शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोखा हत्याकाण्ड : आफ्नो समूहको दबदबा देखाउन आशिषको हत्या

धापासी क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको बिगबिगी
शुक्रबार, २१ कात्तिक २०७७, १६ : १९
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौँ । टोखा नगरपालिका–४ धापासीस्थित देवी मन्दिरमा गोरखा अजिरकोट गाउँपालिका–५ का २४ वर्षीय आशिष मगरको हत्या भयो । १४ कात्तिकमा छुरा हानेर उनको हत्या गरिएको थियो । हत्यामा संलग्न मुख्य आरोपी रूपेश आले मगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आशिषको समूह र रुपेशको समूह विवाद हुँदा आशिषमाथि छुरा प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । छुरा प्रहारबाट गम्भीर घाइते आशिषको उपचारको क्रममा चिरायू अस्पतालमा ज्यान गयो । आशिषको मृत्यु भएको थाहा पाएपछि मुख्य आरोपी रुपेश ट्रक चढेर सुनसरीतिर भागेका थिए ।

बिहीबार उदयपुरको गाईघाट घर भएका २० वर्षीय रुपेशलाई महानगरीय अपराध महाशाखाको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–८ भानुचोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

मुख्य आरोपी आलेमगर लागू औषध प्रयोगकर्ता रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लागू औषध प्रयोगकर्तालाई समाजमा ‘ट्यापे समूह’ भनेर चिनिन्छ ।

आशिषको हत्यामा संलग्न संखुवासभाका १९ वर्षीय दोर्जे शेर्पा, टोखा नगरपालिका–५ बस्ने २६ वर्षीय राम श्रेष्ठ उर्फ डेडे र स्याङ्जा गलाङ–३ बस्ने २७ वर्षीय रवि थापालाई काठमाडौँ प्रहरीले पक्राउ गरेर दुई दिनपछि (१६ कात्तिकमा) सार्वजनिक गरेको थियो ।

केटी साथीको विषयमा विवाद हुँदा आशिषको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘केटी साथीको विषयमा भएको विवादले हत्याको रुप लिएको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीसँग भने, ‘सँगै बसेर रक्सी खाइरहेका उनीहरुले सामान्य विवादलाई ठूलो रूप दिएको खुलेको छ ।’ कुरा हुँदै जाँदा केटी साथीको कुरा आएपछि विवाद भएको र सोही क्रममा आशिषमाथि छुरा प्रहार भयो । अन्तत: अशिषले ज्यान गुमाए ।

दिनमा काम गर्ने र राति रमाइलो गर्ने गथ्र्यो रुपेशको समूह । सो समूह नयाँ बसपार्क क्षेत्रमा राति होटलमा बस्न आउनेलाई कोठा मिलाइदिने बहानामा लुटपाटमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । रुपेशको समूहमा सबै लागूऔषध प्रयोगकर्ता थिए ।

त्यही कारण केटी साथीको विवादमा मात्र रुपेशको समूहले आशिषको हत्या भएको हुनसक्ने प्रहरी बताउँछ । रुपेशको समूह धापासी क्षेत्रमा आफ्नो दबदबा कायम गर्न चाहन्थ्यो । ‘सर्वेसर्वा’को घमण्डले गर्दा पनि यो घटना भएको हुनसक्ने भन्दै प्रहरीले यसबारे पनि अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी व्यक्ति हत्या खासगरी तीन किसिमले हुने गरेको बताउँछन् । उनका अनुसार क्षणिक आवेग, आफ्नो दबदबा देखाउन र घटनाको जिम्मेवारी लिएर पैसा असुली गर्नका लागि व्यक्ति हत्या हुने गरेको छ ।

०००००

एउटा समय थियो, कहलिएका गुण्डा नाइकेहरुले टोल–टोलमा गएर व्यपारीलाई धम्क्याउँथे । हत्या गर्थे । प्रधानमन्त्रीदेखि गृहमन्त्री सबै ‘हाम्रो मान्छे’ भन्दै हप्ता असुल्थे । जहाँ बस्थे त्यही क्षेत्रलाई आधार बनाए गुण्डागर्दी गर्थे । त्यतिबेला गुण्डा नाइके प्रहरीको लागि चुनौती थिए ।

गुण्डा नाइकेहरुको छुट्टाछुट्टै समूह हुन्थ्यो । एकआपसमा हानाहान गर्थे । एउटा समूहले अर्को समूहलाई देख्न सक्दैनथे । अहिले, उनीहरुको गतिविधि घटेको छ । हिजोका गुण्डा आज सांसद र समाजसेवी बनेका छन् ।

अब, उनीहरुको ठाउँ ट्यापेहरुले लिन थालेका छन् । प्रहरीको भाषामा ‘लागूऔषध सेवनकर्ता, मापसे गर्ने, होहल्ला गर्ने र लुटपाट गर्नेहरु ट्यापे हुन् ।’ समाजले पनि उनीहरुलाई ट्यापे भनेर चिन्ने गरेको छ । जो, अर्काको ज्यान लिन समेत पछि हट्दैनन् ।

व्यापारीलाई धम्क्याउने हैसियत उनीहरुको हुँदैन । तर, अनुकुल समय पारेर ‘ट्यापे’हरुले आक्रमण गर्नसक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायत बताउँछन् । ‘ट्यापे समूहले रातको समयमा आक्रमण गर्नसक्ने भएकाले सजग हुनुपर्छ,’ एसएसपी कडायतले रातोपाटीसँग भने ।

‘ट्यापेहरु लागूऔषध सेवन वा मापसे गरेर आफ्नै समूहका साथीलाई समेत आक्रमण गर्न पछि हट्दैनन्,’ कडायतले भने– ‘ट्यापेहरु बस्ने ठाउँमा होसियारपूर्वक हिँड्नुपर्छ, रातमा एक्लै हिँड्दा ध्यान दिएर हिँड्नुपर्छ ।’

काठमाडौँमा पछिल्लो सयम लागू औषध प्रयोगकर्ता समूहबिच झडप र हत्या हुन थालेपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ । ‘अशान्ति मच्चाउने लागू औषध प्रयोगकर्ता, आवारा र गुण्डाहरूलाई विशेष निगरानी गरेका छौँ,’ महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भने, ‘अस्वभाविक रूपमा जुल्फी पाल्ने, महिला जिस्क्याउने, चोक–चोकमा दिनभर बरालिएर हिँड्नेहरुलाई पनि निगरानीमा राखेका छौं ।’

टोले गुण्डाहरुले पनि समाजमा आतङ्क मच्चाएको प्रहरी अधिकृतहरु स्वीकार्छन् । व्यवसायीहरूलाई स–साना टोले गुण्डाले सताइरहेका केही छिट्टफुट्ट घटनाहरु बाहिर आउने गरेका छन् । एसएसपी थापा भन्छन्, ‘गुण्डा या टोले गुण्डा भन्ने शब्द प्रहरीको लागि सधै सत्रु हुन्, गुण्डालाई तह लगाउन सबैको सहयोग चाहिन्छ ।’

‘युवती विवाद’मा साथीको हत्या

कात्तिक ८ मा भक्तपुर नगरपालिका–१ इटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्या भयो । केटीको निहुँमा आफ्नो दबदबा देखाउन भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएका १९ वर्षीय सानु अन्सारी र २३ वर्षीय सलमान खानले हुसैनको हत्या गरेका हुन् ।

हुसैनको हत्यामा संलग्न सोही कारखानमा काम गर्ने अन्सारी र खानलाई प्रहरीले पक्रेको छ । आरोपी पक्राउ परेपछि खुल्यो, उनीहरु तीनैजना नजिकका साथी रहेछन् ।

साँझ सँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शाहीवले अपशब्द प्रयोग गरेपछि विवाद भएको थियो । कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इटाले मुख र टाउकोमा हानेर शाहिवको हत्या गरेर नर्कटघारीमा शव फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप