तराईमा माओवादी जितको रहस्य

person access_timeअसोज ६, २०७४ chat_bubble_outline0

भयाङ्कर रक्तपात हुने आशङ्का विपरीत अत्यन्त उत्साहपूर्ण र अपेक्षा विपरीत शान्तिपूर्ण रूपमा सम्पन्न भयो, प्रदेश नम्बर दुईको निर्वाचन । तीन चरणमा सम्पन्न स्थानीय तहको यो अन्तिम चुनाव हो । दश वर्षअघिसम्म हिंसा, हत्या, आतङ्क र त्रासको केन्द्र रहेको तराईलाई आज पनि अनेक खाले स्वार्थको खेल मैदान बनउने कोशिस नभएका होइनन् । ‘शक्ति केन्द्र र तीनको गोटीका रूपमा प्रयोग हुनेहरूले फैलाएको सन्त्रासबाट पूर्णतः मुक्त नरहे पनि आम नेपाली प्रवृत्तिकै प्रतिनिधित्व गर्छ तराईले पनि । अर्थात यस निर्वाचनले शान्ति, स्थायित्व र प्रगति नै तराईको पनि मूल मन्त्र हो भन्ने प्रमाणित गरिदिएको छ । 

हुन त नेपाल जस्तो गरिब, विपन्न, पछौटे र द्वन्द्वको समस्याबाट भर्खरै उम्किएको मुलुकमाथि अनेक स्वार्थको टक्कर हुनु स्वभाविक हुन्छ । निर्वाचनलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने कसरत राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिबाट प्रत्यक्ष– परोक्ष रूपमा यस पटक पनि भयो । यो वास्तविकतालाई सिङ्गो राष्ट्रको सन्दर्भमा नै अस्वीकार गर्न सकिँदैन । विशाल भारतसँग खुल्ला सीमाना, लामो समयको हिंसाको चपेटामा फसेको आदि कारणले तराई अन्यत्रभन्दा बढी नै संवेदनशील मानिएको थियो । तर निर्वाचन प्रचारमा देखिएको शालिन शैली, शान्तिपूर्ण एवम् सानदार मतदानले सबैलाई छक्क पारिदियो । 

निर्वाचनका सन्दर्भमा सबैका आआफ्नै जोड घटाउ हुन्छन्, त्यसलाई स्वभाविक रूपमै लिइन्छ । कसले जित्छ, कसले हार्छ भन्ने अड्कलबाजीका पनि आआफ्नै आधार र कारण हुन्छन् । ती आधार कति यथार्थपरक छन्, कति काल्पनिक र मनगढन्त भन्ने कुरा परिणामले देखाउँछ । तेस्रो चरणमा  सम्पन्न प्रदेश नम्बर दुईको चुनाव परिणाम धमाधम सार्वजनिक हुँदा काङ्ग्रेस, एमाले, मधेसी दलको सन्दर्भमा गरिएको आँकलनले कसैलाई अश्चर्यचकित पारेन । तर राजधानीमा बसेर माओवादीले एक  स्थान पनि जित्दैन भनेर चिया गफ चलाउने कथित बुद्धिजीवीहरू भने यसबाट चित खाएका छन् । 

२०७० को संविधानसभाको दोस्रो निर्वाचनमा नराम्रोसँग हारेको माओवादीभित्रै पनि अनेक समस्या देखिन्छन् । फुट, विभाजन र एकीकरणको प्रक्रियाबाट गुज्रिनु परेका कारण पटक–पटक नामै परिवर्तन गर्नुपर्दा पनि उसलाई थप अप्ठ्यारो आइलागेको छ । जसको नेतृत्वमा सरकार बने पनि सहभागी हुन हतारिहाल्ने प्रवृत्तिले उसको सिद्धान्त निष्ठतामाथि प्रश्न उठेको छ । भद्दा सङ्गठन शैली, गुटैगुटको अखडा जस्ता दुर्गुन बोकेको माओवादी केन्द्रले आफ्नै पार्टीका इमानदार निष्ठावान र प्रतिबद्ध कार्यकर्तालाई संरक्षण दिने र तिनलाई आशावादी बनाइरहन सकेको छैन । नेता–कार्यकर्ता ‘स्वार्थमा फसेको कुरा’ स्वयम् पार्टी अध्यक्षले सार्वजनिक रूपमा स्वीकार गरेका छन् । यसरी आफ्नै स्थितिलाई सुदृढ गराउन नसकिराखेको अवस्थामा माओवादीले तेस्रो चरणमा चमत्कार नै गर्ने गरी हासिल गरेको जितले उसलाई उत्साहित पारेको छ । 

हुन त यो प्रदेशको चुनाव परिणामले कसैलाई पूर्ण रूपले कमजोर र कसैलाई ‘हेवी वेट’ वा अत्यन्त शक्तिशाली देखाएन । अस्तित्वमा देखिएका र चुनावमा भाग लिएका सबैले झण्डै समानुपातिक रूपले सफलता हात पारेका छन् । नेपाली काङ्ग्रेस २०७० को संविधानसभा निर्वाचनमा पाएको मतको आधारमा केही कमजोर जस्तो देखिए पनि उसको वर्चस्व कायमै देखिन्छ । विभिन्न खेमाका मधेसी दलको पनि स्थिति कमजोर देखिँदैन । राप्रपा भने पहिलो पटक सिङ्गो स्थानीय निर्वाचनमा अस्तित्वहीन बन्न पुग्यो । अपरिपक्व, लालची र क्षमताहीन नेतृत्वको परिणाम हो त्यो ।

माओवादीको अनपेक्षित सफलता र राप्रपाको पतनको सन्दर्भमा छलफल गर्ने आधार सङ्गठन मात्र हैन, सङ्घर्षको इतिहास, लोकप्रियता र चुनावी कार्यक्रम पनि हो । अहिले उम्मेवदारी दिनै नसक्ने अवस्थामा पुगेको राप्रपा तीन समूहमा विभाजित छ । एकले अर्काको खोइरो खन्ने काम तीनै पक्षले गरिरहेका छन् र तिनको देखाउने गरी वैचारिक आधार पनि छैन । अब अस्तित्व लोप भैसकेको राप्रपाको चर्चा गरिरहनु नै मूर्खतापूर्ण कार्य हुन्छ । 

तर तराईमा एक समय साउन महिनाको खहरेको बाढी जस्तै उर्लिएका मधेसी दलपछि विचार–सिद्धान्त, नीति–कार्यक्रमको दुहाइ दिँदै एउटा शक्तिको रूपमा उदाएको माओवादीको सन्दर्भ भने फरक हो । हुन त पूर्वी तराईमा माओवादी पहिलो पटक एकाएक प्रकट भएको हैन । उसको धेरै पहिलेदेखि नै त्यो क्षेत्रमा वलियो पकड थियो । चुनावको मामिलामा त्यसलाई उपयोग गर्न नसके पनि सिरहा, धनुषा, महोत्तरी, सर्लाहीमा जय गोविन्द साह, सूर्यनाथ यादव, ऋषि देवकोटा आदिको नेतृत्वमा तीसको दशकदेखि नै मजबुत सङ्गठन निर्माण र सशक्त आन्दोलन सञ्चालनमा उदाहरण नै पेश गरेको थियो । २०३६ सालको चरम सरकारी दमनपछि ढाड भाँचिएको नेकपा (चौ. म.) मा आएको फुट नै ‘माओवादी’ पक्ष कमजोर बन्नुको कारण रह्यो । अहिले हासिल गरेको सफलतामा उसले चौथो माहाधिवेशन कालको इतिहासको विरासतलाई पनि उपयोग गरेको देखिन्छ । 

२०७० को संविधानसभा चुनावमै पनि माओवादी हालको दुई नम्बर प्रदेशमा सारै कमजोर देखिँदैन । प्रत्यक्षतर्फ जितेका छब्बीस स्थानमध्ये एक तीहाइ सिट उसले यही प्रदेशबाट जितेको थियो । अझ त्यसवेला वैद्य समर्थित रामबहादुरहरू प्रचण्ड नेतृत्वको माअओवादीलाई हराउन ज्यान छोडेर लागेका थिए । मातृका यादव पनि त्यो वेला प्रचण्ड पार्टीमा थिएनन् । अहिले तिनीहरू प्रचण्ड नेतृत्वकै पार्टीमा समेटिएका छन् । माओवादीले चुुनाव जित्नुको रहस्य एउटा त्यो पनि हो भने मधेसी दलभित्र चलेको टिकट लफडा, त्यसबाट उत्पन्न असन्तुष्टि र असन्तुष्टहरूलाई माओवादीले रातो कार्पेट ओछ्याएर गरेको स्वागत चुनावी सफलताको अर्को कारण हो । चुनाव अवधिमा माओवादीले सारा शक्ति तराईमा लगाएर गरेको प्रयत्नले पनि सकरात्मक असर देखाएको छ । यिनै कारणले माओवादीप्रतिको अनुमानलाई गलतसिद्ध गरिदिएका छन् । 

अब उसलाई त्यो सफलता बचाउने र थप उपलब्धि हासिल गर्ने चुनौती थपिएको छ । यस पटकको चुनावमा माओवादीबाट जितेका अधिकांश उम्मेदवार नव आगन्तुकहरू छन् । मधेसी दलबाट आएकाहरूको बाहुल्य रहेका जितेकाहरूलाई पार्टीले आफ्नो सङ्गठनको अनुशासनमा बाँध्न पनि फलामको च्यूरा चपाउनु जत्तिकै कठिन हुने निश्चित छ । अब पुराना र प्रतिबद्ध कार्यकर्ता माओवादीबाट पाखा लाग्ने खतरा टड्कारो देखिँदै छ । त्यस्तो अवस्था आयो भने माओवादीको पार्टी जीवनमा त्यो अत्यन्तै घातक हुन्छ । हुन त माओवादी चुनावी पार्टीमै रूपान्तरण भैसकेको छ । नयाँको बाहुल्यता हुँदा, पुराना, सङ्घर्ष गरेका र प्रतिबद्धहरू बहिरिँदा पनि उति नोक्सान नहोला । तर पनि त्यसको सन्देश भने राम्रो जाँदैन । 

आगामी दिनमा यी यावत् पक्षलाई ख्याल गर्दै सन्तुलन मिलाएर अघि बढ्यो भने माओवादीले तराईको आशावादी अवस्था कायम राख्न र थप उपलब्धि हासिल गर्न सक्छ । तर के ख्याल राख्नुपर्छ भने तराईमा राजनीति गर्नेहरू अन्यत्रका भन्दा पनि स्वार्थी छन् । भोलि तिनले अवसर नपाए अन्तैको यात्रा तय गर्ने निश्चित छ । त्यसले माओवादीलाई रित्याएर राप्रपाको स्थितिमा पुर्याउन पनि सक्छ । प्रतिबद्ध कार्यकर्ताको निराशा र ‘टुरिस्ट’ कार्यकर्ताको निर्वाध आगमनले माओवादीलाई क्षणिक सन्तोष अर्थात् ‘मुतको न्यानो’ को स्थितिमा पुर्याउन सक्छ । त्यो कुरालाई अहिलेदेखि नै बिचार पुर्याउनु आवश्यक छ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ