बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुल निर्माणको काम सुस्त

बुधबार, ०४ असोज २०७४, १३ : ५०
बुधबार, ०४ असोज २०७४

तेह्रथुम - छथर गाउँपालिकालाई सदरमुकाम म्याङलुङसँग जोड्ने म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोलामा मोटर चल्ने पुल निर्माणको काममा ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । 

एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्तगतिमा काम गरिरहेको छ । दुई वर्षअघि तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । 

रु पाँच करोड ९८ लाख ४७ हजार लागतमा एक वर्षभित्र सक्नेगरी कम्पनीले कामको जिम्मा लिएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गर्दा समेत कम्पनीले ६० प्रतिशत काम मात्रै सकेको छ । पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको स्वीस सरकार विकास सहयोग एसडिसी अन्तर्गतको स्थानीय सडक पुल विकास कार्यक्रमका प्राविधिक अमरेन्द्र चौधरीले सामान ढुवानीमा समस्या हुँदा निर्माणमा ढिलाइ भएको बताउनुभयो । 

करिब ४८ मिटर लम्बाइ र ६ मिटर चौडाई भएको उक्त पुलको पिलर निर्माण अन्तिमचरणमा पुगेको छ । यहाँका बासिन्दा धनकुटाको सिधुवा पुगेर कोशी राजमार्गबाट वसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ आउने गरेका छन् । सडक निर्माण भए पनि पुल नबन्दा अर्को जिल्ला घुमेर सदरमुकाम आउनुुपर्ने बाध्यता भएको ओख्रेका उमेश नेपालीले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले यथाशीघ्र पुल निर्माण सक्न निर्देशन दिएको बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप