शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतीय संग्रहालयमा पर्यटकलाई यस्तो हुने छ डिजिटल गाइड

बिहीबार, ०५ असोज २०७४, २० : २९
बिहीबार, ०५ असोज २०७४

हरि बाँस्तोला 

पोखरा – हिमाल र हिमालीको गतिविधिलाई एउटै छानामुनिबाट अध्ययन अवलोकन गर्न सकिने पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयको जानकारी अब मानिसले नभई अत्याधुनिक प्रविधि डिजिटल गाइडले दिने भएको छ ।
 
संग्रहालय अवलोकन गर्न आउने प्रत्येक अवलोकनकर्ताले डिजिटल गाइडमार्फत संग्रहालय परिसरमा प्रदर्शित प्रत्येक सामग्रीको जानकारी लिन सकिने दक्षिण कोरियाको प्रविधि जडान गर्न लागिएको छ । 
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, नेपाल इनोभेस टेक्नोलोजी एण्ड (इन्टरपेनरसिप सेन्टर ÷एनआइटिइसी) कोरियाका निर्देशक डा योनजिङ किम र गण्डकी कलेज अफ इन्जिनियरीङ्ग एण्ड साइन्स लामाचौरका प्राचार्य रविप्रसाद बरालवीच त्रिपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर गरियो ।
 
दक्षिण कोरियाको आर्थिक एवम् गण्डकी कलेजको प्राविधिक सहयोगमा आगामी एक वर्षका लागि डिजिटल गाइड संचालन गर्ने सम्झौतापत्रमा उल्लेख छ । 
सो अवसरमा नेपाल पर्वतारोहणका अध्यक्ष लामाले प्रविधि जडानसँगै पर्यटकीय नगरी पोखरामा अवस्थित संग्रहालयको विकासमा टेवा पुग्ने बताउँदै सम्झौताको समय एक वर्ष थप गर्न एनआइटिइसीसँग आग्रह गरे ।

हिमालमा हालसम्म भएगरेका गतिविधि तथा सो क्षेत्रमा बसोवास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु, वनस्पति, खनिज पदार्थलगायत सम्पूर्ण जानकारी एउटै छानामुनिबाट लिन सकिने संग्रहालयमा आव २०७३÷०७४ मा कूल दुई लाख ३७ हजार ८सय ४ जनाले टिकट काटेर संग्रहालयको अवलोकन गर्दा रु दुई करोड ४६ लाख १३ हजार ३०० आम्दानी भएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

सो अवधिमा विद्यार्र्थी एक लाख ८ हजार २ सय ९९, नेपाली ८६ हजार ५ सय ८९, सार्कस्तरका १९ हजार २८७ र अन्य बाह्य पर्यटक २३ हजार ६ सय ३९ आएका थिए । बगैँचामा दुई हजार ६१ आन्तरिक एवम् बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा संग्रहालयले उक्त आम्दानी गर्न सफल भएको हो । 

नेपाल पर्वतारोहण संघद्वारा निर्माण गरी संचालनमा ल्याइएको सो संग्रहालयमा अघिल्लो आवको तुलनामा सो आवमा करिब रु एक करोड १४ लाख बढी आम्दानी भएको बताउँदै उनले भने, ‘अत्याधुनिक प्रविधि जडानसंँगै विश्वका पर्यटक एवम् युवा वर्गमा संग्रहालय लोकप्रिय बन्ने विश्वास गरिएको छ ।’

विसं २०६० माघदेखि संचालनमा आएको संग्रहालयमा २०७३ साल कात्तिक ११ गते इतिहासमै सबैभन्दा बढी विद्यार्थीले अवलोकन गरेको दिन हो जुन दिन तीन हजार २ सय ५३ विद्यार्थीसहितत तीन हजार ८ सय २७ जनाले टिकट काटेर अवलोकन गर्दा करिब रु दुई लाख छ हजार आम्दानी भएको थियो । 

पर्वतारोहण संघले खरिद गरेको एक सय रोपनी जग्गामध्ये लगभग चार रोपनी क्षेत्रफलमा पैmलिएको दुई तल्ले संग्रहालय भवनमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा एवं आरोहण क्षेत्रमा हालसम्म भएगरेका गतिविधिका तस्वीरसहित प्रयोग भएका सामग्री र सो क्षेत्रमा बसोबास गर्ने पर्वतीय मानिसको जनजीवन झल्कने सामग्री प्रदर्शन गरिएको छ । 

विश्वमा हिमालै हिमालको देशका रुपमा परिचित नेपालमा आठ हजार मिभन्दा बढी उचाइका विश्वमान्यताप्राप्त आठ र नेपाल सरकारद्वारा गठित पिक प्रोफाइल सब कमिटीले सिफारिस गरेका थप छसहित १४, सात हजार पाँच सयदेखि सात हजार ९९९ मिसम्मका ४०, छ हजारदेखि छ नौ सय ९९ मि.सम्मका ६३ सहित एक हजार नौ सय १३ हिमचुचुरा छन् । 
अन्तराष्ट्रिय पर्वर्तीय संग्रहालयको स्थापना कालदेखि हालसम्म विद्यार्थी करिब सात लाख ३२ हजार, सर्वसाधारण नेपाली पाँच लाख १३ हजार, सार्कका पर्यटक एक लाख १८ हजार, बाह्य पर्यटक एक लाख ९२ हजार र बगैँचातर्पm १३ हजार ५६७ जनाले टिकट काटेर अवलोकन गर्दा करिब रु १३ करोड ४२ लाख आम्दानी भएको संग्रहालयको तथ्याङ्क छ । 
संग्रहालयको भवनमा पर्वतारोहण, पदयात्री, स्कीइङ, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्ष, उपकरण र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको छ ।


बाहिरी भागमा क्लाइमिङ्गवाल र मनास्लु हिमालको प्रतिरुपका साथै निकट भविष्यमा आठ हजार मिभन्दा अग्ला सबै हिमालको नमुना तयार गरेर संग्रहालय क्षेत्रलाई थप आकर्षक बनाउने तयारी गरिएको छ । 
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रविधिमैत्री अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरालाई नेपालको पहिलो स्मार्ट सिटीका रुपमा विकास गर्न सहयोग पुग्ने बताउँदै नगरको विकासमा गरिने प्रत्येक गतिविधिको समन्वय गरी एकरुपता दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप