शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायणगढ मुग्लिन सडक सहज

बुधबार, ०४ असोज २०७४, १४ : ०२
बुधबार, ०४ असोज २०७४

 नारायण अधिकारी 
चितवन -नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् । 

विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो । सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै गत एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन् । 

यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु एक घण्टा ३० मिनेट देखि २ घण्टा ३० मिनेटसम्ममा सडक पार गर्न सकेपछि खुशी पनि भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गर्नुभएका ना१७च ५२३५ नंको कारका चालक सुवास गहतराजले एक घण्टा ३० मिनेटमा मुग्लिनबाट आँपटारी आइपुगेको बताउनुभयो । 

भरतपुरको आँपटारीमा गहतराजको पछिपछि आएको बा२ख ५१७ नंको माइक्रोका चालक माइला महर्जनलाई यो सडक पार गर्न दुई घण्टा लाग्यो । त्यसको पछि पछि आइरहेको ना६ख २४१० नंको ट्रकका चालक पुनराम विकलाई मुग्लिनबाट नारायणगढसम्म आइपुग्न २ घण्टा ३० मिनेट लागेको बताउनुभयो । उहाँहरु सबै काठमाडौँबाट आउनुभएको हो । सबैको एउटै भनाइ थियो, ‘सडकको जाम त हट्यो खाल्डाखुल्डी पुर्नुपर्यो ।” 

गत भदौ २७ गते भौतिक पूर्बाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङले सो सडकको निरीक्षण गरी चाडपर्वलाई लक्षित गरेर सडक सहज बनाउन निर्देशन दिनुभएको थियो । साउन महिनाभित्र खाल्डा पुर्ने, सडक छेउमा खसेका पहिरो सफा गरी सडकमा सवारी आवागमन सहज बनाउन उहाँले निर्देशन पनि दिनुभएको थियो । 

सोहि दिन राति सडकमा पहिरो खसेपछि मध्यरातसम्म सडक अवरुद्ध बनेको थियो । त्यस यता सडकमा पहिरो पनि खसेको छैन । 

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भदौ २७ गते यता सडकमा पहिरो खसेको छैन । त्यसको भोलिपल्टबाट रातमा समेत सडक सञ्चालनमा ल्याइएको छ । त्यसयता सडकका कारण यात्रुले कठिनाइ भोग्नु नपरेको खनालले बताउनुभयो । दाशढुङ्गामा कालोपत्र गर्ने काम भइरहेको भए पनि सवारी आवागमनमा कुनै कठिनाइ नपरेको उहाँले बताउनुभयो । 

खाल्डाखुल्डी पुर्ने काम भइरहेको भन्दै उहाँले धुलो उडेका ठाउँमा आठवटा ट्याङ्कर प्रयोग गरी पानी छर्कने काम पनि भइरहेको बताउनुभयो । सो सडकको ३६ किमी क्षेत्र मध्ये हाल विस्तारमा रहेको ६ किलो ५०० मिटर सडकको पहिलो तह कालोपत्र भइसकेको छ । सडकको सबै स्थानमा दुईतर्फी आवागमन गर्न मिल्ने भएकाले यात्रुलाई दुःख कम भएको खनालले बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढ मुग्लिन सडक पार गर्नुपर्ने यात्रुले डराउनुपर्ने अवस्था अहिले रहेको छैन । पहिरो खस्न सक्ने सम्भावना सडकमा रहे पनि तत्काल हटाउने व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । सडकमा गाडी बिग्रिएमा किनारा लगाउन, जाम भएमा सहज बनाउन, रात र दिनमा सुरक्षा दिन प्रहरी परिचालन गरिएको छ भने केहि सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा पनि राखिएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । 

चाडपर्वका समयमा सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप