मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काम पाइने आशमा दलालमार्फत भिजिट भिषामा दुबई आउँदै हुनुहुन्छ  ? दुःख पाइएला !

आइतबार, ०७ मङ्सिर २०७७, ११ : २८
आइतबार, ०७ मङ्सिर २०७७

यूएई - पछिल्लो समय रोजगारीको नाममा युएईको दुबई लगायत अन्य खाडी मुलुक भिजिट भिषामा आउने नेपालीको संख्या ह्वात्तै बढेको पाइन्छ। कोरोनासँगै गुमेको रोजगारी र बेरोजगार बनेका नेपाली युवाहरु फेरि रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर खाडी मुलुक छिरिरहेका छन्।

कोरोनाको महामारीले विश्व नै लकडाउन भएसँगै धराशायी बनेका केही म्यानपावर व्यावसायी, ट्राभल्स एजेन्सी र (ब्रोकर) दलालहरु अहिले बिस्तारै सलबलाउन थालेका हुन्। जसको माध्यमबाट सेटिङ मार्फत भिजिट भिषामा सजिलै नेपाली युवाहरु यूएई लगायत अन्य खाडी मुलुक धमाधम आइरहेका हुन्। 

यूएई सरकारले पछिल्लो समय अन्य मुलुकबाट कामदार आयात गरेको छैन। कोभिड-१९ को महामारीका कारण बेरोजगार भई यूएईमा नै भएको जनशक्तिलाई रोजगारी उपलब्ध गराउने सरकारको नीति रहेको छ। विगत ६ महिनाको अवधिमा कोभिड-१९ को कारण धेरै कम्पनीहरुले कामदार संख्यामा कटौती गरे। धेरै नेपाली कामदारसहित अन्य मुलुक भारत, पाकिस्तान र बङ्लादेशका कामदारहरु मुलुक फर्किए । तर हालको अवस्था सामान्य हुने क्रममा रहेकाले ती कम्पनीहरुमा केही थोरै संख्यामा कामदारहरुको माग बढ्न थालेको छ। यही अवस्थालाई सदुपयोग गर्दै नेपालका केही म्यानपावर व्यावसायी, ट्राभल्स एजेन्सी र (ब्रोकर) दलालहरु सलबलाउन थालेका हुन्।

उनीहरुले बेरोजगार नेपाली युवाहरुलाई राम्रो काम लगाइदिने प्रलोभन देखाएर सेटिङ मार्फत भिजिटमा ल्याएर अलपत्र पार्न थालेका छन् । बेरोजगारले आजित भएका नेपाली युवाहरुलाई (ब्रोकर) दलालले राम्रो काम लगाइदिने बहानामा लाखौं रकम अशुल्छन्।तर उनीहरुले न भने जस्तो काम दिन सक्छन्।न उठाएको रकम नै ! अन्त्यमा दलाल सम्पर्कविहीन (फरार) हुन्छन्। पीडित झनै पीडित बन्छन्।पीडितसँग न काम गर्ने परमिट नै हुन्छ। न बस्ने भिषा।

यूएई सरकारले दुबई बाहेक अन्य ६ वटा राज्यमा तत्कालको लागि भिजिट भिषा बन्द गरेपनि दुबईलाई केन्द्रबिन्दु बनाएर रोजगारीको लागि थुप्रै नेपालीहरु भिजिट भिषामा आएका हुन्।उनीहरुको समस्या विस्तारै बाहिर आउन थालेको छ। विभिन्न म्यानपावर व्यावसायी, ट्राभल्स एजेन्सी र ब्रोकरहरुको मेलेमतोमा दुई पक्षीय सम्झौता अनुरुप काम नपाएपछि केही नेपालीहरुको समस्या बाहिर आएको हो। 

खाडी मुलुक अन्तर्गत दुबईमा पछिल्लो समय (ब्रोकर) दलालले मोटो रकम लिएर भिजिट भिसामा यूएईका प्रतिष्ठित कम्पनीहरुको नक्कली अफर लेटर देखाएर भिजिटमा ल्याउने र यूएई ल्याएर कन्स्ट्रक्सन र लेबर सप्लाई कम्पनीहरुमा महिनाको ८ सय देखि १ हजार दिर्हाम तलबमा काम लगाउने उदारहणहरु प्रशस्तै भेटिन्छन्। यूएई आईसके पछि धम्क्याएर जस्तोसुकै काम गर्न तयार हुन दबाब दिने गरेको पाइएकाे छ भने कतिपयले जागिर लगाइ दिएबापत एक महिनाको तलब पनि लिने गरेका छन्।

 काठमाडौं एक  म्यानपावरबाट गत २ हप्ता पहिले यूएईको एक प्रतिष्ठित अल्मराई कम्पनीमा काम लगाईदिने भन्दै सप्तरीका मोहम्मद नुरुल,मो. सलाउद्दीन,इझारूल हक र जीव्छ साहलाई प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ लिएर एक महिने भिजिट भिषामा दुबई पठाइयो। म्यानपावरले अल्मराई कम्पनीबाट तीस जनाको डिमाण्ड आएको भन्दै उनीहरुलाई चाँडै जान भन्यो।

उनीहरुलाई दुबई पठाउने एजेन्ट सिराहाका मोहम्मद हासिम मियाँ थिए। तर उनीहरुसँग भएको सबै कागजपत्र नक्कली भएकोले एजेन्ट मियाँले भनेजस्तो काम पाएनन्।  म्यानपावर र तिनका एजेन्ट हासिम मियाँले उनीहरुलाई नक्कली अफर लेटर बनाएर पठाएको पाइएको छ।उनीहरुको यूएई बस्न पाउने समय अवधि अब १४ दिन बाँकी छ। दुबईमा उनीहरु अहिले अलपत्र अवस्थामा छन्। 

कोरोनाको कारण विश्वको अर्थतन्त्र ग्रसित भैरहेको बेला त्यसमा पनि धेरै रोजगारविहीन छन्। यूएईमा दक्ष र अनुभवी जनशक्तिहरुको कमी छैन ।कोरोनाकै कारण धेरै श्रमिक न्यून पारिश्रमिकमै भए पनि काम गर्न नपाएर भौतारी रहेको अवस्थामा छ। त्यसैले विना अनुभव, दक्षता र तालिम नपाएकाहरुले भिजिट भिषामा काम पाउनु भनेको प्रायः असम्भव नै हुन्छ। त्यसमाथि कानुनी जटिलता लगायत अन्य समस्या; जस्तै बिरामी परेर अन्ततः मृत्यु नै हुन पुग्यो भने त झन् पारिवारिक समस्या हुने निश्चित हुन्छ।

त्यसैले नेपाल सरकारले तोके बमोजिम इजाजत प्राप्त म्यानपावर एजेन्सीबाट सरकारी मापदण्ड अनुसार श्रम स्वीकृति र बीमा गरेर बैदेशिक रोजगारीमा आउनु पर्छ। यसरी आउँदा पनि सबै सपना पूरा भैहाल्छ भन्ने कुनै ग्यारेन्टी छैन । तर कुनै कारणले त्यस्तो जटिल समस्या आइहाल्यो भने रोजगारदाताले समस्या समाधान गर्न सक्छ। यदि रोजगारदाता वा समन्धित कम्पनीले कामदारको समस्या समाधान गरेन भने र नेपाल सरकारले आवश्यक पहल गर्ने बाटो खुल्ला हुन्छ। बीमा कम्पनीले क्षतिपूर्ति दिन्छ जसले केही मात्रामा भए पनि परिवारलाई राहत मिल्छ।

नेपालबाट बिना श्रम स्वीकृति  वैदेशिक रोजगारको लागि कुनै पनि देश जानू भनेकै आफ्नो जिवन कष्टकर बनाउनु हो,भनेर सबैले बुझ्न आवश्यक छ । भिजिट भिषा भनेको भ्रमण गर्ने (घुम्ने) अनुमति पत्र हो।काम गर्ने परमिट हैन। त्यसैले आजैबाट भिजिट भिषामा आएर काम खोज्नु हुदैन भनेर सचेत बनौं।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप