर्छ भन्ने सोच ती मतदातामा विकास भएको देखिन्छ । यो सबै ट्रम्पको अहंकारको फल हो ।

उनले देशलाई विभाजित गरेरै भएपनि आफ्नो स्वार्थ र अहंकारलाई पुुर्ति गर्ने सोचेका थिए । गोराहरुको मतकै भरमा चुनाव जित्न सकिन्छ भन्ने आँकलन गरेर उनले गोरा रिझाउन खोजे । ग्रामीण भेगका गोराहरुले उनको पक्षमा मत खसालेका पनि हुन् । तर त्यो पर्याप्त भएन । गोराहरुमाझ सस्तो लोकप्रियता कमाउने स्वार्थमा बाँकी जनतालाई उपेक्षा र दमन गर्दाको फल भने उनले भोग्नुुपरेको छ । उदाहरणका लागि, जर्ज फ्लोइडको घटनालाई नै लिन सकिन्छ । प्रहरीले आफ्नो नियन्त्रणमा रहेका यी अस्वेतलाई घाँटीमा घुँडाले टेक्यो, निस्सारिएर उनको ज्यान गयो । त्यसपछि सुरु भएको ‘ब्ल्याक लाईभ्स म्याटर्स’ प्रदर्शन सुरुमा शान्तिपूर्ण नै थियो । तर, ट्रम्पले आन्दोलनकारीका जायज माग सम्बोधन गर्नुको साटो नेशनल गार्डको समेत प्रयोग गरेर उनीहरुलाई दबाउन खोजे । जसकारण, ह्वाइटहाउसमै प्रदर्शनकारीहरुले घेरा हाले । बाध्य भए, ट्रम्प त्यहाँको सुरक्षित बंकरमा लुक्नुुपर्‍यो । तर, यति हुँदा पनि उनले चेतेनन् । विभाजनको बिऊ रोपी नै रहे । तर, यस निर्वाचनको परिणामले एकतामा बल हुन्छ भन्ने प्रमाणित गरेको छ ।

कोरोना महामारी

जतिबेला उहान शहरमा कोरोना भाइरसको महामारी थियो । त्यतिबेलै यो भाइरस संसारभर फैलनसक्ने आँकलन विज्ञहरुले गरेका थिए । राष्ट्रपति ट्रम्पलाई पनि यसबारे पूर्वजानकारी दिइएको थियो । तर, उनले विज्ञहरुका सुचनालाई लुकाए । एन्थोनी फाउचीजस्ता ह्वाइटहाउसका अनुुभवी विज्ञले दिएका सल्लाहलाई मजाक बनाउने काम ट्रम्पले गरे । अमेरिकामा कोरोनाका बिरामी भेटिन थालेपछि पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ ध्यान दिनु त कता हो कता उल्टै, ‘केही दिनभित्रै यो भाइरस आफैं हराएर जान्छ’ भन्नेजस्ता अफवाह फैलाउने काम उनले गरे । र्‍यालीहरुमा मास्क नलगाउने, विज्ञका कुरा नसुुन्ने ट्रम्पको हठी स्वभावका कारण कोरोना अमेरिकाभर नै फैलियो, उनी आफैंपनि संक्रमणको चपेटामा परे । अहिले अमेरिकामा १ करोड ५० लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिइसकेको छ, ३ लाखभन्दा धेरैको ज्यान गइसक्यो । यसमा ट्रम्प प्रशासनको लाचारी सबैभन्दा प्रमुख थियो । त्यसैले, उनलाई ‘कोरोनाको हैजा’ अर्थात् ‘सुपर स्प्रिडर’ पनि भनियो । उनले कोरोनाको प्रभावलाई कम आँक्ने र यसलाई आफ्नो राजनीतिक हतियार बनाउने मुर्खतापूर्ण प्रयास पनि गरे । जस्तो, कोरोनालाई चाइनिज भाइरस भनेर उनले दुुष्प्रचार गरे । पत्रकारहरुले यो रंगभेद भएन र ? भन्दै प्रश्न गरेका थिए । उनको प्रतिप्रश्न थियो,‘ चीनबाट आएकोलाई चाइनिज नभनेर के भन्ने ?’

यस्ता बेतुकका हर्कतमार्फत सामाजिक विभाजन र रंगभेदलाई प्रश्रय दिइरहेका ट्रम्पको रफ्तारमा चार वर्षका लागि जनताहरुले ब्रेक लगाइदिएका छन् । तर, जनताले यसरी आफ्नो मत प्रकट गरिसक्दा पनि ट्रम्पले हार स्विकारेका छैनन् । आफु हारेपछि निर्वाचनमा धाँधली भएको आरोप लगाएर प्रजातन्त्रमा थप क्षति पुुर्‍याउने काम गरिरहेका छन् । तर, धाँधलीको प्रमाण भने पेश गर्न सकेका छैनन् । यसले उनी कति अहंकारी छन् भन्ने देखाउँछ ।

जो बाइडेनबाट ठूलो अपेक्षा

मुर्ख र अहंकारी ट्रम्पलाई हराएर विनम्र र धैर्यवान् स्वभावका जो बाइडेनलाई जनताले विजयी गराएका छन् । झन्डै ५० वर्षसम्म राजनीति गरेका जो बाइडेन धैर्यता र अनुुभवको उदाहरण नै हुन् । उनी १९७२ मा डेलवेरबाट तत्कालीन सिनेटमा कान्छा सदस्यका रुपमा निर्वाचित भएका थिए । २९ वर्षको उमेरमा निर्वाचित भएका बाइडेनले ३० वर्ष पुुगेपछि अस्पतालकै शैय्याबाट सपथ लिए किनकि उनले दुर्घटनामा आफ्नी श्रीमती र कान्छी छोरीलाई गुमाएका थिए । दुुई छोराहरुको उपचार भइरहेकाले उनी अस्पतालमै थिए । लामो राजनीतिक यात्रामा उनी ६ पटक सिनेटर र दुुई कार्यकाल उपराष्ट्रपति चयन भए । ७८ वर्षको उमेरमा आएर उनी अमेरिकी इतिहासमै सबैभन्दा धेरै मत हासिल गरेर राष्ट्रपति चयन भएका छन् । बाइडेनको दक्षता र क्षमताले ट्रम्पको अहंकारलाई हराइछाड्यो ।

ट्रम्पसँग पैसा र शक्ति दुुबै भएकाले उनी विजयी हुन्छन् भन्ने आँकलन पनि नगरिएको होइन, तर त्यो विफल भया । जनताले नेताहरुको कामलाई सुुक्ष्म रुपमा मुल्याङकन गरिरहेका हुन्छन् भन्ने यस निर्वाचनले प्रमाणित गरेको छ । राष्ट्रपतीय बहसका क्रममा स्वास्थ क्षेत्रलाई थप प्रभावकारी बनाउने, युवालाई रोजगारी दिने र विद्यार्थीहरुलाई सहुलियत दिनेलगायत मुद्दा बाइडेनले शान्त रुपमा प्रस्तुत गर्दा ट्रम्पले रुखो भएर त्यसको खण्डन गरेका थिए । टेलिभिजन बहसमा ट्रम्पले गरेका कुतर्क र बाइडेनका शान्त तर्कहरुलाई जनताले नियालिरहेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका पूर्व डेमोक्रेटिक उम्मेदवार अल गोरलगायतले पनि यसपटक बाइडेनलाई जिताउन ठूलो भूमिका खेले ।

आफैंमा अनुुभवी जो बाइडेन उनीहरुको समेत साथ लिएर जनताका कुरा सुन्दै अघि बढ्ने भएकाले अमेरिकाले उनको कार्यकालमा धेरै राम्रा कामहरु गर्नसक्छ । यद्यपि, ट्रम्प कार्यकालमा बिग्रिएका धेरै कुराहरु सुधार्दै लैजानुपर्ने चुनौती उनलाई छ । अमेरिकामा ट्रम्पले मलजल गरेको स्वेत सर्वोच्चतावादको विभाजनकारी मुद्दा सहजै सेलाउदैंन भन्ने पनि कतिलाई लागेको छ । यसका बाजबुद बाइडेको जीतले अमेरिका र पुरै विश्वमा आशा जगाएको छ । जलवायु परिवर्तन, मानवअधिकार, विश्व स्वास्थ संगठनमा फिर्तीलगायत वैश्विक मुद्दामा बाइडेन स्पष्ट र उदार देखिएका छन् । यसको प्रभाव दुुरगामी रहन्छ भन्ने मलाई लाग्छ । अर्को कुरा, फाइजर कम्पनीको खोप कोरोनाविरुद्धको लडाँइमा ९५ प्रतिशत प्रभावकारी देखिएकाले बाइडेनले राष्ट्रपतिको सपथ लिएसँगै खोप लगाउने कार्यक्रम र कोरोना नियन्त्रणका अन्य कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अघि लैजान्छन् भन्ने मलाई लागेको छ । उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग गर्न र सतर्कता अपनाउन बारम्बार अपिल पनि गरिरहेका छन् ।

रंगभेदमा जेलिएको अमेरिकी समाजलाई कमला ह्यारिसको विजयले पनि राम्रो सन्देश दिएको छ । जमैकन पिता र  भारतीय आमाकी छोरी कमलाको विजयले अमेरिका आप्रवासीहरुको साझा फुलबारी हो भन्ने संकेत पनि गरेको छ, यहाँ दक्षता र क्षमता हुनेहरु सबैले समान अवसर पाउँछन् भन्ने सन्देश यसले दिएको छ । जनतालाई हेप्ने काम कसैले गर्न हुँदैन र नेता भनेको त्यो हो जसले सबैलाई समेटेर लैजानुुपर्छ ।

सारमा, जनता नै सर्वोपरी हुन् भन्ने स्पष्ट सन्देश यस चुनावले दिएको छ । माथिल्ला ओहादामा पुुगेपछि नैतिकता र इमानदारी बिर्सेर मनपर्दी गर्ने, जनतालाई हेप्ने तथा उनीहरुलाई भिडाएर आफ्नो स्वार्थ पूर्ति गर्न खोज्नेहरु अन्तत असफल हुन्छन् भन्ने यस नतिजाले देखाउँछ । राजनेताले दम्भ गर्नुहुँदैन, जनभावना कदर गर्दै अघि बढ्नुुपर्छ भन्ने यस चुनावको सन्देश हो, नेपालका नेताहरुले पनि यसबाट सिक्नुपर्छ ।

(अमेरिकाको एटलान्टा बस्ने घले दक्षिण पूूर्वी क्षेत्रका लागि नेपालका मानार्थ पर्यटन दूत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजा घले
राजा घले
लेखकबाट थप