शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नदी नियन्त्रणका लागि चालीस करोड खर्च गरिने

बुधबार, ०४ असोज २०७४, १४ : ११
बुधबार, ०४ असोज २०७४

दार्चुला - महाकाली नदी किनारमा तटबन्धअन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । 

तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ । 

यस्तै, प्याकेज नं ७, ८, १० र ११ मा चालु आव २०७४÷७५ भित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताउनुभयो । चालु आवमा तीनवटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ र १५ नं प्याकेजको काम तिहार लगत्तै सञ्चालन हुने देवकोटाको भनाइ छ । 

“गत आवमा गिट्टी अभावका कारण तटबन्ध निर्माणको काम प्रभावित बन्यो,” देवकोटाले भन्नुभयो । आयोजनाले चालु आवमा रु ४० करोड खर्च गर्ने लक्ष्य लिएको छ । चालु आवका लागि रु २८ करोड ५० लाख बजेट विनियोजन भएकामा रु १२ करोड थप खर्च गर्ने योजना रहेको देवकोटाले बताउनुभयो । वर्षेनी जिल्लाबाट अन्य विकासे कार्यालयको बजेट काम गर्न नसकी फिर्ता हुने गरेकामा महाकाली नदी नियन्त्रण आयोजनाले भने थप बजेट माग गरी खर्च गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप