शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘जनयुद्ध र मधेस आन्दोलनका कारण नेपालको विकास हुन सकेन’

बिहीबार, ०५ असोज २०७४, १५ : ५६
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने बताएका छन् । 

विश्व शान्ति दिवसका अवसरमा नेपाल युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको महत्व र यसका उपलब्धि’ विषयक अन्तरक्रियामा डा महतले जहाँ शान्तिपूर्ण स्थिति सिर्जना हुन्छ त्यहाँ विकास चाँडो हुने बताए। “दश वर्षे जनयुद्ध र मधेस आन्दोलनका कारण नेपालको विकास हुन सकेन,”– उनले भने । 

पूर्व अर्थमन्त्री डा महतले संविधानमा युवाको अधिकारलाई धेरै मात्रामा समेटेको भए पनि व्यवहारमा लागू नहुँदा समस्या भएको बताए । उनले स्थायी सरकार नहुँदा नेपालको शान्ति प्रक्रियाले पूर्णता लिन नसकेको उल्लेख गरे । 

नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटाले विस्तृत शान्ति सम्झौतालाई इमान्दारिताका साथ पालना नगर्दा मुलुकको विकास हुन नसकेको बताए । “वर्तमान सरकारले युवाको हक, अधिकारका लागि सोचेन,”– उनले भने । 

चेलीबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालका अध्यक्ष भारती सिलवाल (गिरी) ले सामाजिक विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले देशको परिवर्तनमा युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रत्येक प्रदेशमा युवाका लागि मन्त्रालय स्थापना गर्नुपर्नेमा जोड दिए । 

परिषद्का अध्यक्ष सरोज बानियाँले दश वर्षे जनयुद्धका बेला लडेका युवाको भविष्य अन्योलमा परेको भन्दै उनीहरुले कुन लक्ष्य प्राप्तिका लागि युद्ध लडेका थिए त्यसको पुनरावलोकन राज्यले गर्नुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप