अतिक्रमण गरिएको जग्गा खाली गर्न नगरपालिकाको आग्रह

person access_timeअसोज ५, २०७४ chat_bubble_outline0

बाजुरा । विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ । 

सडक विस्तार गर्नका लागि सार्वजनिक सडक र ऐलानी जग्गा अतिक्रमण गरी घर तथा टहरा निर्माण भएकाले त्यसलाई हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर सो आग्रह गरिएको हो । 

नगरपालिकाले मार्तडीको गौडा डिलदेखि जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्च, जिल्ला वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालय र तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालय हुँदै गैरीबजार गौडा डिलसम्म सडक निर्माण गर्नका लागि घर–जग्गाधनीले टहरा हटाउन आग्रह गरेको नगरप्रमुख पदम बडुवालले बताए । 

उहाँले बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धीको आधारभूत मापदण्ड २०७२ अनुसार सडक विस्तार गर्ने भएकाले सरकारी तथा ऐलानी जग्गा अतिक्रमण हटाउनुपर्ने बताउँदै ३० दिनभित्र नहटाइए नगरपालिकाले आफैं नियमानुसार हटाइने प्रक्रिया अगाडी बढाउने विचार व्यक्त गरे । 

सडक विकासका लागि नगरपालिकाले यो वर्ष रु चार करोडभन्दा बढी रकम विनियोजन गरिएको छ । 
 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ