शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महँगो गाडीमा सयर गर्नेको सभ्यता कता हरायो ?

शनिबार, २२ कात्तिक २०७७, १४ : ४६
शनिबार, २२ कात्तिक २०७७

शनिबार बिहान एउटा हुन्डाई कम्पनीको क्रेटा गाडी पुतलीसडक चोकबाट बागबजारतर्फ तीव्र गतिमा हुइकिँदै थियो । भर्खरै निकालेको जस्तो थियो गाडी, ‘कालो सिसासँगै चिल्लो । प्रदेशको नम्बर थियो । एकीन गर्न सकिएन ।’ 

शनिबारको दिन भएर होला सडकमा छिट्टफुट्ट गाडी चलेको थियो । बागबजार चोकदेखि सिंहदरबार गेटसम्म ट्राफिक लाइट छ । बागबजार चोकमा पुग्न १० सेकेण्ड बाँकी थियो होला । रातो बत्ती बल्यो । एकछिन त्यो गाडी अल्मलियो । 

ट्राफिक प्रहरी नदेखेपछि लाइटको मतलब नगरी सो गाडी अगाडि हुइँकियो । रातो बत्ती बलेपछि पुतलीसडकबाट आउने सवारी साधनहरु रोकिन्छ भन्दै पैदलयात्रुहरु बाटो काट्दै थिए । तर, पनि सो गाडीले यात्रुहरुलाई मतलबै नगरी हुइकियो । 

उक्त गाडी नेपाली बजारमा ६० लाखभन्दा बढी मूल्यको थियो । यस संवाददातालाई मनमनै लाग्यो, यदि उक्त ठाउँमा ट्राफिक प्रहरी देखेको भए चालकले गाडी रोक्थे कि रोक्दैनथे ? अझै पनि मनमा त्यही प्रश्न उब्जिरहेको छ ।

ट्राफिक प्रहरी देख्दा ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उल्लघंन गर्ने प्रवृत्तिको अन्त्यको लागि काठमाडौँ उपत्यकाको प्रत्येक चोक–चोकमा सीसीटिभीको आवश्यकता छ । ट्राफिक नियम उल्लघंन गर्नेमा धेरैजस्तो ठूला पदका व्यक्ति र महंगा गाडी चढ्नेहरु छन् । 

महंगा गाडी चढेर पनि ट्राफिक नियम पालना नगर्ने व्यक्तिहरु काठमाडौँ उपत्यकामा प्रशस्त रहेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले बताए । 

महंगो गाडीको रवाफ देखाएर ट्राफिक नियम नमान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने एसएसपी ढकालले बताए । ‘जतिसुकै महंगो गाडी चढेपनि तिनीहरुलाई ट्राफिकले ट्राफिक नियम सिकाइरहेको छ,’ एसएसपी ढकालले भने । 

महंगो गाडी चढेर ट्राफिक नियम नटेर्नेहरुलाई ट्राफिकले नियम सिकाउनु लज्जाको विषय रहेको बताउँदै एसएसपी ढकालले भने, ‘त्यसैले ट्राफिक नियम पूर्णरुपमा पालना गरेर ट्राफिक प्रहरीलाई सहयोग गर्नुहोस् ।’

ट्राफिक नियम उल्लघंन गर्ने सवारीसाधनका चालकलाई सीसीटिभी फुटेजको आधारमा खोजेर कारबाही गर्न थालेको ट्राफिक महाशाखाले जनाएको छ । पछिल्लो समय १० हजारभन्दा बढी सवारीसाधनका चालकलाई सीसीटिभी फुटजको आधारमा नियन्त्रणमा लिएर महाशाखाले कारबाही गरेको छ । 

‘ठूल्ठूला पदका सरकारी मान्छेले जे गर्दा पनि हुन्छ । सबै दुःख जनतालाई त हो नि । ‘वान वे’ मा जनतालाई कारवाही हुन्छ ठूलाहरु मज्जाले जान्छन् । मन लागे बीच चोकमै रोकेर बस्दिन्छन् ।  नो पार्किङमा उनीहरुकै गाडी हुन्छ,’ एक मोटरसाइकल चालकले गुनासो गरे । 


३० वर्षमा २४ वटा ट्राफिक लाइट
पछिल्लो समय काठमाडौँ उपत्यकाको २२ वटा चोकमा ‘ट्राफिक लाइट’ सञ्चालनमा छ । कालीमाटीको टंकेश्वर मार्ग र परोपकार मार्गमा लाइट जडान भएपनि सञ्चालनमा छैन । 

नेपालमा ट्राफिक लाइट जडान सुरुमा २०२४ सालमा गरिएको थियो ।  त्यसबेला सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा लाइट जडान गरिएको हो । 

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुरुप ट्राफिक लाइट जडान गरिएको एसएसपी ढकाल बताउँछन् । उनले भने, ‘म ट्राफिकमा आउँदा एउटा पनि लाइट सञ्चालनमा थिएन । ९ वर्षदेखि बिग्रेर बसेको ट्राफिक लाइटलाई मर्मतसम्भार गरेर अहिले २२ वटा सञ्चालमा ल्याएको छु ।’

पञ्चायतपछिको ३० वर्षमा काठमाडौँ उपत्यकामा जम्मा २४ ठाउँमा ट्राफिक लाइट सञ्चालनमा आउनु आफैमा लज्जास्पद रहेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए । 

डीआईजी पोखरेलले भने, ‘२०३९ सालमा काठमाडौँ आउँदा जस्तो थियो । अहिले पनि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन उस्तै छ ।’ विकासका कामहरु भइरहेको बताएपनि समयको प्रेसरले परिवर्तनहरु भएको डीआईजी पोखरेलको भनाइ छ । 

उनले भने, ‘सडक विस्तार हुनु ठूलो कुरा होइन । यो सबै समयअनुसार भएको परिवर्तन हो । यसलाई कामसँग जोडेर मूल्याङ्कन गर्न आवश्यक छैन ।’ भौतिक संरचनामा सुधार नगरेसम्म दिगो रुपमा ट्राफिक व्यवस्थापन हुन नसक्ने पोखरेलले दावी गरे । 


पार्किङको समस्या मुख्य 
काठमाडौँ उपत्यकामा पार्किङ मुख्य समस्याको रुपमा रहेको छ । पार्किङको समस्या हुँदापनि सम्बन्धित निकाय मौन छ । कानुनी रुपमा ३ प्रतिशत मात्र जिम्मेवारी ट्राफिक प्रहरीको काँधमा छ । एसएसपी ढकाल भन्छन्, ‘विगतको वर्षहरुमा भन्दा धेरै नै सुधार चाहिँ भएको छ ।’

पार्किङको कारण ढुक्कले आफ्नो सवारी साधन लिएर बाहिर निस्कने अवस्था नरहेको डीआईजी पोखरेल बताउँछन् । ‘सडक सञ्जालको विस्तार भएपनि पार्किङको समस्या जस्ताको तस्तै छ । अझै कति वर्ष कुनुपर्ने हो थाहा छैन्,’ पोखरेलले भने ।  

फुटपाथमा पार्किङ गर्ने समस्या छ । फुटपाथमा पार्किङ गर्नहुँदैन भनेर जान्दाजान्दै पनि चालकले ठाउँ नपाएपछि पार्किङ गर्ने गर्छन् । कतिपय व्यापारिक भवनको अन्डरग्राउन्ड सवारीसाधन पार्किङका लागि बनाइए पनि अन्य प्रयोजनमा प्रयोग भइरहेको पाइन्छ । सवारी पार्किङका लागि भनी बनाइएका अन्डरग्राउन्ड सोही प्रयोजनमा प्रयोग भइरहेको छ वा छैन भन्ने खोजी गरी कडाइ गर्नु पनि जरुरी रहेको छ ।

यसो त ट्राफिक प्रहरीले ट्राफिक नियम पालनाका लागि विभिन्न सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ तर त्यो प्रभावकारी हुन नसकिरहेको कतिपयको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप