शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने

बिहीबार, ०५ असोज २०७४, १५ : ५२
बिहीबार, ०५ असोज २०७४

चितवन । संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि चितवनको पटिहानीमा विधिपूर्वक फूलपाती भित्र्याइने भएको छ । 

धार्मिक पर्यटकीय क्षेत्र पटिहानीस्थित छितामाई मन्दिरमा गोरखाबाट ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउन लागिएको हो । 

आज घटस्थापनाको दिनमा दुर्गा भवानीको मन्दिर स्थापना गरी पूजा आरम्भ गरिएको छितामाई तथा दुर्गापूजा एवं दशैँ सांस्कृतिक मेला प्रचार समितिका संयोजक अपिल घिमिरेले जानकारी दिए । उनका अनुसार आजदेखि यहाँ नियमित पूजा गरिनेछ । फूलपातीको अघिल्लो दिन गोरखा गएर फूलपाती ल्याई भित्र्याइने उनको भनाइ छ । 

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको पटिहानीको धार्मिक क्षेत्र छितामाईमा गएको वर्षदेखि स्थानीय पटिहानी उपभोक्ता समिति, बेलसर मध्यवर्ती सामुदायिक वन र थारू कल्याणकारिणीसभा क्षेत्र नं ५ को आयोजनामा फूलपाती भित्र्याउन थालिएको हो । 

गोरखाबाट दुर्गा माताका लागि दिन मिल्ने अदुवाको बोट, आँप, चाँप, अशोक, धानको बाला, बेल, कमलको फूललगायत सामग्री ल्याएर बाजागाजा, सांस्कृतिक झाँकी र पञ्चकन्याको लस्करसहित फूलपाती भित्र्याइने आयोजक समितिका संयोजक शंकर महत्तोले जानकारी दिए । 

नेपालमा गोरखाबाट जीवनपुर हुँदै काठमाडौँको हनुमानढोकामा फूलपाती भित्र्याउने चलन रहिआएको छ । धार्मिक चलनलाई यथावत् राख्न र धार्मिक पर्यटन क्षेत्रको विकासका लागि चितवनमा पनि फूलपाती भित्र्याउन थालिएको हो । 

नेपालमा मल्लकालीन समयदेखि फूलपाती भित्र्याउने चलन छ । गोरखाबाट यसरी फूलपाती भित्र्याउने कार्यक्रम काठमाडौँ पछिको चितवन पहिलो भएको दाबी आयोजकको छ । 

यसैबीच फूलपातीको दिनदेखि यहाँ दशैँ सांस्कृतिक मेलासमेत आयोजना गर्न लागिएको प्रचार संयोजक घिमिरेले जानकारी दिनुभयो । थारूको संस्कृतिको जगेर्नाका लागि पनि विशेष सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप