बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न राष्ट्रमा नेपालको संविधान दिवस मनाइयो

बिहीबार, ०५ असोज २०७४, १२ : ३१
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ - संविधान दिवसको अवसरमा असोज ३ गते विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावासमा कार्यक्रम आयोजना गरी मनाइएका समाचार प्राप्त भएका छन् । 

साउदी अरेयिबामा नेपाली कन्सुलेट जनरल, जेद्धाले राष्ट्रिय दिवसका दिन जेद्धास्थित होटल क्राउनप्लाजामा एक स्वागत समारोह आयोजना ग¥यो । उक्त कार्यक्रममा साउदी सरकारका विभिन्न निकाय, विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, व्यापारिक संस्थाहरु, नेपाल प्रेमीहरु, सञ्चारकर्मी र नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मुख्य अतिथिका रुपमा साउदी अरबको परराष्ट्र मन्त्रालय मक्का क्षेत्र शाखाका मिनिस्टर प्लेनीपोटेन्सियरी श्री सामी जमाइल अब्दुल्हा उपस्थित हुनुभएको थियो । 

कार्यक्रममा उपस्थित पाहुनालाई कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेलले स्वागत तथा सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रम अवधिभर नेपालको प्राकृतिक सम्पदा, साहसिक पर्यटन, संस्कृति तथा कला झल्काउने विविध सामग्री तथा भिडियो प्रदर्शन गरिएको थियो । 

त्यसैगरी, बेलायतस्थित राजदूतावासमा एक विशेष समारोह आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भयो । 

विशेष समारोहलाई सम्बोधन गर्दै संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको संविधानले बहुदलीय संसदीय व्यवस्था, कानूनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवाधिकारलाई अंगीकार गरेको उल्लेख गर्दै सो संविधान कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । 

उक्त विशेष समारोहलाई संयुक्त अधिराज्य सरकारका तर्फबाट विदेश मन्त्रालयका निर्देशक ओएन जेन्किन्सले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको उपलक्ष्यमा विशेष शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र संयुक्त अधिराज्यबीच ऐतिहासिक र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्नुभयो । 

समारोहमा उपस्थित नेपालका सांसदहरु नारायणप्रकाश साउद, रामनारायण बिडारी, बहादुरसिंह थापा र निर्देशक महामहिम ओएन जेन्किन्सले संयुक्तरुपमा नेपालको सगरमाथा सफलतापूर्वक आरोहण गर्ने गोर्खा ब्रिगेडका नौजना सैनिकलाई विशेष सम्मान गर्दै दोसल्ला र टोपी उपहार प्रदान गर्नुभएको थियो । 

संयुक्त अधिराज्यको गोर्खा ब्रिगेडका सैनिकबाट नेपाल र संयुक्त अधिराज्यको राष्ट्रिय गान तथा विभिन्न नेपाली राष्ट्रिय गीत प्रस्तुत भएको थियो । 

यसैगरी, वंगलादेशको राजधानी ढाकामा राजदूतावास प्राङ्गणमा स्वागत तथा रात्रिभोजको कार्यक्रम आयोजना गरियो । 

कार्यक्रममा बंगलादेशका परराष्ट्र राज्य मन्त्री मोहमद शाहनर आलम, सञ्चार मन्त्री हसनल हक इनु, उर्जा राज्यमन्त्री नसरुल हमिद, दलका नेता तथा प्रतिनिधिहरु, लब्धप्रतिष्ठित बुद्धिजीवी व्यक्तित्व, नेपालका लागि बंगलादेशका पूर्व राजदूतहरु, बंगलादेशका विभिन्न क्षेत्रका उद्योगी, व्यापारी तथा व्यवसायी, पत्रकारलगायत नेपालप्रेमी बंगलादेशका मित्रहरु, बंगलादेशस्थित कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरु बंगलादेशस्थित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली, बंगलादेशमा बसोबास गर्ने अन्य नेपालीहरु बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

यसैगरी, कतारस्थित दूतावासबाट पनि दोहाको होटल होलिडे इनमा एक कार्यक्रम आयोजना गरियो । 

कार्यक्रममा राजदूत प्रा रमेश प्रसाद कोइरालाले संविधान जारी भएको ऐतिहासिक दिनमा कार्यक्रम आयोजना गरिएको बताउँदै यसले सबैलाई समावेश गर्ने र नेपालको विकासलाई प्रवद्र्वन गर्ने उल्लेख गर्नुभयो । 

सो अवसरमा कतारका प्रशासनिक विकास मन्त्री डा इस्सा साद बल जफाली अल नुआइमी, कुटनितिक समुदाय, त्यहाँ रहेका नेपाली समुदायलगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी, संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास, इस्लामावादद्वारा पनि कार्यक्रमको आयोजना गरियो । 

पाकिस्तानका शिक्षामन्त्री मुहमद वालिघ उर रहमानको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा भूपू मन्त्रीहरु, राष्ट्रिय सभा तथा सिनेटका सदस्यहरु, इश्लामावादस्थित कूटनीतिक नियोगका प्रमुखहरु, व्यवसायीलगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु, इस्लामावादमा रहेका नेपाली, पत्रकारसमेतको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा राजदूत श्री सेवा लम्साल अधिकारीले समावेशीता, मानव अधिकारको संरक्षण, संघीय शासन प्रणालीजस्ता नेपालको संविधानमा रहेका प्रमुख विशेषताको चर्चा गर्दै नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिको सभा संविधानसभाबाट जारी नेपालको संविधान, २०७२ हाल कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । 

कार्यक्रममा प्रमुख अतिथि मन्त्री रहमानले पाकिस्तान तथा नेपालबीच लामो समयदेखि रहिआएको सुमधुर सम्बन्धको चर्चा गर्दै पाकिस्तानका लागि नेपालसँगको सम्बन्ध निकै महत्वपूर्ण रहेको बताउनुभयो । 

दुवै देशको राष्ट्रिय धुनबाट शुरु गरिएको उक्त कार्यक्रममा नेपालको कला, प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षण झल्काउने तस्वीरको प्रदर्शन गरिनाका साथै नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित भिडियो प्रस्तुत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप