शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डोकलामपछि ‘पानी युद्ध’ मा चीन–भारत

बुधबार, ०४ असोज २०७४, १४ : ५७
बुधबार, ०४ असोज २०७४

नविन सिंह खड्का

नयाँ दिल्ली । चीन र भारतले दुई महिनाभन्दा लामो सीमा विवाद अन्त्य गरे पनि दुई देश पुनः अर्को विवादमा फँसेको छ, पानीको ।

नयाँ दिल्लीका अनुसार दुई देशबीच भएको सहमति विपरित चीनले यो वर्षातमा चीनमा पर्ने ब्रम्हपूत्र नदीको अवस्थाको तथ्यांक उपलब्ध गराएको छैन ।   

एसियाकै प्रमुख नदीहरुमा पर्ने ब्रम्हपूत्र तिब्बतमा उद्गम भएर भारत हुँदै बंगलादेश पुग्दछ । त्यहाँ गंगासँग मिलेर बंगालको खाडीमा पुग्दछ ।

बेइजिङले आफ्नो मौसम विभागको स्टेसनहरु अपग्रेड भइरहेको कारण तथ्याङ्क उपलब्ध गराउन असमर्थ भएको जनाएको छ ।

यद्यपि, बिबिसीका अनुसार चीनले सोही नदीको तथ्यांक बंगलादेशसँग भने आदानप्रदान गरिरहेको छ ।

नदीको तथ्याङ्कबारे विवाद दुई देशबीच डोकलाममा भएको दुई महिनाभन्दा लामो विवाद पछि देखिएको छ ।

हरेक वर्षातमा ब्रम्हपूत्र नदीमा बाढी आउने गर्छ जसले उत्तरी भारत र बंगलादेशमा ठूलो क्षति पुग्ने गर्दैछ ।

भारत र बंगालादेशले चीनसँग १५ मे देखि १५ अक्टोबरसम्म नदीको तथ्यांक उपलब्ध गराउने सहमति गरेको छ ।

यो तथ्यांक विशेष गरेर नदीको सतहको स्थितिको बारेमा हुन्छ जसलाई बाढीको दौरान चेतावनी दिनका लागि प्रयोग गरिन्छ ।

‘यो वर्ष हामीले मे १५ देखि अहिलेसम्म नदीको बारेमा चिनियाँ पक्षबाट कुनै पनि तथ्याङ्क पाएका छैनौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले गत महिना नियमित पत्रकार सम्मेलनका दौरान भनेका थिए ।

उनले भनेका थिए, ‘हामीलाई यसबारे प्राविधिक कारण थाहा छैन तर, अहिलेको मौजुदा संयन्त्र अनुसार चीनले हामीलाई तथ्याङ्क उपलब्ध गराउनु पर्छ ।’
चिनियाँ पक्षले गत हप्ता प्राविधिक समस्या भएको बताएको थियो ।

‘गत वर्षको बाढीका कारण हाइड्रोलोजिकल स्टेसनहरुमा क्षति पुगेको कारण त्यसको मर्मत र स्तरोन्नती भइरहेको कारण चीन यतिबेला कुनै तथ्यांक सङ्कलन गर्ने अवस्थामा छैन,’ चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकार सम्मेलनका दौरान भनेका थिए ।

बंगलादेशका अधिकारीहरुले भने चीनले आफूहरुलाई नियमितरुपमा ब्रम्हपूत्रको तथ्याङ्क उपलब्ध गराउँदै आएको बताएका छन् ।

‘हामीले ब्रम्हपूत्रको नदीको सतहबारे तथ्यांक चीनबाट केही दिनअघि मात्र पाएका थियौँ,’ बंगलादेशको संयुक्त नदी आयोगका सदस्य मोफाजल हुसैनले भने ।

‘हामीले तिब्बतमा रहेको तीनवटा स्टेसनबाट सन् २००२ बाट त्यस्तो तथ्याङ्क प्राप्त गर्दै आइरहेका छौँ र यो वर्षातमा पनि हामीले पाएका छौँ,’ उनले भने ।

बंगलादेशका जलस्रोत मन्त्री अनिसुल इस्लाम मोहमदले पनि चीनबाट नदीको तथ्याङ्क प्राप्त गरिरहेको पुष्टि गरे ।

अनिश्चितता

तर, भारतको हकमा भने चीनले कहिले देखि तथ्याङ्क आदानप्रदान गर्छ भन्ने कुरा अनिश्चित बनेको छ ।

‘नदीको तथ्यांक आदानप्रदान कहिलेदेखि सुचारु हुन्छ भन्ने कुरा मर्मत र स्तरोन्नतिको काम कति चाँडो सकिन्छ भन्नेमा भरपर्छ,’ प्रवक्ता गेङ सुवाङले भने ।
लामो समयको प्रयासपछि भारतले हालैमात्र ब्रम्हपूत्रको तथ्याङ्क आदानप्रदान गर्ने सहमति गर्न सफल भएको थियो ।

दिल्लीले वर्षात नभएको मौसममा पनि नदीको तथ्याङ्क चीनले उपलब्ध गराउनुपर्ने माग गरेको छ । चीनले सुख्खा मौसममा नदीको बहावलाई अन्यत्र मोड्न सक्ने भारतको आशंका छ ।

चीनले नदीमा जलविद्युत आयोजनाको थुप्रै ड्यामहरु निर्माण गरेको जसलाई तिब्बतमा यार्लुङ जाङ्बो भन्निछ ।

यद्यपि, उसले नदीको तल्लो भागमा रहेका देशहरुको स्वार्थ विपरित नदीको पानी सङ्कन गर्ने वा मोड्न काम नगर्ने बताउँदै आएको छ ।

तर, पछिल्लो समय उत्तरपूर्वी भारतमा भने चीनले कुनै पनि सबै ठूलो मात्रामा पानी छोड्न सक्ने त्रास व्याप्त रहेको छ ।

नदीको सबैभन्दा चौडा भाग रहेको असामका दिब्रुगढका वासिन्दाहरु छोटो समयको अन्तरालमा नदीको बहाव कम र बढी भएको आफूहरुले देखेको दाबी गर्छन् । 

बाढीको चेतावनी
पछिल्लो एक अध्ययनले विश्वभरका स्थानहरुमध्ये पानीको मात्रा बढेको स्थानमा तिब्बत सबैभन्दा अग्रस्थानमा रहेको छ । यस्तो अवस्थामा विज्ञहरु चीनले प्रदान गर्ने तथ्यांक जनधन जोगाउन महत्वपूर्ण हुने बताउँछन् ।

पछिल्लो घटनाक्रमको विकासले भने भारतको जलस्रोत मन्त्रालय चिन्तित बनेको छ ।

‘सुख्खा मौसममा उनीहरुले पानीलाई नियन्त्रण गर्दैनन् भनेर वर्षातबाहेको मौसममा पनि चीनलाई तथ्याङ्न आदानप्रदान गर्न मनाउन सक्छौँ भन्ने सोचिरहेका थियौँ,’ नाम नबताउने शर्तमा मन्त्रालयका एक अधिकारीले भने, ‘तर, अहिले त हामी वर्षातको बेलाको पनि तथ्याङ्क पाइरहेका छैनौँ । यो निकै चिन्ताको विषय हो । यसले उनीहरु (चीन) को नियत प्रष्ट हुन्छ ।’

एक वर्षअघि चीनले महत्वकांक्षी जलविद्युत आयोजनाका लागि यार्लुङ जाङ्बोको उद्गम बन्द गरेको सिन्ह्वाले जनाएको थियो ।
यो समाचार त्यतिबेला आएको थियो जतिबेला कश्मिरमा आतंकवादी हमला भएको थियो र भारतले पाकिस्तानसँग भएको इन्डस वाटर ट्रिटीबाट हात झिक्नुपर्छ भन्ने कुरा जोडतोडका साथ उठिरहेको थियो ।

हुनतः भारतमाथि पनि बंगलादेश र पाकिस्तानले चीनजस्तै रवैया अपनाउने गरेको आरोप लगाउँदै आइरहेका छन् ।

विज्ञका अनुसार दक्षिण एसियाको भूराजनीतिमा अब पानी महत्वपूर्ण मुद्दा हुने बताइरहेका छन् ।

बिबिसीबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप