शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुटनीतिमा नेपालको भूमिका लज्जाजनक

बुधबार, ०७ असार २०७४, १५ : ४०
बुधबार, ०७ असार २०७४

गत वर्षको चैत २५ गते नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी विमानस्थलबाट एक पाकिस्तानी पूर्वलेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहिर गायब भए । उनी हराएको डेढ महिना बितिसक्दा पनि उनको अवस्था के छ भन्ने कुरा अहिलेसम्म कुनै जानकारी सार्वजनिक हुन सकेको छैन । तर, उनी हराउनेबित्तिकै पाकिस्तानको रक्षा मन्त्रालयले हबिबलाई भारतले अपहरण गरेको दाबी गरेको छ । यता, भारतले भने आफूले हबिबबारे केही थाहा नपाएको जनाएको छ । आखिर के हो त यस घटनाको पहेली ?
को हुन् मोहम्मद हबिब ?
मोहम्मद हबीब जाहिर पाकिस्तानी पूर्वलेफ्टिनेन्ट कर्णेल हुन् । उनले सन् २०१४ मा पाकिस्तानी सैनिकबाट अवकाश पाएका थिए । पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार केही समयअघि उनले अनलाइनमा आफ्नो बायोडाटा पोस्ट गरेका थिए । उनलाई ब्रिटेनको मोबाइल नम्बर र एक वेबसाइटबाट सम्पर्क भएको तथा उक्त वेबसाइट भारतमा होस्ट गरिएको पाइएको पनि पाकिस्तानी रक्षा मन्त्रालयको दाबी छ ।
उनलाई प्रतिमहिना ३ हजार ५ सयदेखि ८ हजार ५ सय अमेरिकी डलर पारिश्रमिकको प्रस्ताव गरी ६ अप्रिल, २०१७ मा काठमाडौंमा अन्तरवार्ताका लागि बोलाइएको पनि पाकिस्तानी रक्षा मन्त्रालयले जनाएको छ । ओमान हुँदै ६ अप्रिलमा ओमान एअरलाइन्सबाट काठमाडौं आएका उनी सोही दिन बुद्ध एयरबाट लुम्बिनी पुगेको जनाइएको छ । लुम्बिनी पुगेर उनले पछिल्लो पटक आफ्नी पत्नीसँग कुरा गरेको पनि पाकिस्तानी रक्षा मन्त्रालयको दाबी छ । त्यसपछि उनको मोबाइल नम्बर लगातार स्वीच अफ भएको थियो ।
पाकिस्तानले भारतलाई किन लगायो अपहरणको आरोप ?
 रिटायर्ड भारतीय जलसैनिक कुलभूषण जाधवलाई पाकिस्तानमा समात्ने टोलीमा पाकिस्तानी सैनिक मोहम्मद पनि सामेल थिए । पाकिस्तानी सेनाले जाधवलाई पाकिस्ताको बलुचिस्तानबाट पक्राउ गरेको थियो । जाधवले सो क्षेत्रमा रहेर आतंकवादी गतिविधिलाई बढावा दिएको भन्दै पाकिस्तानले समातेको हो । जाधव पक्राउ परेको विषयलाई लिएर भारतीय पक्षले गम्भीर असहमति जाहेर गर्दै आएको थियो । भारतले जाधवले आतंकवादी गतिविधिलाई बढावा नदिएको दाबी गर्दै आएको छ ।
यता, पाकिस्तानले भने भारतले बदलाको भावनाबाट आफ्नो सैनिकलाई अपहरण गरेको आरोप लगाएको छ । पाकिस्तानले भारतीय गुप्तचर संस्था ‘रअ’ले नै हबिबलाई अपहरण गरेको दाबी गरेको छ । हबिब बेपत्ता भएको दोस्रो दिन पाकिस्तानको सैनिक अदालतले जाधवलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
भारतीय मिडियाका अनुसार आफ्नो सैनिक अधिकृत हराएका कारणले उनी हराएको दुई दिनभित्रै पाकिस्तानले हतारमा जाधवलाई मृत्युदण्ड सुनाएको हो । तर, पाकिस्तानी मिडियाले भने भारतले सो मृत्युदण्डको सम्भावना देखेका कारणले नै पाकिस्तानी उच्च सैनिक अधिकृतलाई अपहरण गरेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप