बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

बिहीबार, ०५ असोज २०७४, १८ : ४८
बिहीबार, ०५ असोज २०७४

 नारायण ढुंगाना 

रत्ननगर (चितवन) – प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरुको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । 

प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । 
बाढीले गैँडाको बासस्थान खलबलिएको, गैँडा बगाएको र गैँडाको मृत्युसमेत भएकाले तथ्याँक अध्यावधि गर्न अनुगमन गर्न केही दिनअघि चितवन निकुञ्जले प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव सकारात्मक रहेको भन्दै विभागले गैँडाको अनुगमन गर्ने सोच बनाएको महानिर्देशक खड्का बताए ।

उनका अनुसार भ्याएसम्म २०७४ साल भित्रमा नभ्याए चालू आर्थिक वर्ष भित्रैमा गैँडाको अनुगमन गरिने छ । यो बीचमा बाघको अनुगमन गर्नुपर्ने भएकाले समय केही ढिला हुन सक्ने देखिएको छ । बर्दिया शुक्लाफाँटा र पर्सामा भने बासस्थानमा असर नपरेको खड्का बताउनुहुन्छ । नेपालमा हरेक चार वर्षमा गैँडा गणना गर्ने योजनाअनुसार यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो । 

आगामी सन् २०१९ मा गैँडा गणनाको समय भए पनि प्राकृतिक विपत्तिले चितवन निकुञ्जका वन्यजन्तुलाई नराम्ररी प्रभावित बनाएकाले अवस्था पत्ता लगाउन चालू आवमा नै गैँडा गणना गर्ने तयारी गरिएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गैँडाको अनुगमन आवश्यक रहेकाले निर्णय गरेर निकुञ्ज विभागमा प्रस्ताव पेश गरिएको जानकारी दिए, ‘हामीले निर्णय गरेर निकुञ्ज विभागका पठाएका छौँ’ कँडेलले भने, ‘बासस्थान बाढीले बिगारेको मात्र हैन कति बच्चा बगाएर मारेको पनि छ । त्यसैले तत्काल गणना गर्नुपर्छ भन्नेछ ।’

गत साउन २८ गते आएको बाढीले चितवनबाट बगाएर भारत पु¥याएको आठवटा गैँडालाई निकुञ्जले उद्धार गरेको छ भने बाढीले घाइते बनाएको दुईवटा गैँडा मरेको थियो । थाहै नपाई गैँडाका बच्चा बगाएर मरेको हुनसक्ने आशंका निकुञ्जले गरेको छ । त्यसैले पनि गैँडाको गणना आवश्यक भएकाले प्रस्ताव पेश गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । अघिल्लो वर्ष चितवनमा विभिन्न कारणले २५ वटा गैँडा मरेको थियो । यो वर्ष साउन र भदौमा मात्र नौवटा गैँडा मरिसकेको सूचना अधिकारी अर्यालले बताए ।

यसअघि सन् २०१५ को गैँडा अनुगमनमा नेपालमा ६०५ गैँडा रहेका पाइएको थियो । चितवन निकुञ्जमा मात्रै ६ सय ५ गैँडा रहेको अनुमान छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटामा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा रहेको तथ्याङ्क छ । गणनापछि चितवन निकुञ्जले बर्दियामा आठ र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिसकेको छ । प्राकृतिक विपत्ति रोग–ब्याधि तथा विभिन्न कारणले वन्यजन्तु नाश हुन सक्ने भएकाले प्रजाति संरक्षणका लागि वन्यजन्तुको स्थानान्तरण गर्न थालिएको हो । पछिल्लो सात वर्षमा तस्करका कारण तीनवटा गैँडा मारिएको छ । 

यो बीचमा एक हजार दिनसम्म शून्य चोरी शिकार समय मनाउन सफल भएको थियो । यो अवस्थालाई कायम राख्न ठूलो चुनौती रहेकाले सबै क्षेत्रको सहकार्यमा संरक्षण चुस्त पार्ने काम भइरहेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउँछन । समुदायको सहभागिताले नै संरक्षण सफल भएको मृगकुञ्ज उपभोक्ता समितिको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ बताउँछन् । भोलि शुक्रबार विश्व गैँडा दिवसका अवसरमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप