शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चपली हाइट’का हिरो राज घिमिरे व्यवसायमा, यस्तो छ ट्राउट फार्म र रिर्सोट (भिडियो)

शनिबार, ०६ मङ्सिर २०७७, १९ : ४०
शनिबार, ०६ मङ्सिर २०७७

काठमाडौं । झन्डै ४ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका, चपली हाइट चलचित्रबाट नाम कमाएका कलाकार राज घिमिरे यतिबेला के गर्दै होलान् ? कोरोना संकटपछि चलचित्र निर्माणको काम रोकिँदा कलाकारहरु बेरोजगार भएझैं के उनीपनि बेरोजगार होलान ? हामीले अनुमान गरेभन्दा उनको दैनिकी फरक छ । कलाकार घिमिरे यतिबेला ब्यावसाय, राजनीति, कलाकारिता र समाजसेवामा एकसाथ व्यस्त रहेका छन् । 

२०५७ सालतिर ‘सारा खुसी’ बोलको गीतबाट म्युजिक भिडियोमा अभिनयको यात्रा सुरु गरेका राजले हालसम्म पनि आफ्नो कलाकारितालाई निरन्तरता दिएका छन् भने पछिल्लो समय उनी पर्यटन तथा होटल व्यवसायमा पनि अघि बढेका छन् । 

ललितपुरको सातदोबाटोबाट करिब ८ किमि पूर्वतिर गोदावरी बडिखेलमा उनले अहिले सिरुपाते ट्राउड फार्म एण्ड रिर्सोट सञ्चालन गरिरहेका छन् । केही साता पहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारका केही सदस्य, तथा पार्टी कार्यकर्ताका  उनको रिर्सोटमा समय विताएका थिए । 

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही पनि बेला बेला उनको रिर्सोटमा पुग्ने गरेका छन् । गोदावरी बडिखेल जंगलको छेउ हरियाली र शान्त ठाउमा रहेको ट्राउट फर्म एन्ड रिसोर्टमा आफैले फिसिङ गरेर ट्राउट माछाका विभिन्न परिकारको स्वाद लिन पाइने भएपछि मान्छेहरुको भीड लाग्ने गरेको छ । 

उनको रिर्सोटमा सानो रेन्बो ट्राउट फार्म रहेको छ । ग्राहकले आफैले समाएर माछा पकाउन सक्ने व्यवस्था गरिएको छ । नेकपा ललितपुर जिल्ला कमिटी सदस्य एवं नेकपा ललितपुर  कला संस्कृति विभाग इन्चार्ज समेत रहेका कलाकार राजले भने–‘कलाकारिता, राजनीतिसँगै म व्यवसायमा पनि रमाइरहेको छु ।

 सस्तो र सुलभ मुल्यमा ताजा ट्राउट माछा पाइने, उपत्यकाबाट नजिक तथा शान्त भएका कारण सिरुपाते ट्राउट फार्म एण्ड रिसोर्टमा स्वदेशी, विदेशी र भीआइपीको घुँइचो नै लाग्ने गर्छ । अहिले म यो व्यवासय, राजनीति तथा समाजसेवामा सर्मपित भएको छु ।’ रिर्सोटमा कार्यक्रम गर्ने हल पनि रहेका कारण बैठक सेमिनार पनि आयोजना हुने गरेको छ । साथै विभिन्न टेलिफिल्म तथा म्युजिक भिडियोको सुटिङ पनि हुने गरेको छ ।

पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले रिर्सोट संचालन गरेको बताउँदै राजले सिरुपाते रिसोर्टमा नेकपा अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, नेकपाकी नेतृ पम्फा भुषाल, ललितपुर प्रदेश सांसद लालकुमारी पुन शुशिला, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएत उच्च तहका व्यक्तित्वहरुले अवलोकन गरेर स्वदेशमै केही गर्न उत्प्रेरित गरेको बताए । 

६ बर्षअघि चपली हाइटबाट चर्चा कमाएका घिमिरे अब कलाकारिताबाट नभई समाजसेवा र राजनीतिबाट माथि उठ्न खोजिरहेका छन् । सानैदेखि अरुले गरेको अन्याय र अत्याचार सहन नसक्ने, थिचोमिचो प्रबृतिप्रति विद्रोही स्वभावले आफू राजनीतितिर जानेको उनले बताए ।

तत्कालीन माओवादी केन्द्रको यूवा संघ नेपालको जिल्ला स्तरको नेता हुँदै हाल नेकपा ललितपुर जिल्ला समिति सदस्य रहेका उनले राजनीतिलाई पनि संगै लैजाने उल्लेख गरे  । 
व्यवसायीक रुपमा सिरुपाते ट्राउट फर्म एण्ड रिर्सोट सञ्चालन गरेका उनले होटल गोदावरी, र नुवाकोटको ककनीमा जंगल ट्राउट रिर्सोट सञ्चालन गर्दैै छन् । केही ब्यवसाय चर्चित सेलिब्रेटीसँग गर्ने, ठूलै प्रकारको कृषि फार्म सञ्चालन गर्ने पनि योजना बनाएको उनले बताए ।

नेपालीले मकै, कोदो, फाफरसमेत विदेशबाट किन्नुपर्ने अवस्था रहेको र नेपाली कृषकले माग धान्न नसकेको अवस्थामा कृषि क्षेत्रमा पनि काम गर्ने भनेर योजना बनाएको कलाकार राजले बताए । 

यस्तै विकास निर्माणको काममा पनि लागिपरेको उनले बताए । आफ्नो संलग्नतामा प्रत्येक वडामा दुई तीन करोडको बजेटमा काम भइरहेको उनले बताए । यस्तै ८४ करोड बजेट लागत रहेको फुलचोकी एकीकृत परियोजनाको अध्यक्षको रुपमा काम गरिरहेको उनले बताए ।

जसअन्र्तगत ललितपुरको फूल्चोकीमा केबलकार, हाइकिङ मार्ग, टवाइलेट बाथरुम, पानी संकलन केन्द्र, हेलिप्याड, रेष्टुरेष्ट लगायतका संरचना बनाउन लागेको उनले बताए । सो परियोजना अन्र्तगत हालसम्म ५ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । यस्तै जेष्ठ नागरिक भवन निर्माणको काम पनि भइरहेको छ । साथै आफ्नै राज प्रोडक्सनमार्फत हरेक दुई बर्षमा एउटा चलचित्र बनाउने उनको लक्ष्य समेत रहेको छ । 
हेर्नुहोस भिडियो :

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप